
१८ माघ, काठमाडौं । ‘बुक बिल्डिङ’ विधिबाट नेपालमै पहिलोपल्ट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेको छ । वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँट भइसकेको छ भने आयोजना प्रभावित स्थानीयबाट आवेदन लिइरहेको छ ।
कुल जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो ।
सर्वसाधारण समूहको पनि ४० प्रतिशत अर्थात् २४ लाख कित्ता संस्थागत लगानीकर्ताले पाइसकेका छन् भने ३६ लाख कित्ता सर्वसाधारणले पाउँछन् । सर्वसाधारण समूहमध्येबाटै ९ लाख ३० हजार कित्ता प्रभावित स्थानीय र २ लाख ६७ हजार कित्ता वैदेशिक रोजगारमा रहेकाका लागि आरक्षित छ ।
संस्थागत लगानीकर्ताले प्रतिकित्ता ४ सय १ रुपैयाँमा सेयर लिएका छन् भने अरू सर्वसाधारणले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले पाउँछन् । बुक बिल्डिङ विधिबाट मूल्यांकन भएको आईपीओमा सर्वसाधारणले कम्तीमा ५० कित्ता आवेदन दिनुपर्छ, पाउनेले पनि कम्तीमा ५० कित्ता नै पाउँछन् । अन्यको तुलनामा धेरै मूल्य पर्ने सर्वोत्तम सिमेन्ट आखिर कस्तो छ त भन्ने चासो धेरैमा छ ।
कम्पनीको मुख्य व्यापार
कम्पनीले नवलपरासी सुनवलमा सिमेन्ट उद्योग सञ्चालन गर्छ । सर्वोत्तम ब्रान्डको सिमेन्ट बिक्री वितरण गरी आम्दानी गर्नु नै कम्पनीको मुख्य व्यापार हो । पाल्पा तिनाउ तथा निस्दी गाउँपालिकामा चुनढुंगा खानी छ ।
त्यही खानीबाट चुनढुंगा उद्योगमा ल्याएर सिमेन्ट तयार गरी बिक्री वितरण गर्छ । कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं तिनकुनेमा छ । सहायक कम्पनी सर्वोत्तम होल्डिङ्समा यस कम्पनीको शतप्रतिशत स्वामित्व छ ।
उद्योगको उत्पादन क्षमता वार्षिक ९ लाख ९० हजार टन छ । २०७९/८० मा ४ लाख ८५ हजार टन सिमेन्ट बिक्री गरिएको कम्पनीले जनाएको छ । ४३ र ५३ ग्रेडको ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले भारतमा समेत बिक्री गर्ने योजना बनाएको छ । सरकारले निर्यातमा अनुदान दिएसँगै पछिल्लो समय सिमेन्ट उद्योगहरूले भारतमा निर्यातका लागि पहल गरिरहेका छन् ।
उद्योग स्थान नवलपरासी बाहेक कपिलवस्तु, बुटवल, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, बारा, पर्सा, दोलखा, चितवन, धादिङ, रौतहट, सर्लाही, सिन्धुली, पोखरा, तनहुँ, गोरखा, स्याङ्जा, पर्वत, लमजुङ, म्याग्दी, बाग्लुङ, नेपालगञ्ज, धनगढीसमेत क्षेत्रमा उत्पादित सिमेन्ट बिक्री वितरणका लागि थोक र खुद्रा विक्रेता रहेको कम्पनीले आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ ।
उद्योगबाट सोझै ठूला आयोजनामा सिधै सिमेन्ट तथा क्लिंकर आपूर्ति गर्ने व्यवस्था भएको र त्यसअनुसार बिक्री गरिरहेको कम्पनीले जनाएको छ । आधुनिक भीआरएम प्रविधियुक्त प्लान्ट तथा मेसिनरी उद्योगमा जडान रहेको कम्पनीले जनाएको छ ।
‘चुनढुंगा संकलनका लागि पर्याप्त क्षेत्रफल सहितको चुनढुंगा राख्न सक्ने क्षमतायुक्त भण्डारण व्यवस्था, वातावरणीय वायु प्रदूषण नियन्त्रणका लागि ब्याग फिल्टर र ब्याग हाउस निर्माण भएको छ,’ कम्पनीले भनेको छ ।
उद्योगले नेपाल गुणस्तर चिह्न आइएसओ प्रमाणपत्र १४००१:२०१५ र आइएसओ प्रमाणपत्र ९००१:२०१५ को मान्यता प्राप्त गरेको छ । उद्योगमा चौबिसै घण्टा आफ्नै आधुनिक ल्याबबाट हरेक घण्टा उत्पादन परीक्षण गर्ने गरिएको जनाएको छ । चुनढुंगाको गुणस्तर परीक्षणका लागि स्वचालित उपकरण उद्योगमै जडित छन् ।
कम्पनीको वित्तीय स्थिति
गत असार मसान्त (आर्थिक वर्ष २०७९/८०) सम्म कम्पनीको दीर्घकालीन ऋण ३२ करोड १९ लाख रुपैयाँ छ । उक्त ऋणसहित कुल दीर्घकालीन दायित्व ६४ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ ।
