पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई निश्चित समयका लागि भण्डारण गरी अनुकूल समयमा गर्भाधान गराउने विधि प्रचलनमा छ नेपालमा पनि । खासगरी वैदेशिक रोजगारीमा जानेहरु यसबाट लाभान्वित हुनसक्छन् । उनीहरुले निश्चित समयमा सन्तान जन्माउनका लागि आफ्नो वीर्य र अण्डलाई भण्डारण गर्न सक्छन् ।
त्यति मात्र होइन, उमेर बढ्दै गएपछि डिम्ब र वीर्यको गुणस्तर कम हुन्छ भन्ने जानकारी भएका दम्पती विवाहअघि नै वीर्य तथा अण्ड भण्डारण गर्ने कुरामा सचेत छन् ।
कसको लागि यो विधि उपयोगी हुन्छ ?
आफ्नो करिअर वा अन्य कारणले ढिला गरी बच्चा जन्माउँदा शिशुमा कतिपय जन्मजात असर देखिन सक्ने भएकाले त्यसबाट बच्न पनि वीर्य र डिम्ब भण्डारण प्रभावकारी हुन्छ । बिहे गरेर पनि ढिलो गरी बच्चा जन्माउने दम्पतीको लागि यो विधि प्रभावकारी हुन्छ ।
कसैलाई वंशाणुगत रोगको जोखिम छ वा मुटु र मिर्गौला लगायत दीर्घरोगको समस्या छ भने पनि उनीहरूलाई यो विधि उपयोगी हुनसक्छ ।
क्यान्सर भएर रेडियोथेरापी र किमोथेरापी लिनुपर्ने महिला तथा पुरुषले ती उपचारात्मक सेवा लिनुअघि शुक्रकीट तथा डिम्ब भण्डारण गरी पछि बच्चा जन्माउने प्रविधि प्रभावकारी बन्न सक्छ ।
निःसन्तानपनको समस्या पुरुष र महिला दुवैमा हुनसक्छ । महिलामा उमेरको कारण डिम्बको गुणस्तरमा समस्या देखा पर्छ । त्यसैगरी ४० वर्ष कटेपछि पुरुषमा पनि शुक्रकीटको कमी, त्यसको मात्रा र गुणस्तरमा ह्रास आउन सक्ने भएकाले उमेर ढल्केपछि बच्चा पाउने योजना बनाएका पुरुषको शुक्रकीट भण्डारण गरेर राख्न सकिन्छ ।
अहिले ठूलो संख्यामा नेपाली युवाहरु विदेशमा गएर शारीरिक श्रम गरिरहेका छन् । खाडी मुलुकको ४०-५० डिग्री सेल्सियस तापक्रममा काम गर्दा वीर्यको गुणस्तरमा ह्रास आई सन्तान उत्पादनमा समस्या भइरहेको हुनसक्छ । ती पुरुष मानिसहरुमा नेपाल फर्किंदा नि:सन्तानपनको समस्या भइरहेको देखिन्छ । यस्तो अवस्थामा वीर्य तथा डिम्ब भण्डारण प्रविधि तिनीहरूका लागि उपयोगी हुन्छ ।
कति वर्षको उमेरमा भण्डारण गर्दा फलदायी हुन्छ ?
वीर्य तथा डिम्ब भण्डारणका लागि एकदमै उपयुक्त उमेर २५ देखि ३० वर्ष हो । तर ३५ वर्षको उमेरसम्म पनि वीर्य तथा डिम्ब भण्डारण गर्न सकिन्छ । ३५ वर्षको उमेरपछि डिम्बको गुणस्तर र संख्यामा ह्रास आउँछ । ३५ देखि ४० वर्षको उमेरसम्म पनि भण्डारण गर्न सकिन्छ । तर ४० वर्षको उमेरपछि भने भण्डारण गर्दा त्यति लाभदायक हुँदैन ।
सामान्यतया: महिला ३५ वर्षभन्दा माथि गर्भधारण गर्दा महिलामा पनि विभिन्न खाले दीर्घरोग हुने र बच्चामा पनि केही जन्मजात असर देखिने जोखिम हुन्छ । तर ३० वर्ष अगावै वीर्य वा डिम्ब भण्डारण गरिएको छ भने ३५ वर्षमा बच्चा जन्माउँदा पनि ३० वर्षको उमेरमा जन्माएको जस्तै स्वस्थ बच्चा जन्मिन्छ ।
कसरी गरिन्छ भण्डारण ?
