
काठमाडौं । फिल्म ‘हात्तीछाप’ले १५ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ । माघ २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले प्रचार अभियानअन्तर्गत औषधि वितरण गरेको हो ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आयोजित बृहत स्वास्थ्य शिविरमा औषधि वितरणसँगै स्वास्थ्य सेवा पनि प्रदान गरिएको जनाइएको छ । ७०० भन्दा बढीले उपचार सेवा लिएको र ४९ जना चिकित्सकले स्वास्थ्य परीक्षण गरेको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ ।
जटिल रोगका बिरामीलाई त्रिवि शिक्षण अस्पतालमा सहजीकरण समेत गरिने निर्माता किरण नेपालीले जानकारी दिए ।
फिल्मले यसअघि माघको १३ गते लायन्स क्लबसँगको सहकार्यमा सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । जहाँ नागरिकलाई निःशुल्क उपचारका साथै औषधि वितरण समेत गरिएको जनाइएको छ ।
निर्माता नेपाली भन्छन्, ‘हामीले फिल्मलाई व्यावसायिक कोणबाट मात्र हेर्नुहुँदैन । फिल्मलाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ । यसैले हामीले यो स्वास्थ्य शिविरको आयोजना गरेका हौं ।’
सिमोस सुनुवारको निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला र विल्सनविक्रम राईको अभिनय छ ।
प्रतिक्रिया 4