
१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा जोतेर ढुंगा टिप्न थालेको छ । महानगरले खेल मैदान बनाउने तयारी गरेको खुलामञ्चमा एक साताअघि डोजरले जोतेको थियो । आजदेखि महानगरपालिकाले दैनिक ५० जनाले ढुंगा टिप्न थालेका हुन् ।
‘जमिनमा भएका सानादेखि मसिना ढुंगासमेत टिप्दै छौं । डोजरले जोतेको ठाउँमा ढुंगा पहिले राखेका फोहोरको टुक्रा, कंक्रिट ढलानका टुक्रा छानेर उठाइरहेको हो,’ महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भने । उनले सय गाडीभन्दा धेरै साना–ठूला ढुंगा, फोहोर टुक्रा, कंक्रिटका टुक्रा रहेको बताए ।
‘खुलामञ्च लामो समयदेखि सफा गरिएको रहेनछ । यहाँ सफा माटो मात्रै राख्नका लागि ठोस वस्तु हटाउन थालेका छौं । सफा माटो मात्रै भएपछि यहाँ प्राकृतिक दुबो रोप्छौं,’ उनले अनलाइनखबरसँग भने ।
उनले माटोलाई सफा बनाएपछि सतह सम्याएर स्थानीय जातको दुबो रोप्ने बताए । ‘प्राकृतिक बाहेक अन्य दुबो रोपिँदैन, त्यसको लागि चौरमा माटो सफा गरेर लेभलिङ गरिन्छ अनि रोप्छौं ।’
४ वटा गोलपोस्ट रहने
यसअघि काठमाडौंका ‘ए डिभिजन लिग खेलिरहेका तीन फुटबल क्लब (मच्छिन्द्र, संकटा र न्युरोड टिम) लाई लक्ष्यित गरी फुटबल मैदान दिने योजना बनाएको महानगरले कुनै भौतिक संरचना नबन्ने दाबी गरेको छ ।
काठमाडौं महानगरपालिकाका योजना आयोग उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी खेल मैदान बनाए पनि कृत्रिम दुबो र स्थायी भौतिक संरचना नबाउने बताए ।
‘ढुंगा टिपेर सम्याएपछि सामान्य खेल मैदानका लागि आवश्यक पर्ने दुबो रोपिदिने हो । बिहान–बेलुका खेलकुद गतिविधि हुने भएकाले चार गोलपोस्ट भने रहन्छ,’ राजभण्डारीले भने ।
दुई मैदानका लागि रेखाङ्कन गरेर ‘नट एन्ड बोल्ट’ सिस्टमको चार गोलपोस्ट राख्ने भन्दै दुबो रोपेपछि सभासम्मेलन गर्ने समयमा निकाल्ने बताए ।
‘कुनै मेला अथवा राजनीतिक कार्यक्रम गर्दा पोस्ट खोलेर राख्न मिल्छ, अन्य समयमा घाम तापेर सुन्तला–बदाम खाने चौर नै बन्छ । गोलपोस्ट बिहान–बेलुका स्थानीय युवा खेलुन् भनेर हो ,’ राजभण्डारीले भने ।
महानगरपालिकाले अहिले सफा गर्दा निकालेको ढुंगा टेकुमा लगेर थुपार्ने भएको छ ।
प्रतिक्रिया 4