
१५ माघ, काठमाडौं । बिहारका मुख्यमन्त्री नितिशकुमारले हठात् गठबन्धन परिवर्तन गरेसँगै लोकसभा चुनावमा इन्डिया गठबन्धनलाई ठूलो धक्का लाग्ने देखिएको छ ।
नितिशकुमार आफैंले इन्डिया गठबन्धनको आधार बनाएका थिए भने त्यस गठबन्धनमा देशभरका दललाई सहभागी गराउन पहलकदमी लिएका थिए ।
लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीलाई गतिलो चुनौती दिन अन्य दलहरुलाई मनाउने भूमिका उनले निभाएका थिए । नितिशकुमारको सक्रियतामा इन्डिया गठबन्धनमा २८ वटा दल आवद्ध भएका थिए ।
तर उनी आफैं भाजपासँग मिल्न गएपछि बिहारसँगै उत्तर प्रदेशमा पनि यसको प्रभाव पर्ने देखिन्छ । उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले भनेका छन्, ‘प्रतिपक्षी गठबन्धनमा बचेको अलिकति शक्ति पनि अब उम्कियो । सन् २०२४ को चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको कसैसँग पनि अब प्रतिस्पर्धा हुनेछैन ।’
नितिशकुमारले बिहारमा गराएको जातीय गणनाका आधारमा इन्डिया गठबन्धन एनडीएलाई गतिलो चुनौती दिनसक्नेमा विश्वस्त रहेको थियो । भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन (एनडीए) काविरुद्ध पिछडिएका जातिलाई परिचालन गर्नका निम्ति उत्तर प्रदेशमा समेत समाजवादी पार्टी, बुहजन समाज पार्टी, कंग्रेस र राष्ट्रिय लोक दलले जातीय गणनाको माग गरेका थिए ।
कुर्मीको जातीय भोटमा रहेको भाजपा पकड भत्काउनका निम्ति प्रतिपक्षी गठबन्धनले नितिशकुमारलाई नै परिचालन गर्ने योजना बनाएको थियो । उत्तर प्रदेशको फुलपुर, मिर्जापुर र अम्बेडकर नगरमध्येका एक सिटमा प्रतिपक्षी गठबन्धनबाट उनैलाई उठाउने तयारी भएको थियो ।
उत्तर प्रदेशमा जनता दल युनाइटेडको उल्लेखनीय प्रभाव नभए पनि नितिशकुमारको छविले नै त्यहाँका पिछडिएका जातिलाई आकर्षित गर्ने विश्वास प्रतिपक्षी गठबन्धनको थियो ।
‘७.५० प्रतिशत मत रहेको कुर्मी समुदायको मतनै दुई दर्जनभन्दा बढी लोकसभा सिटका लागि निर्णायक छ । त्यसबाहेक मौर्य, कुशवाह, शाक्य र शैनीको गरी ७ प्रतिशत मत जनता दल युनाइटेडको समर्थनको आधार हो । यदि नितिश प्रतिपक्षी गठबन्धनमा रहेका भए अखिलेश यादव, जयन्त चौधरी सहितले कुर्मी-जाट-मुस्लिमहरुको साथमा भाजापलाई गतिलै टक्कर दिने थिए’, समाजवादी पार्टीका एक नेताले भनेका छन् ।
उत्तर प्रदेशमा सन् २०१९ मा भाजपाले लोकसभामा गैरयादव समुदायको सहयोगमा ६२ सिट जितेको थियो । यादव तथा मुस्लिम समुदायमा समाजवादी पार्टीको बलियो पकड रहेको छ ।
इन्डिया गठबन्धन बनाउन भूमिका निर्वाह गर्ने अर्का व्यक्ति हुन् समाजवादी पार्टीका नेता अखिलेश यादव । भाजपाले नितिशकुमारलाई फेरि एनडीएमा ल्याएपछि उनले भाजपा यो पटक निकै कमजोर बनेको बताएका छन् । यस्तै उनले नितिशकुमारले धोका दिएको पनि बताएका छन् ।
‘सचेत जनताले धोका दिनेलाई पक्कै सजाय दिनेछन् । नितिशकुमारलाई कंग्रेसले रोक्नुपर्थ्यो तर त्यसो भएन । भाजपा प्रतिपक्षीका अघि यो भन्दा कमजोर मैले कहिल्यै देखेको थिइँन’, उनले भनेका छन् ।
लखनउ विश्वविद्यालयका प्राध्याकप रवि कान्तले नितिशकुमारलाई साथमा लिएर भाजपालाई गतिलो चुनौती दिने योजनामा इन्डिया गठबन्धनलाई धक्का पुगेपछि प्रतिपक्षी गठबन्धन निराश बनेको बताएका छन् ।
‘नितिश कुमार एनडीएमा आएसँगै अब आफ्ना दललाई कुर्मी समुदायको बढी मत जाने र भाजापाले सिट संख्या बढाउने देखिएको छ । अति पिछडिएको समुदायको पक्षमा नितिशको बलियो पकड रहेकाले यसले भाजपालाई सहयोग पुग्नेछ । समाजवादी पार्टी र कंग्रेसलाई उत्तर प्रदेशबाट नितिशलाई विस्थापन गर्नका निम्ति नेता जोगाउनुपर्ने चुनौती आइपरेको छ’, उनले भनेका छ्न्।
इन्डिया गठबन्धनलाई चोट
नितिशकुमार बाहिरिँदा इन्डिया गठबन्धनलाई तीन किसिमले चोट परेको छ । पहिलो, इन्डियाको सान्दर्भिकता । दोस्रो, बिहारमा जित निकाल्ने योजनामा धक्का । तेस्रो, सुरु भएको गठबन्धनको टुटको श्रृंखला ।
हिन्दी बाहुल्य तीन राज्यमा हार व्यहोरेसँगै लोकसभा निर्वाचनमा बिहारमा गतिलो जित निकाल्ने योजनामा प्रतिपक्षी गठबन्धन रहेको थियो । चुनावी सर्वेक्षणले बिहारमा इन्डिया गठबन्धनले २१ देखि २३ सिट ल्याउने र एनडीएले १६ देखि १८ सिट ल्याउने देखाएका थिए ।
नितिशकुमारको बहिर्गमनपछि अब इन्डिया गठबन्धनलाई ठूलै धक्का पर्ने देखिएको छ । निर्णायक पिछडिएका जातिमा उनको पकड रहेका कारण मुस्लिम र यादव समुदायको मतका आधारमा एनडीएलाई टक्कर दिन इन्डिया गठबन्धनलाई कठिन हुनेछ ।
जातीय भोटमा बलियो पकड भएका नितिश बाहिरिएसँगै अब प्रतिपक्षी गठबन्धनको त्यस चाहनामा ठूलै धक्का लागेको छ ।
गठबन्धनमा अन्य दल जोड्नका निम्ति पहलकदमी लिएका नितिश बाहिरएसँगै त्यस गठबन्धनको सान्दर्भिकतामा समेत प्रश्न उठेको छ । फलस्वरुप गठबन्धन टुटको श्रृंखला सुरु भइसकेको छ । पश्चिम बंगालमा तृणमूल कंग्रेस र पन्जाबमा आम आदमी पार्टीले एकल चुनाव लड्ने निर्णय लिएका छन् ।
प्रतिक्रिया 4