
१९ माघ, पोखरा । पोखरा महानगरपालिकाको १४ औं नगर सभा फेरि माघ २६ गतेसम्मका लागि सरेको छ । नगरसभा सदस्य मंगलकाजी मानन्धरको निधन भएको शोकमा नगरसभा सारिएको महानगर प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।
माघ ८ गते पोखरा ३० का वडा सदस्य मंगलकाजी मानन्धरको ५५ वर्षको उमेरमा निधन थियो । ‘यो दुखद् घडीमा नगर सभा नबसौं भनेर सबै नगरसभा सदस्यहरुबीच सहमति भएर केही पछि सारिएको हो’, उनले भने ।
प्रवक्ता तिमिल्सिनाका अनुसार अब स्थगित नगर सभा माघ २६ गते बिहान ११ बजेबाट सुरु हुनेछ ।पुस २९ गतेबाट महानगरको हिउँदे नगर सभा सुरु भएको थियो । तर, वार्षिक बजेटमा बढाइएको कर घटाउनुपर्ने माग राख्दै विरोध गरेपछि १८ गतेसम्मका लागि नगर सभा स्थगित भएको थियो ।
उक्त नगर सभाले चालु आर्थिक वर्षको आर्थिक ऐन संशोधन गर्न पोखरा महानगर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय विशेष समिति गठन गरेको छ । उक्त समितिलाई अध्ययन प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको थियो । समितिले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको आर्थिक ऐन संशोधन गरिने महानगरले जनाएको छ ।
१४ औं नगर सभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक नगरप्रमुख एवं सभाका सभाध्यक्ष धनराज आचार्य समक्ष टेबुल गरेका छन् ।
यस्तै, पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले समितिको अर्धवार्षिक प्रतिवेदन, न्यायिक समिति सदस्य भावना श्रेष्ठको राजीनामा र नयाँ सदस्य नियुक्तिको प्रस्ताव पनि सभाध्यक्ष आचार्य समक्ष टेबुल गरेकी थिइन् ।
सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटले सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रमुख समक्ष टेबुल गरेका थिए ।
प्रतिक्रिया 4