
१४ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा फाटो ल्याउने एमालेको योजना असफल पारेको बताएका छन् ।
सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उनको भनाइ छ । आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकमा उनले भने ।
‘नेकपा एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद गर्यो पनि । वास्तवमा यो सबै भनेको हाम्रो पार्टीको विरुद्धमा नै लक्षित थियो । यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन । सत्तारुढ दलहरु एकजुट भएर उभिइसकेपछि नेकपा एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो’ उनले भने ।
राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएको विषयमा भने गठबन्धनभित्र छलफल हुने नेता नेपालले बताए ।
‘भोट क्रसिङको विषयले गठबन्धनका दलहरु मात्रै होइन हरेक दलभित्र यो छलफलको विषय बन्न पुगेको छ । यस पटकको राष्ट्रियसभाको निर्वाचनको परिणामले राष्ट्रियसभाको राजनीतिक शक्ति सन्तुलनमा हेरफेर ल्याएको छ’ उनले भने ।
प्रतिक्रिया 4