
काठमाडौं । विश्वचर्चित हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड लेखक तथा पुलित्जर पुरस्कार विजेता काई बर्ड नेपाल लिटरेचर फेस्टिभल -२०२४ मा सहभागी हुन नेपाल आउने भएका छन् ।
फागुन ३ देखि ७ गतेसम्म पोखरामा आयोजना हुने फेस्टिभलमा सहभागी हुन उनी आउने भएका हुन् । बर्डको चर्चित पुस्तक ‘अमेरिकन प्रोमेथियस : द ट्रिम्प एण्ड ट्रयाजेडी अफ जे रोबर्ट ओपेनहाइमर’मा आधारित रहेर उक्त फिल्मको निर्माण भएको हो ।
फेस्टिभलमा बर्डको पुस्तकमाथि चर्चा हुनेछ । फेस्टिभल आयोजक मिमांशा ढुंगेलका अनुसार पत्रकार कुन्द दीक्षितले लेखक बर्डसँग किताबदेखि फिल्मसम्मको यात्राका बारेमा चर्चा गर्नेछन् ।
फेस्टिभललगत्तै बर्ड फर्किनेछन् । उक्त पुस्तकबाट बर्डले सन् २००६ मा पुलित्जर पुरस्कार प्राप्त गरेका थिए । ‘ओपेनहाइमर’ यस वर्षको ओस्कार अवार्डको १३ विधामा मनोनित छ । यो फिल्मले नेपाली बक्स अफिसमा पनि राम्रै कमाइ गरेको थियो ।
फेस्टिभलमा सहभागी हुन ‘क्लाउड’ र ‘आर्जी द ड्वार्फ’जस्ता चर्चित उपन्यासका लेखक चन्द्रहाँस चौधरी र चर्चित लेखिका जेनिस प्यारिअट पनि आउने भएका छन् ।
प्रतिक्रिया 4