डिम्ब भण्डारण गर्न महिलालाई महिनावारी भएको दोस्रो दिनबाट हार्मोनयुक्त इजेक्सन र औषधिबाट डिम्ब विकास गर्ने प्रक्रिया सुरु गरिन्छ । यसलाई ‘ओभरियन स्टीमूलेसन’ भनिन्छ । यो प्रक्रिया सुरु गरेको १०-१२ दिनमा बीचबीचमा अल्ट्रासाउन्डको सहायताले डिम्ब कसरी विकास भइरहेको छ भनेर हेरिन्छ ।
जब डिम्ब परिपक्व हुन्छ, त्यसपछि अल्ट्रासाउन्डको मद्दतमा योनीद्वारमार्फत लामो सियोको माध्यमबाट डिम्बलाई डिम्बाशयबाट संकलन गरिन्छ । विभिन्न मिडिया अर्थात् रसायन (केमिकल)हरूमा प्रशोधन गरेपछि लिक्विड नाइट्रोजनमा फ्रिज गरेर राखिन्छ ।
पुरुषहरूको सन्दर्भमा प्राकृतिक रूपमा नै वीर्य निकालेर भण्डारण गरिन्छ । वीर्य संकलन भएपछि भण्डारण प्रक्रियाका लागि (एन्ड्रोलोजील्याब)मा लगिन्छ । संकलित वीर्यलाई स्वस्थ बनाउन आवश्यक पोषकतत्व मिसाएर भण्डारण गर्ने ट्युबमा राखिन्छ । ट्युबलाई माइनस १९६ डिग्री सेल्सियस तरल नाइट्रोजनमा भण्डारण गरिन्छ । यी दुवै प्रक्रियालाई मेडिकल भाषामा ‘क्रायोप्रिजर्भेसन’ भनिन्छ ।
यसरी वीर्य तथा डिम्ब आवश्यकताअनुसार ८-१० वर्षसम्म पनि भण्डारण गरेर राख्न सकिन्छ । वीर्य वा डिम्ब भण्डारण गर्दा व्यक्तिको विवरण सबै टिपेर सुरक्षित र व्यवस्थित तरिकाले गरिन्छ । जति समयपछि आफूलाई बच्चा जन्माउन मन लाग्छ, त्यसपछि त्यसलाई गर्भधारण गराइन्छ ।
कति लाग्छ खर्च ?
वीर्य भण्डारण गर्न वार्षिक २५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च लाग्न सक्छ । डिम्ब भण्डारणका लागि भने वीर्यको तुलनामा अलि बढी खर्च लाग्छ ।
डिम्ब निकाल्ने आईभीएफ (कृत्रिम गर्भाधान) प्रक्रिया जस्तै हो, त्यसको लागि लगभग साढे दुईदेखि तीन लाख खर्च लाग्छ । त्यसपछि डिम्बलाई कति वर्ष भण्डारण गरेर राख्ने त्यसका लागि छुट्टै खर्च लाग्छ । भण्डारण गर्न वार्षिक ५० देखि ६० हजार रुपैयाँ लाग्छ ।
दाताको वीर्य र डिम्बलाई पनि भण्डारण गर्न मिल्छ
त्यसो त वीर्य वा डिम्ब पनि अन्य व्यक्तिबाट दिने र लिने चलन विश्वभर प्रचलित छ । यो सामान्यतया शुक्रकीट र डिम्बले राम्रो काम नगरेर निःसन्तान भएका दम्पतीका लागि प्रभावकारी हुन्छ । यसरी दाताबाट लिइएको वीर्य वा डिम्ब पनि भण्डारण गरेर राख्न मिल्छ ।
कोही महिलाको डिम्बाशयमा डिम्बको उत्पादन नै कम भइरहेको छ भने त्यस्तो अवस्थामा उनीहरूको डिम्बाशयबाट डिम्ब संकलन गरेर शुक्रकीटसँग मिसाएर वैकल्पिक रूपमा यसको प्रयोग गर्न सकिन्छ । सामान्यतया कसैबाट वीर्य र डिम्बको लिंदा कुनै पनि स्वास्थ्य समस्या नभएको युवायुवतीको खोजी गरिन्छ । विशेषगरी ३० वर्ष उमेर नपुगेका दाता युवायुवतीबाट वीर्य वा डिम्ब लिनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया 4