+
+
ब्लग :

कहिलेकाहीं त यसो रमाइलो पनि गर्नुपर्छ क्या !

कति रक्सी पिएर, चर्को आवाजमा गीत बजाउँदै उफ्रनु मात्र हौ! शान्त वनमा, चराचुरुङ्गीहरूको गीत सुन्दै, एक्लै सुसेली हाल्दै हिंड्नु अनि डाँडाको टुप्पोमा पुगेर सुरिलो स्वरमा बाँसुरी बजाउनु पनि रमाइलो होइन र!

आचार्य आदित्य आचार्य आदित्य
२०८० माघ २१ गते १४:०४

‘कहिलेकाहीं त यसो रमाइलो पनि गर्नुपर्छ क्या!’ कुनै ‘पार्टी’तिर, हातमा बियरको वा वाइनको एउटा गिलास बोकेपछि, अथवा भुइँ थर्किने गरी बज्दै गरेको गीतमा जीउ हल्लाउन थालेपछि साथीभाइ र केही आफन्तहरूले प्रायः दिइरहने अर्ति हो यो।

‘एक गिलास मात्र’ वा ‘एकैछिन् नाचौं न’। उनीहरूले ‘रमाइलो’ गर्न प्रोत्साहन गर्ने शब्दहरू प्रायः यिनै हुन्।

साथीहरू, जो मेरो स्वभावसँग लगभग परिचित छन्, त्यति अर्ति दिइसकेपछि आफ्नै काममा लाग्छन् किनकि उनीहरूलाई थाहा छ- यो कर गरेर मान्ने मान्छे होइन। तैपनि कहिलेकाहीं ‘रमाइलो’ गरिदिए हुने भन्ने शुभेच्छा प्रकट गर्न/अपेक्षा राख्न चाहिं छोड्दैनन्।

आफन्तहरू (जो ‘अलि रमाइलो’ गर्न प्रोत्साहन गर्न खोज्छन्) ले केही थप प्रयास गर्छन्। एकछिन हाँसेरै टारिदिन्छु। अलि बढी नै प्रोत्साहन गर्न थाले भने ‘हुन्छ, एकछिन पछि.…’ भनिदिन्छु र मौका हेरेर एकातिर छड्किदिन्छु। किनकि, ‘रमाइलो’ गरिरहेका उनीहरूसँग मेरा तर्कले केही काम गर्दैन भन्ने थाहै हुन्छ।

मलाई चाहिं बरु एकातिर छड्किएपछि ‘रमाइलो’ लाग्छ! अगाडि नपरेपछि उनीहरूले पनि खासै याद गर्दैनन् किनकि उनीहरू ‘रमाइलो गर्न’ मै व्यस्त हुन्छन्।

‘टोल थर्किने गरी गीत बजाउँदै नाच्नु नराम्रो हो’ भनेर कहिल्यै, कसैलाई पनि भनेको याद छैन आजसम्म। ‘बियर/वाइन पिउँदै नाच्नु नराम्रो हो’ भनेर पनि अहिलेसम्म कसैलाई भनेको याद छैन।

तिमीहरूलाई त्यसो गर्दा रमाइलो लाग्छ भने ठीकै छ त, गर न- नै भन्ने लाग्छ। तर खै उनीहरूलाई त्यसो गर्दा मात्र रमाइलो हुन्छ भन्ने चाहिं किन लाग्छ अहिलेसम्म बुझ्न सकेको छैन। मैले ‘रमाइलो’ गर्न नजानेकोमा, नसकेकोमा उनीहरूको प्रायः सहानुभूतिपूर्ण भाव व्यक्त हुन्छ।

सहानुभूति त उनीहरूप्रति मलाई पनि लाग्छ। मैले रमाइलो गर्ने तरिका मात्रै जीवनमा रमाइलो गर्ने तरिका हो भन्ने उनीहरूको बुझाइ देखेर। यद्यपि म उनीहरूले जस्तो उनीहरूसँगै सहानुभूति व्यक्त गर्दिनँ। किनकि, उनीहरूले ‘रमाइलो’ गरिराखेको बेलामा त्यस्तो कुरा गर्नु व्यर्थ हो भन्ने थाहा छ।

जब म आफू रमाइलो गरिराखेको हुन्छु, मेरो वरिपरि उनीहरू कोही पनि हुँदैनन् किनकि मलाई रमाइलो गर्न कोही चाहिंदैन। त्यसैले, तिमीहरू र मेरो रमाइलो गर्ने तरिका फरक–फरक छ भनेर भन्ने, बुझाउने, देखाउने अवसर मिलेको छैन अहिलेसम्म !

अत्यन्तै अन्तर्मुखी स्वभावको त छुइनँ, तर म एक्लै, आफ्नै दुनियाँमा प्रायः रमाइराखेकै हुन्छु। रेडियो सुन्दै सुन्दै हिंड्दा रमाइलो लाग्छ; त्यसैले अफिस छुट्टी भएपछि अफिस बस आफ्नो बाटो लाग्छ, म मोबाइलमा रेडियो बजाउँदै आफ्नै बाटो हिंड्छु।

कहिले हार्मोनियम/तबला बजाउँदा रमाइलो लाग्छ; त्यसैले साँझतिर कुनै मन्दिरतिर पस्छु, एकछिन भजन–कीर्तनमा रमाइलो गर्छु र आफ्नो बाटो लाग्छु। कहिलेकाहीं शान्त जङ्गलतिर गएर, चराचुरुङ्गीहरूको गीत सुन्दै, एक्लै सुसेली हाल्दै हिंड्दा रमाइलो लाग्छ; त्यसै गर्छु।

