+
+
फोटो कथा :

आमायाङ्ग्रीमा जब हिउँले स्वागत गर्‍यो 

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० माघ २० गते १९:००

काम–व्यवहारको बोझलाई बिसाएर केही दिन स्वच्छन्द प्रकृतिमा रमाउने योजना बन्यो, साथीभाइसँग । कहाँ जाने त ? आपसी छलफल पछि सबै एकमत भए, ‘आमायाङ्ग्री जाने ।’ कहिले जाने ? यसमा पनि सबै एकमत भए, ‘यसै साता ।’ कसरी जाने ? यो प्रश्नले हामीलाई दुई भागमा बाँडिदियो ।

केही साथीले भने, ‘गाडी रिजर्भ गरौं, त्यसैमा जानु सजिलो हुन्छ ।’

तर, यसमा अरु साथीहरुले सहमति जनाएनन् । उनीहरुले भने, ‘होइन बाइकमा जाऔं, फरक अनुभव हुन्छ ।’

यस विषयमा लामो बहस चलेपछि अन्ततः सबैजना सहमत भए, ‘लु बाइकमा नै जाउ न त !’

काठमाडौंको तापमान ओरालो लाग्दै गर्दा हामी भने उकालो लाग्यौं, आमायाङ्ग्रीलाई लक्ष्य बनाएर । बिहान ८ नबज्दै हामीले काठमाडौं छाड्यौं । मूलपानी, शंखरापुर नगरपालिका हुँदै लप्सीफेदीमा पुगेपछि चियाको तलतल लाग्यो । त्यही‌ चियापान गरियो।

चियाले ज्यानलाई तातो मात्र बनाएन, जाँगर पनि थपिदियो । हामी फेरि उक्लियौं । जर्सिङ पौवादेखि पाँच किलोमिटर जति कालोपत्रे र ढलान बाटो थियो । त्यसपछि भने कच्ची बाटो भेटियो । त्यो धुलाम्मे बाटोमा हामी निरन्तर बत्तियौं— ‘वाइरोडको बाटोमा धूलो उडाउँदै’ भने जसरी ।

मध्याह्न भइसकेको थियो मेलम्ची पुग्दा । त्यहाँ खाना नखाने निधो गरेर फेरि हामी अगाडि बढ्यौं । २० मिनेटका यात्रापछि ग्याथुम बजार पुगियो । त्यहाँ लोकल भाले काट्न लगायौं । भालेको तात्तातो सुपसँग भात खाएपछि हामी केहीक्षण सुस्तायौं ।

त्यहाँबाट निस्कँदा दिनको तीन बजेको थियो । मेलम्ची खोलाको बगरै–बगर । कतै खोला तर्नुपर्ने, कतै ठूलठूला ढुंगा छिचोल्नुपर्ने । टिम्बुको फेदमा जसोतसो पुगियो । त्यहाँबाट बाटो अलि कठिन थियो । कतै बिग्रिएको थियो, ढुंगाको तगारो थियो र ठाडो उकालो पनि । यद्यपि यात्राको रमाइलो नै चुनौतीमा हुन्छ । हामीलाई पनि यो कठिन बाटो छिचोल्न एक किसिमको चुनौतीसँगै रमाइलो थियो ।

तार्केघ्याङ पुग्दा हिउँ पर्न सुरु गरिसकेको थियो । हिउँले हाम्रो यात्रालाई स्वागत गरे झैं लाग्यो र हामी पनि रोमाञ्चित भयौं । तर, एकोहोरो लामो यात्राले हामी निकै थाकेका थियौं । हिउँमा खेलिरहने जाँगर थिएन । त्यसैले अगाडि नै बुकिङ गरेको होटल खोज्नतर्फ लाग्यौं । होटल त हामीले मोटरसाइकल रोकेको आडैमा रहेछ ।

त्यहाँ एकाध होटल र होमस्टे रहेछन् । खान र बस्न खासै महँगो थिएन । खाना यसै स्वादिलो थियो । साथसाथै सस्तो पनि । हामीले पहिलो रात त्यहाँ सादा खाना खायौं ।  जाडो असाध्यै थियो ।

होटलको कोठमा केही क्षण खुट्टालाई आराम दिएपछि हामी आँगनमा निस्कियौं । त्यहाँ आगो बालिंदै थियो । केही क्षण रमाइलो गरेर खाना खाइसकेपछि हामी रात छिप्पन नपाउँदै सुत्यौं ।

बिहान तीन बजेकै थिएन, साथीहरु उठे । हामीले धेरै ढिला नगरी त्यहाँबाट बाटो ततायौं । यो ठाउँबाट हामीले पैदल हिंड्नु र आमायाङ्ग्रीको आँगनमै पुग्नु थियो ।

जंगलको बाटो, ठाडो उकालो । धर्तीमा उज्यालो खसेको थिएन । हामीले टर्चलाइट बाल्यौं । ट्रेकिङ जुत्ता लगायौं, व्याग बोक्यौं र हिंड्यौं ।

दुई घण्टाको हिंडाइपछि हामी आमायाङ्ग्रीको आधारशिविर पुग्यौं । बिहान सबेरै हिंडेको, खाना खाएको छैन, पानी पिएको छैन । आधारशिविरको होटलमा पुगेर हामीले पानी र चाउचाउ किन्ने भयौं ।

हामीले होटल साहुलाई पानी माग्यौं । तर, उनले ‘पानी छैन’ भन्ने जवाफ दिए । त्यसपछि हामीले ‘चिया छ ?’ भनेर सोध्यौं । यसको उत्तर उनले ‘छ’ भनेर दिए । साथीहरुले एकै स्वरमा कराए, ‘चिया खाऔं, चिया ।’

त्यहाँबाट हामी फेरि हिंड्यौं । त्यहाँ हिउँको साम्राज्य थियो । साँघुरो गोरेटो हुँदै हाम्रो लस्कर लम्किरह्यो । पूर्वी क्षितिजमा घामको लाली चढ्दै थियो । आकाश खुला थियो । क्रमश: घामको किरणले धर्तीलाई स्पर्श गर्दै थियो । तीन घण्टाको यात्रापछि हामी केही समतल ठाउँमा पुग्यौं ।

आधारशिविरबाट बोकेर आएको तातो चिया र चाउचाउ खाँदै हामी फोटो खिच्न थाल्यौं । क्षणभरको रमाइलोपछि हामीले फेरि यात्रा जारी राख्यौं । आधा घण्टा जति हिंडेपछि हामी हिउँको सानो थुम्कीमा पुग्यौं । हावामा लहराइरहेको रंगीविरंगी लुङ्दर । फरक डिजाइनको गुम्बा । यही थियो आमायाङ्ग्री गुम्बा । यही थियो हाम्रो गन्तव्य ।

त्यो पवित्र भूमिमा यसै पनि हाम्रो मन रमाएको थियो । आसपास हिउँको चुचुरो देखिन्थ्यो । यसो हात लम्काउँदा भेटिन्छ जस्तो देखिन्थे हिमालहरु ।

प्रकृतिमा स्वच्छन्द रमाउनुको विछट्टै आनन्द छ । त्यो आनन्द हामीले लिइरह्यौं करिब एक घण्टा जति । आसपासको दृश्यहरु हेर्ने, फोटो खिच्ने उपक्रम चलिरह्यो । तर, गन्तव्य थियो स्थायी बास थिएन । अब हामी ओर्लनु थियो, आफ्नै धरातलमा । त्यसैले हामीले त्यो मनोरम टाकुरालाई विदा गरियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?