हालै सूचीकृत भएका घोराही र सोनापुर मिनरल्सको तुलनामा कम्पनीको दीर्घकालीन ऋण न्यून देखिन्छ । कम्पनीले लिएको ऋणमा वार्षिक १०.५० प्रतिशत ब्याज बुझाउँदै आएको जनाएको छ ।
कम्पनीले देखाएको अल्पकालीन सापटी भने अत्यधिक देखिन्छ । अल्पकालीन सापटी भनेर ३ अर्ब ४५ करोड रुपैयाँको दायित्व देखाएको छ । कुल सम्पत्ति र दायित्व आकार १३ अर्ब ४२ करोड रुपैयाँबराबर छ ।
समग्र निर्माण उद्योगमा देखिएको शिथिलताका कारण पछिल्लो समय यस कम्पनीको बिक्री आम्दानी पनि खस्केको देखिन्छ । जुन माथिको तालिकामा उल्लेख छ । बिक्री आम्दानी नै खस्किएपछि कम्पनीको सञ्चालन आम्दानी पनि घट्दै गएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी २०७८/७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो ।
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड ३ लाखमा झरेको छ । सञ्चालन आम्दानीमा कमी आउँदा कम्पनीको नाफा प्रभावित बन्दै गएको छ ।
२०७७/७८ मा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०७८/७९ मा ४६ करोड ७६ लाख र २०७९/८० मा २० करोड ७५ लाख मात्रै खुद नाफा कमाएको छ । जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको कम्पनीको विवरणपत्रमा उल्लेख छ ।
गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । उक्त अवधिसम्म कम्पनीको जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँबराबर छ ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ ।
इक्रा नेपालले कम्पनीलाई ट्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यमस्तरको क्षमतामा रहेको जनाउँछ । इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई ट्रिपल ए रेटिङ प्रदान गर्छ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्छ ।
के गर्दैछ कम्पनीले आईपीओको प्रिमियम रकम ?
कम्पनीले योग्य संस्थालाई प्रतिकित्ता ३ सय १ प्रिमियमका दरले २४ लाख कित्ता सेयर बिक्री गरेर ७२ करोड २४ लाख आर्जन गरेको छ भने सर्वसाधारणबाट २ सय ६० रुपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता जारी गरेपछि ९३ करोड ९२ लाख रुपैयाँ आर्जन गर्ने छ ।
यसरी सेयर प्रिमियमवापत कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ संकलन गर्छ । उक्त रकमबाट अल्पकालीन कर्जा उपभोग घटाउन प्रयोग गर्ने कम्पनीले जनाएको छ । कम्पनीको अल्पकालीन सापटी रकम नै ३ अर्ब ४५ करोड रुपैयाँ छ ।
नेपाल बैंकको २९ करोड ९२ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको १ अर्ब गरी कुल १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ अल्पकालीन कर्जा चुक्ता गर्ने कम्पनीले स्पष्ट पारेको छ । बाँकी रहने रकम उद्योग रहेको स्थानदेखि पूर्व र पश्चिमतिर ग्राइन्डिङ युनिट विस्तार गर्न र काठमाडौं लक्षित धादिङ, मकवानपुर, नुवाकोट आसपास सिमेन्ट प्लान्ट स्थापना गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
उद्योगमा ‘वेस्ट हिट रिकभरी सिस्टम’ प्रणाली स्थापना गरी ३.५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने कार्यमा पनि रकम लगानी हुने कम्पनीले जनाएको छ ।
कम्पनीका सञ्चालक तथा प्रमुख व्यवस्थापक
कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । उनले २८.९७ प्रतिशत सेयर स्वामित्व लिएका छन् । अन्य सञ्चालकमा विमलकुमार सावर्थिया, टिकाराम न्यौपाने, दिवस न्यौपाने, तेन्जिङलाक्देन तामाङ छन् ।
कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक र स्वतन्त्र व्यवसायिक सञ्चालक एकसहित सात सञ्चालक हुनेछन् । यी दुई सञ्चालक पछि चयन हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी हुन् ।
प्रतिक्रिया 4