कहिले काल्पनिक संसारमा डुबेर कविता वा मुक्तक लेख्दै रमाउँछु। म त प्रायः सधैं रमाइलो गरिराखकै हुन्छु।

तर यी कुनै पनि कार्यहरू मेरा वरिपरि भएकाहरूको ‘रमाइलो’को परिभाषा भित्र पर्दैनन्। अथवा, म प्रायः एक्लै वा थोरै साथीहरूको समूहमा रमाउने हुनाले, उनीहरूले मैले रमाइलो गरेको कहिल्यै देख्दैनन्। त्यसैले ‘कहिलेकाहीं’ चाहिं यसो रमाइलो पनि गर्नुपर्छ भनिरहन्छन्। ‘मलाई तिमीहरू/तपाइँहरू नाचेको हेरेर रमाइलो लागिरा’को छ’ भन्यो, पत्याउँदैनन्।

रमाइलो मान्नु भनेको त अनुभव गर्ने कुरा हो जस्तो लाग्छ। एकजनाले जे गर्दा रमाइलो मानिरहेको हुन्छ, अर्कोले अर्कै कार्य गर्दा रमाइलो मानिरहेको हुनसक्छ। ‘मैले रमाइलो अनुभव गर्न जे-जे गरिरहेको छु, उसले पनि त्यसै नगरिकन त रमाइलै हुँदैन नि’ भन्ने सोचाइहरू देखे/भोगेर हैरान छु।

स्नातक तहसम्म पढ्दा, सहपाठीहरूको ‘जाँड पार्टी’हरूमा जाँड नखाएर जुस र खिसी लगभग बराबर खाइयो। जाँड खाँदै रमाइलो गर्नेहरूलाई ‘तिमीहरूले रमाइलो गर्न जानेनौ’ वा ‘तिमीहरू खराब मान्छे हो किनकि तिमीहरू जाँड खान्छौ’ भनेर त कहिल्यै भनिएन। तर आफूचाहिं जहिल्यै ‘जुस खाने वर्ग’ र खासै ‘रमाइलो गर्न नजान्ने वर्ग’मा परियो। पार्टी प्यालेसहरूमा हुने पारिवारिक जमघटहरू, भोजभतेरहरूमा नाच्न मन नगरेर र मासु नखाने भएर ‘रमाइलो गर्न नजान्ने मान्छे’ मा परियो/परिन्छ।

अगाडि नै भनेजस्तो, रमाइलो त व्यक्तिले अनुभव गर्ने कुरा होला। तर, ओ मान्छेहरू हो, तिमीहरूले बियर/वाइन पिउँदा जस्तो रमाइलो लाग्छ, मलाई सुन्तलाको जुस पिउँदा पनि त्यस्तै रमाइलो लाग्छ।

तिमीहरूले पार्टीमा टाईसुट लगाएर, मेकअप गरेर, जीउभरि अत्तर छरेर, महँगो ब्रान्डेड वाइनको गिलास समाउँदा जत्ति रमाइलो लाग्छ, मलाई सामान्य एक क्यान बियर र एउटा उपन्यास लिएर आफ्नै कोठाको खाटमा, एक्लै बस्दा त्यस्तै रमाइलो लाग्छ।

बेलाबेला भूकम्पको झल्को दिने गरी थर्किएर बजिरहेको गीतको तालमा नाच्दा तिमीहरूलाई जस्तो रमाइलो लाग्छ, कुनै शान्त जङ्गलमा मन मिल्ने एउटा साथीसँग गफ गर्दै गर्दै हिंड्दा मलाई त्योभन्दा बढी रमाइलो लाग्छ। तिमीहरूलाई बारबिक्यूमा मासु पोल्दै गर्दा जत्ति रमाइलो लाग्छ, मलाई काँचो गाँजर, मुला, काँक्रोको सलाद चपाउँदा त्यत्ति नै रमाइलो लाग्छ।

तिमीहरूले ‘रमाइलो’ गर्न गर्ने क्रियाकलापमा त मैले कहिल्यै प्रतिवाद गरेको जस्तो लाग्दैन; सधैं सम्मान नै छ। केही कुरा खानु या नखानु, केही कार्य गर्नु या नगर्नु त व्यक्तिगत रुचिको कुरा होला नि, होइन र? मैले रमाइलो गर्ने तरिका मात्र जो–कोहीले जीवनमा रमाइलो गर्ने एकमात्र तरिका होइन भनेर कहिले होला बुझ्ने ?

बेलाबेला त म पनि अर्ति दिऊँ कि जस्तो लाग्छ –

कति रक्सी खाएर, चर्को आवाजमा गीत बजाउँदै उफ्रनु मात्र हौ? शान्त वनमा, चराचुरुङ्गीहरूको गीत सुन्दै, एक्लै सुसेली हाल्दै हिंड्नु अनि डाँडाको टुप्पोमा पुगेर सुरिलो स्वरमा बाँसुरी बजाउनु।

कुनै दुर्गम ठाउँको गोठको थप्र्याङमा परालको गुन्द्री माथि पल्टिएर जून हेर्दै मन मिल्ने साथीसँग घन्टौं गफ गर्नु। खोलातिर गएर, कुनै पनि कुराको पर्वाह नगरी, नाङ्गैभुतुङ्गै पौडी खेलिरहेका भुराभुरीहरूसँग बगरका ढुङ्गा र बालुवामा खेल्नु।

आफ्नो काल्पनिक संसारलाई कुनै कथा, कवितामा व्यक्त गर्नु, अथवा कुनै चित्रमा उतार्नु।

कहिलेकाहीं त यसो रमाइलो पनि गर्नुपर्छ क्या !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?