+
+

फोहोर वर्गीकरणको पुनः प्रयास गर्दै काठमाडौं महानगर

गत साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरिएको योजना असफल भए पनि महानगर फेरि वर्गीकरणमा कस्सिएको हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० माघ १९ गते १७:२६
फाइल तस्वीर

१९ माघ, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ‘फ्लप’ भएको फोहोर वर्गीकरण योजना काठमाडौं महानगरले पुनः सुरु गर्ने भएको छ ।

१ साउन २०७९ देखि स्रोतमै फोहोर वर्गीकरण गर्ने महानगरपालिकाको योजना अलपत्र पर्दै आएको थियो । गत साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरिएको योजना असफल भए पनि महानगर फेरि वर्गीकरणमा कस्सिएको हो ।

डेढ वर्ष अगाडि फ्लप

९ असार २०७९ मा सूचना जारी गर्दै महानगरपालिकाले फोहोर छुट्ट्याएर नराख्नेलाई ५ सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो ।

‘फोहोर संकलन क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ,’ सूचनामा थियो, ‘फोहोर छुट्ट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकाले यस्तो निर्णय गरिएको हो ।’

महानगरले आइतबार र बुधबार नकुहिने फोहोर संकलन तथा सोमबार र शुक्रबार कुहिने फोहोर संकलन गर्ने तालिका दिएको थियो ।

सूचनाअनुसार धैरै महानगरवासीले फोहोर छुट्ट्याउन सुरु गरिसकेका थिए । तर, महानगरले तालिका  बमोजिम फोहोर नउठाएपछि अहिले फोहोर छुट्ट्याउन सुरु गरेकाले पनि मिसाएका थिए ।

सुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, त्यसपछि महानगरले पर्याप्त चासो नदिँदा वर्गीकण हुन सकेन ।

मेयर बालेन्द्र साह आफैं फोहोर वर्गीकरण गर्न आग्रह गर्दै सार्वजनिक र्‍याली र कार्यक्रममा सहभागी पनि भए । मेयर बालेनसहित वडाध्यक्षहरूको टोलीले टोल–टोल गएर कुहिने फोहोरबाट गड्यौंले वा कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध थियो ।

फेरि सुरु

महानगरपालिकाले वडा नम्बर २७ बाट फेरि फोहोर वर्गीकरण सुरु गर्न लागेको हो । महानगरपालिकामा बुधबार बसेको वातावरण समिति बैठकले फोहोर वर्गीकरण नमुना कार्यक्रम वडा नम्बर २७ बाट थाल्ने निर्णय गरेको छ । बैठकमा वडा नम्बर २७ का अध्यक्ष तथा समिति संयोजक बालकृष्ण महर्जनले वर्गीकरणको काम थाल्नु अगाडि तयारीका लागि मिहनेत गर्ने बताए ।

समितिका सदस्य एवम् वडा नम्बर ५ अध्यक्ष वीरेन्द्र प्रजापतिले फोहोर वर्गीकरणको काम तत्काल थालनी गर्नुपर्ने अवस्था रहेको बताए ।

यस्तै वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले फोहोर व्यवस्थापनमा वडाहरूको नेतृत्वमा काम गर्नुपर्ने बताए ।

वडा नम्बर २७ का अध्यक्ष योगेश खड्गीले फोहोर उत्पादक को हुन्, उनीहरूले कस्तो प्रकारको फोहोर उत्पादन गर्छन् र अहिले कसरी व्यवस्थापन भइरहेको छ भन्ने सूक्ष्म अध्ययन गर्नुपर्ने र सचेतनाका कार्यक्रम तीव्र बनाउनुपर्ने बताए ।

‘आफू अभ्यस्त रहेको परिवेशका कमजोरी आफैंलाई थाहा हुँदैन । यसकारण फोहोर व्यवस्थापनको दिगो समाधानका लागि वाह्य परामर्शबाट अध्ययन भइरहेको छ,’  बैठकमा महानगर वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले भने, ‘घरमा उत्पादन भएको फोहोर वर्गीकरण गर्न नागरिक सहभागिताका लागि काम गर्नुपर्ने आवश्यकता छ ।’

