
१३ माघ, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी प्रतिफल प्राप्त हुने काममा लगाउन नेपाली सेनालाई आग्रह गरेका छन् ।
आइतबार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण गर्दै उनले कोषमा रकम जम्मा गर्नेहरुलाई आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने योजना र कार्यक्रममा लगानी गर्न सुझाव दिएका हुन् ।
उपप्रधानमन्त्री खड्काले कोषलाई आगामी दिनमा नेपाली सैनिक तथा आश्रित परिवारजनलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवा थप विस्तार गर्दै लैजान पनि सैनिक नेतृत्वलाई सुझाव दिए ।
०३२ सालमा स्थापना भएको कोष योगदानमा आधारित गैर नाफामूलक कल्याणकारी कार्यक्रमका रुपमा सञ्चालन भइरहेको छ । कोषबाट नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक तथा उनीहरूका आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, सहुलियतपूर्ण ऋण, आर्थिक सहायताका साथै आवास तथा बीमा जस्ता कल्याणकारी कार्यहरू सञ्चालन गरी विभिन्न राहत तथा सुविधा उपलब्ध गराउँदै आएको नेपाली सेनाले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्ति स्थापनार्थ शान्ति सेनाका रूपमा खटिएबापत प्राप्त हुने रकमको केही अंश पनि कोषमा जम्मा हुने गरेको छ ।
प्रतिक्रिया 4