+
+

भारतमा नेपालीसहित लगानीको ‘वाउ मोमो’ मूल्यांकन ३७ अर्ब

‘वाउ मोमो’ कम्पनीको मूल्यांकन २३ अर्ब भारु (करिब ३७ अर्ब नेपाली रुपैयाँ) गरेर त्यसका आधारमा ४ अर्ब १० करोड भारु नयाँ लगानी संकलन गरिएको कम्पनीका संस्थापक विनोद हुमागाईंले बताए ।

जनार्दन बराल जनार्दन बराल
२०८० माघ १६ गते १९:००

१६ माघ, काठमाडौं । नेपाली युवा विनोद हुमागाईं र उनका साथी सागर दर्यानीले भारतमा सुरु गरेको रेस्टुरेन्ट चेन ‘वाउ मोमो’ ले ६ अर्ब ६४ करोड रुपैयाँ बराबर नयाँ लगानी संकलन गरेको छ ।

कम्पनीको मूल्यांकन २३ अर्ब भारु (करिब ३७ अर्ब नेपाली रुपैयाँ) गरेर त्यसका आधारमा ४ अर्ब १० करोड भारु लगानी संकलन गरिएको कम्पनीका संस्थापक विनोद हुमागाईंले अनलाइनखबरलाई जानकारी दिए ।

कम्पनीमा मलेसियाको खजनाह नेसनल बर्हार्डले ३ अर्ब ५० करोड भारु लगानी गरेको छ । त्यस्तै कम्पनीमा यसअघि नै लगानी गरिसकेको ओक्स क्यापिटल म्यानेजमेन्टले थप ६० करोड लगानी गरेको हुमागाईंले जानकारी दिए ।

कम्पनीमा नयाँ लगानीकर्ता भित्रिँदा केही विद्यमान लगानीकर्ता आंशिक रूपमा बाहिरिएका छन् । यसअघि लगानी गरेका लाइट हाउस फन्ड र इन्डियन एन्जल नेटवर्क आंशिक रूपमा बाहिरिएको हुमागाईंले बताए ।

अब लाइट हाउसको लगानी १५ प्रतिशतबाट ७ प्रतिशतमा झर्ने छ भने इन्डियन एन्जल नेटवर्कको हिस्सा साढे ३ प्रतिशतबाट २ प्रतिशतमा ओर्लिने छ ।

भारत कोलकाता मुख्यालय रहेको वाउ मोमोमा नयाँ लगानीकर्ताका रूपमा भित्रिएको खजनाह नेसनल बर्हार्ड त्यहाँको सार्वभौम सम्पत्ति कोष हो ।

नयाँ लगानीमध्ये १ अर्ब ९० करोड भारु प्राथमिक (प्राइमरी) लगानीका रूपमा रहने छ । यसको अर्थ त्यो मूल्यबराबर कम्पनीको सेयर बिक्री हुनेछ ।

त्यस्तै २ अर्ब २० करोड रुपैयाँ भने सेकेन्डरी लगानीका रूपमा रहने छ । कम्पनीका विद्यमान लगानीकर्ताले बिक्री गरेको सेयर नयाँ लगानीकर्ताले खरिद गर्नुलाई ‘सेकेन्डरी इन्फ्युजन’ भनिन्छ ।

भारतको सबैभन्दा ठूलो क्विक सर्भिस रेस्टुरेन्ट चेन बन्ने वाउ मोमोको लक्ष्यमा सहकार्य गर्न पाउँदा उत्साहित रहेको खजनाहका प्रबन्ध निर्देशक फेइजल वान जाहिरले बताए ।

‘उत्पादन तथा व्यापारको आकार वृद्धि, प्राविधिक सुदृढीकरण, ब्याक–इन्ड क्षमतामा बढोत्तरीमार्फत वाउ मोमोको विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य हामीले राखेका छौं,’ जाहिरलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

कम्पनीका सुरुका लगानीकर्तालाई आकर्षक लाभसहित आंशिक रूपमा बिदा गर्न सफल हुँदा आफूहरूलाई खुसी लागेको वाउ मोमोको सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दर्यानीले बताए ।