५ हजार जनसंख्या रहेको वडा नम्बर २७ मा १ हजार ४ सय घरधुरी छन् । वडामा फोहोर उत्पादन प्रकृति र व्यवस्थापन चक्रमा गरिएको अध्ययनको प्रारम्भिक अवस्था प्रस्तुत गर्दै अमित चौहानले उत्पादकले स्रोतमा फोहोर वर्गीकरण गर्ने र महानगरपालिकाले दैनिक बिहान घर–घरमा फोहोर संकलन गर्ने सवारीसाधन पठाएपछि कामको नतिजा आउने बताए ।

यसका लागि घरधनी र व्यवसायीसँग छलफल गरिएको चौहानको भनाइ थियो । भारत इन्दोर नगरका सूचना, शिक्षा र सञ्चार विज्ञ चौहान फोहोर व्यवस्थापन अध्ययनका लागि काठमाडौं आएका छन् ।

‘जनतालाई छैन चासो, सहुलियत कम्पोस्ट बिन पनि बिकेन’

काठमाडौंको फोहोर वर्गीकरणमा महानगरपालिकाले प्रयास गरे पनि स्थानीय स्तरबाट जनताले चासो नदिँदा प्रभावकारी भएको देखिँदैन ।

काठमाडौं महानगरपालिकाले फोहोर वर्गीकरणका लागि भन्दै सहुलियतमा बाँडिरहेको कम्पोस्ट बिन खरिदमा महानगरका स्थानीय अनिच्छुक देखिएका छन्  ।

४ हजार रुपैयाँ पर्ने कम्पोस्ट बिन १ हजार ५ सय रुपैयाँमा बिक्री गर्न खोज्दा पनि अपेक्षित बिक्री नभएको महानगरले जनाएको छ ।

२२ साउनमा महानगरपालिकाले कुहिने फोहोरलाई घरमै मल बनाउन मिल्ने कम्पोस्ट बिन बाँड्ने जनाएको थियो । वातावरण विभाग टेकुबाट बाँड्ने भन्दै महानगरले ५ हजार थान कम्पोस्ट बिन किनेको थियो ।

विभागीय प्रमुख रविनमान श्रेष्ठले ५ हजारमध्ये करिब १ हजार मात्रै बिक्री भएको सुनाए । ‘धेरैलाई जानकारी पनि नभएर हुन सक्छ, सोचेअनुसार बिक्री भएन,’ उनले भने ।

महानगरले दिने छुट र कम्पोस्ट बिन प्रयोग गर्दा हुने फोहोर वर्गीकरणबारे फेरि सूचना जारी गरिएको उनले बताए । कम्पोस्ट बिन बिक्री राम्रो नभएपछि काठमाडौं महानगरपालिकाले ८ माघमा पुनः सूचना निकालेको छ ।

कुहिने फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी घरमा कम्पोस्ट मल बनाइ फोहोर न्यूनीकरण गर्ने भन्दै सहुलियत दरमा बिन किन्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरले टेकुस्थित वातावारण विभागबाट बिन बाँडिरहेको छ ।

यसरी सकिन्छ फोहोर वर्गीकरण

फोहोर व्यवस्थापनमा अब्बल मानिएको भारतको इन्दोर नगरमा जनचेतनाको कामको संयोजन गरेका सूचना, सञ्चार विज्ञ अमित चौहान जनचेतनाबाट नै फोहोरको वर्गीकरण गर्न सकिने बताउँछन् ।

महानगर वातावरण विभागका अनुसार भान्छामा कुहिने र नकुहिने गरी दुई खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफैंले बेच्न सक्छन् । कुहिने फोहोर आफैंले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारीसाधनमा राखेर पठाउन सकिन्छ ।

तरकारी (सागसब्जी), बढी भएका खानेकुरा, माछामासु, हड्डी, अन्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएका वस्तु, रुखका पात कुहिने फोहोर हुन् ।

यस्तै प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्ट ब्याग, बोतल, फलाम आदि नकुहिने फोहोर हुन् ।

यससँगै स्यानिटरी प्याड, डाइपर, विषादीको खाली बोतल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पीपीई), पञ्जा, फुटेका सिसा, घरआँगन बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रूपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा स्यानिटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडामा नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।

विभागले हरेक घर दैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरण प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्यांकन योजना बनाइरहेको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?