+
+

भरतपुर विमानस्थल विस्तार गर्न घोडा प्रजनन केन्द्र सार्ने निर्णय

यो मेरो लागि ऐतिहासिक क्षण होः नगर प्रमुख दाहाल

सुवास पण्डित सुवास पण्डित
२०८० माघ १८ गते २०:४१

१८ माघ, चितवन । सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन् केन्द्र सार्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

अहिले भरतपुर विमानस्थलको रनवे सानो भएका कारणले ठूला जहाजहरु अवतरण हुन सक्दैन । भरतपुरमा सेनाको ७० विगाहा ८ कट्ठा ४ धुर जग्गा छ । सेनाको घोडा प्रजनन् केन्द्रले १९ विगाहा चर्चिएको छ । अब त्यसलाई शक्तिखोरमा सार्न आवश्यक संरचना तथा पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने बजेट सरकारले उपलब्ध गराउनेछ ।

भरतपुरमा अहिले १२०० मिटर लामो र ३० मिटर चौडा रनवे छ । विस्तारपछि १५०० मिटर लामो रनवे बन्ने छ । विमानस्थलको पूर्वतर्फ निजी जमिन भएकाले विस्तार गर्न सक्ने अवस्था छैन । त्यहाँ नयाँ भवन निर्माण तथा र तला थप गर्न भने रोक लागएको छ ।

विमानस्थलको पश्चिमतर्फ रहेको पश्चिम चितवन जाने सडकलाई पनि विस्तारित विमानस्थलको छेउमा सार्नुपर्दछ ।

रनवे विस्तारपछि ७२ सिटे एटिआर जहाजहरु भरतपुर आउन सक्नेछन् भने रात्रीकालिन उडान पनि हुनेछ । अहिले विमानस्थलको नयाँ टर्मिनल भवन पनि बनिरहेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विमानस्थलको रनवे विस्तार गर्न घोडा प्रजनन् केन्द्र सार्ने निर्णय गौरवको विषय भएको बताएकी छन् । २०७४ सालमा मेयर निर्वाचित भएदेखि नै आफू विमानस्थल विस्तारमा लागेको बताउँदै उनले भनिन्, ‘यो चितवनका साथै आसपासका जिल्लावासीका लागि ऐतिहासिक र गौरवको क्षण हो ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?