‘खजनाहको दीर्घकालीन सोचले यो कम्पनीलाई खानाको क्षेत्रमा नवप्रवर्तन र रूपान्तरणको पावरहाउस बन्ने विश्वास लिएका छौं,’ उनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

विनोद हुमागाईं

भारतका ३५ सहरमा वाउ मोमोका ६ सय ५० भन्दा बढी आउटलेट सञ्चालनमा छन् । सन् २००८ मा विनोद हुमागाईं र उनका साथी सागर दर्यानीले ३० हजार भारुमा सुरु गरेको यो कम्पनीको वार्षिक कारोबार करिब साढे ६ अर्ब भारु पुगिसकेको छ । यही साल कम्पनीले थप २ सय आउटलेट विस्तार गर्ने योजना बनाएको छ ।

दुई सहसंस्थापक सागर र विनोदले कम्पनीमा क्रमशः प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गरिरहेका छन् । नेपाली रैथाने खाजा मोमोलाई भारतीय उपभोक्तामाझ लोकप्रिय बनाउने श्रेय उनीहरूलाई जान्छ ।

उनीहरूले सन् २००८ मा ६ फिट लम्बाइ र ६ फिट चौडाइको एउटा सानो कियोस्कबाट मोमो व्यवसाय सुरु गरेका थिए । विनोदको पुर्ख्यौली घर काभ्रेपलाञ्चोक पात्लेखेत हो । कोलकाताको सेन्ट जेभियर्स कलेजमा बीकम तेस्रो वर्ष पढ्दै गर्दा सागर र विनोदले यो काम थालेका थिए ।

सन् २०१५ सम्म उनीहरूले भारतका ६ सहरमा उनीहरूले ४४ आउटलेट खोलिसकेका थिए । त्यसबेला कम्पनीको मूल्यांकन १ अर्ब भारु भयो र त्यसको १० प्रतिशत अर्थात् १० करोड भारु इन्डियन एन्जल नेटवर्कबाट उठाए । उक्त नेटवर्क अहिले आंशिक रूपमा सेयर बेचेर बाहिरिएको छ ।

त्यसलगत्तै २०१७ मा दोस्रो चरण र २०१९ मा तेस्रो चरणमा वाउ मोमोले लगानी संकलन गरेको थियो । २०१९ मा उनीहरूको कम्पनीको मूल्यांकन ८ अर्ब ६० करोड भारु तय भएको थियो ।

त्यसको चार वर्षमा नै कम्पनीको मूल्यांकन करिब तीन गुणाले बढेर २३ अर्ब भारु पुगेको छ ।
आगामी २०२७ सम्ममा कम्पनीको आकार ८० अर्ब भारुबराबर बनाउने र प्राथमिक सेयर निष्कासनमा जाने लक्ष्य रहेको विनोद बताउँछन् ।

वाउ मोमोले अहिले तीन ब्रान्डमा रेस्टुरेन्टका चेन विस्तार भइरहेको छ– वाउ मोमो, वाउ चाइना र वाउ चिकेन । वाउ चाइनाका १ सय २० भन्दा बढी आउटलेट छन्, जहाँ चिनियाँ खाना सर्भ गरिन्छ ।

यस्तै फ्राइड चिकेन बिक्री गर्ने वाउ चिकेनका ५५ भन्दा बढी आउटलेट पुगेको हुमागाईंले जानकारी दिए । कतिपय रेस्टुरेन्टमा भने तीन वटै खाना पाइन्छ । कम्पनीले अहिले ६ हजार ८ सयभन्दा बढीलाई रोजगारी दिइरहेको छ ।

पछिल्लो समय वाउ मोमोले ‘फास्ट मुभिङ कन्जुमर फुड्स’ (एफएमसीजी) को पनि व्यवसाय सुरु गरेको छ । यो कम्पनीले फ्रोजन मोमो तथा कोको चार्जका नाममा नरिवल पानी प्याकेजिङ गर्छ ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?