+
+

स्मार्ट स्ट्रिट लाइटबाट झलमल्ल पारिंदै काठमाडौं, खर्च १२ करोड

स्मार्ट स्ट्रिट लाइट जडान गर्ने काममा करिब १२ करोड लागत अनुमान गरिएको छ । सडक झलमल्ल पार्ने अभियानमा ५० प्रतिशत काम सम्पन्न भइसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० माघ २२ गते १२:४२

२२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ करोड रुपैयाँ खर्च गरेर मुख्य सडकहरुलाई झलमल्ल बनाउने गरी स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान कार्य थालेको छ ।

साँझ परेपछि हिंड्नै मुस्किल हुने भन्दै आलोचना भइरहेको बेला महानगरपालिकाले दुई हजार बढी स्मार्ट स्ट्रिट लाइट जडान थालेको हो ।

काठमाडौंका सडकलाई स्मार्ट स्ट्रिट लाइटमार्फत झलमल्ल बनाउने काममा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागले सहकार्य गरेका छन् ।

स्मार्ट स्ट्रिट लाइट जडान गर्ने काममा ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने गरी सम्झौता गरिएको छ ।

स्मार्ट स्ट्रिट लाइटबाट सडक झलमल्ल पार्ने यो अभियानमा ५० प्रतिशत काम सम्पन्न भइसकेको महानगरपालिकाले जनाएको छ ।

जोडिसकियो १ हजार ३७ वटा स्मार्ट स्ट्रिट लाइट

महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार १ हजार ३७ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरिसकिएको छ ।

महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघरमण्डलसम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा र चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिसकिएको उनले बताए । महानगरले फराकिलो सडकमा १२० वाट र साँघुरा सडकमा ९० वाटका बत्ती जडान गरेको छ ।

पौडेलका अनुसार यी सडकखण्डमा प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ गरी जम्मा १ हजार ७२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो । तर स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको पौडेलले बताए ।

यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ १७७ वटा पोल थपिएको छ भने बत्ती जडान गर्न ३० हजार ७१० मिटर तार प्रयोग भएको छ ।

स्मार्ट लाइट जडान गर्न वा सोलार प्यानललाई पुनः प्रयोगमा ल्याउन नसकिने ४२१ वटा हटाइएको छ । यी प्यानल महानगरपालिका, विद्युत प्राधिकरण र निजी क्षेत्रले पोल गाडेर राखेका थिए ।

यी हुन् स्मार्ट स्ट्रिट लाइट जडान हुने सडक

लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघरमण्डलदेखि बागबजारसम्म, बागबजारदेखि शीतलनिवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म र चाबहिलदेखि जोरपाटीसम्मका सडकमा स्मार्ट स्ट्रिट लाइट जोडिनेछ । यी सडकमा काठमाडौं महानगरपालिकाको लगानीमा हुनेछ ।

यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघरमण्डल, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

यो रुटमा बत्ती जडानको काम तत्काल सुरु हुने प्रक्रियामा रहेको नेपाल विद्युत प्राधिकरणका उपप्रबन्धक प्रमोद रिजाल बताउँछन् । ‘हामीले काम गर्ने सडक खण्डमा यसअघि सौर्यबत्तीका लागि गाडिएका पोल छन् । ती पोलहरुको पुनः प्रयोग योजना स्वीकृति हुने चरणमा छ । योजना स्वीकृत भएपछि काम थालिनेछ’, रिजालले भने ।

यी खण्डमा १ हजार १७ वटा सडक बत्ती राख्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको उनले बताए । यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९७० मिटर तार आवश्यक पर्ने अनुमान गरिएको छ ।

विद्युत् महसुल र मर्मतसम्भार महानगरले व्यहोर्ने

२०८० वैशाख २५ गते भएको सम्झौताअनुसार सूर्योदय ऊर्जा/अर्घाखाँची जेभीले २०८१ बैशाख २४ गतेभित्र स्मार्ट स्ट्रिट लाइट जडान कार्य सम्पन्न गर्नुपर्नेछ । ‘५० प्रतिशत काम सकिइसक्यो, अहिलेको कामको प्रगति हेर्दा सम्झौता अवधिभित्रै सबै काम सम्पन्न हुने देखिन्छ’, महानगरपालिका एक इन्जिनियरले भने ।

जडानको काम सम्पन्न भइसकेपछि सबै बत्तीहरुलाई एउटै प्रणालीमा आबद्ध गरिनेछ । त्यसपछि महानगरपालिकाको कन्ट्रोल रुमको एउटै कम्प्युटरबाट बत्तीहरुलाई निभाउने–बाल्ने र आवश्यकताका आधारमा चम्किलो–मधुरो बनाउन सकिन्छ ।

यसरी बत्ती जडान भएपछि जगेडा रहेमा आ–आफ्नो स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्री लगायत सामानको आफैंले पुनः प्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यसपछिको मर्मतसम्भार महानगरपालिकाले गर्नेछ । सडक बत्ती प्रयोग भए वापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?