+
+

नेपाल वेयरहाउजिङ कम्पनी : ६६ लाख आम्दानी गर्दा ९ करोड ८७ लाख खर्च

९ करोड २१ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीको सेयर मूल्य ८५६ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते ९:५२

१७ माघ, काठमाडौं । हालै प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको नेपाल वेयरहाउजिङ कम्पनी पुस मसान्तसम्म ९ करोड २१ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानी पहिलो त्रैमासिक अवधिको तुलनामा ४ करोड २१ लाख बढेको हो । पहिलो त्रैमासिक अवधिमा कम्पनीको नोक्सानी ५ करोड रुपैयाँ थियो ।

दोस्रो त्रैमासिक अवधिमा कम्पनीको कुल आम्दानी नै जम्मा ६६ लाख १७ हजार रुपैयाँ मात्रै छ भने कुल खर्च ९ करोड ८७ लाख रुपैयाँ छ । जसले गर्दा कम्पनीको नोक्सानी उच्च देखिएको हो । कम्पनी नोक्सानीमा रहेपछि प्रतिसेयर आम्दानी पनि १३ रुपैयाँ ४० पैसा ऋणात्मक देखिएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ जम्मा ९७ रुपैयाँ २३ पैसा छ ।

नोक्सानीमा गएको यस कम्पनीको सेयर मूल्य भने उच्च छ । मंगलबार बजार बन्द हुँदा प्रतिकित्ता मूल्य ८५६ रुपैयाँ छ ।

के हो कम्पनीको मुख्य बिजनेस ?

किसानका अन्नबाली, उद्योग तथा मिलहरुका खाद्यान्न सामाग्री लामो समयसम्म भण्डारण गर्नका लागि आधुनिक प्रविधियुक्त गोदामको सेवा यस कम्पनीले प्रदान गर्दछ । त्यस्तै आधुनिक प्रविधिबाट खाद्यान्नको सफाई तथा केलाई गर्ने, खाद्यान्नहरुको प्रयोगशालामा गुणस्तर परीक्षण गर्ने, खाद्यान्नको तापमान नियन्त्रण गर्नेजस्ता कार्य कम्पनीले गर्दछ ।

काठमाडौंको सिनामंगलमा यसको रजिस्टार कार्यालाय सञ्चालनमा छ भने मुख्य शाखा सुनसरीको गढी गाउँपालिकामा अवस्थित छ । त्यस्तै कपिलबस्तु र पर्सा जिल्लामा पनि शाखा कार्यालयहरु सञ्चालनमा रहेको विवरणपत्रमा उल्लेख छ ।

सुनसरीमा १५ हजार, कपिलवस्तुमा १५ हजार र पर्सा जिल्लामा २५ हजार मेट्रिकटन गरी कुल ५५ हजार मेट्रिक टन क्षमताको वेयरहाउजिङ सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनी रजिस्टार कार्यालयबाट कम्पनीले २०७५ चैत ३ गते कारोबारको अनुमति पाएको छ ।

कम्पनीले भण्डारण गरेको उत्पादनको परिमाण तथा मूल्यका आधारमा वित्तीय संस्थाबाट किसान तथा उद्योगीलाई कर्जा प्रवाहमा सहजीकरण गर्ने, बजार निर्माणमा सहजीकरण गर्ने तथा ढुवानीका क्रममा समेत गुणस्तरमा नोक्सान नपर्नेगरी आधुनिक प्रविधियुक्त ट्रकमार्फत सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य छ । उत्पादनको भण्डारण, बजारीकरण, ढुवानी, वित्तीय सहजीकरणजस्ता सेवा प्रदान गर्दा कम्पनीले लिने शुल्क नै मुख्य आम्दानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?