
काठमाडौं । प्रदर्शन तयारीमा रहेको रेखा थापा स्टारर फिल्म ‘उपहार’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘हारेको छैन’ बोलको यो गीतमा अर्जुन पोखरेलको संगीत, प्रमोद ढुंगानाको शब्द र रविन भुसालको स्वर छ ।
यो मर्मस्पर्शी गीतमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन् । रेखासहित मुकुन भुसाल, बेनिशा हमाल, पूजा शर्मा र सुष्मा कार्कीलाई गीतमा दर्शाइएको छ ।
गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ । निर्देशक ज्ञानेन्द्र देउजाले हाँसो र रोदनका तत्व मिश्रित फिल्म भएकाले मास दर्शकले फिल्म रुचाउने बताए ।
अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।
रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
‘उपहार’ फागुन २५ गते प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4