
काठमाडौं । एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका उत्कृष्ट २४ जना विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान गरेको छ ।
आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरिएको एनसेलले जनाएको । यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो ।
सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने ती विद्यार्थीहरूलाई छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।
शुक्रबार लैनचौरमा आयोजित विषेश कार्यक्रमका बीच विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक, एनसेलका व्यवस्थापन सदस्य लगायतको उपस्थितिमा विद्यार्थीहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
२०८० का लागि १८ शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति र उत्कृष्ट नतिजा ल्याएर स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको कम्पनीको भनाइ छ ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्राडा शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरुपमा विद्यार्थीहरुलाई सम्मान प्रदान गरेका थिए ।
त्यसैगरी एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्सियल अफिसर उमेर मोहसिन र एक्टिङ् चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सम्मानित हुने विद्यार्थीबाट भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने बताए ।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा जोशीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टताबाट सम्मानित हुने सबै विद्यार्थीहरुलाई धन्यवाद दिए ।
एनसेलका अनुसार हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रूपैयाँको रहेको छ ।
प्रतिक्रिया 4