+

एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित ३ वर्षे तयारी सुरु, बजेट अभाव

२०८० माघ  २२ गते २०:१९ २०८० माघ २२ गते २०:१९
एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित ३ वर्षे तयारी सुरु, बजेट अभाव

२२ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले पदक जित्ने उद्देश्यसहित सन् २०२६ मा हुने एसियन गेम्सको लागि ३ वर्ष लामो तयारी सुरु गरेको छ ।

राखेपले पूर्वओलम्पियन दीपक विष्टलाई राष्ट्रिय टिम तयारी समितिको निर्देशक नियुक्त गरेर तेक्वान्दो, जुडो, उसु, कराँते र बक्सिङ गरी ५ मार्सल आर्टसका खेलको प्रारम्भिक चरणको प्रशिक्षण सुरु गरेको हो

यी खेलको माघ १५ देखि सातदोबाटोस्थित प्रशिक्षण हल र दशरथ रंगशाला परिसरमा प्रशिक्षण भइरहेको छ । खेलाडीको स्वास्थ्य परीक्षण फिटनेस लगायत परीक्षण भइरहेको छ । हरेक खेलबाट १० जना खेलाडी र २ प्रशिक्षकसहित ६० जनाको टिम छ ।

उनीहरुलाई अन्य प्रतियोगितामा राम्रो गरेका खेलाडीसँग भिडाइनेछ । जसले जित्छ ऊ नै टिममा रहन्छ भने हार्ने बारिहन्छ । ‘यो एउटा विधि मात्रै हो, यहाँ छनोट भएका १० जना नै एसियन गेम्सका लागि जाने भन्ने छैन । यी खेलाडीलाई प्रत्येक साढे २ महिनाको अन्तरालमा प्रतिस्पर्धामा भिडाइनेछ’, विष्टले भने ।

सन् १९८६ मा दक्षिण कोरियामा भएको १० औं एसियन गेम्समा नेपालले तेक्वान्दो र बक्सिङमा समान ४/४ कास्य गरी ८ वटा पदक जितेको थियो ।

गत वर्ष चीनमा भएको १९ औं एसियन गेम्समा नेपालले कराँतेमा रजत र कबड्डीमा कास्य पदक जितेको थियो । ३ महिनाको छोटो तयारीका कारण १९ औं एसियन गेम्समा पदक नआएको विष्ट बताउँछन् ।

अघिल्लो एसियन गेम्समा खेलाडीलाई जाँच्ने, जान्ने र प्रतिस्पर्धामा उतार्ने मौका कम भएकाले यसपटक लामो तयारी गर्न लागिएको उनको भनाइ छ ।

‘हामीले यो पटक लामो तयारीको समय राख्नुको कारण खेलाडीलाई जतिसक्दो धेरै प्रतिस्पर्धामा उतारेर जाँच्ने र योग्य खेलाडी उत्पादन गर्नका लागि हो’, उनले भने ।

सुरुमा मार्सल आर्ट

नेपालले दक्षिण एसियाली खेलकुद (साग) र एसियन गेम्समा मार्सल आर्टसकै खेलबाट राम्रँे नतिजा ल्याएको छ । त्यसैले अहिले पनि प्रारम्भिक छनोटमा मार्सल आर्टसकै ५ वटा खेल राखिएको विष्टको भनाइ छ ।

अर्को आर्थिक वर्षको बजेट आउने बित्तिकै कम्तीमा १० देखि बढीमा १५ वटा खेल थप्ने तयारी रहेको उनी बताउँछन् । चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँको बजेटले यो प्रारम्भिक चरणको प्रशिक्षण सुरु गरिएको हो । जसमा ६० जनालाई प्रत्येक दिन ३०० रुपैयाँ पोषण भत्ता दिइएको छ । ‘३०० पर्याप्त रकम होइन । तर सुरुवात गर्न हामीले प्रयास गरेका हौं’, विष्ट भन्छन् ।

राष्ट्रिय टिम तयारी विभागले युवा तथा खेलकुद मन्त्रालयमा १ वर्षको लागि ६० करोड रुपैयाँ बजेट माग गरेको छ ।

‘हामीले माग गरेको बजेट निकै न्युनतम खर्च हो । एसियन गेम्स २०२६ मा नेपालले बढीमा २० खेल मात्रै लैजाने तयारी गरेको छ’, विष्टले भने, ‘हामीले धेरै खेलका धेरै खेलाडी लगेर मात्रै हुँदैन ।’

युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा जम्मा २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बजेट छ । यो पनि युवा र खेलकुद दुवै क्षेत्रको गरी हो । यो बजेट कुल बजेटको ०.१६ प्रतिशत मात्र बजेट पाएको छ । ‘पदक ल्याउनु छ भने सरकारले खेलकुदमा लगानी गर्नुपर्छ’, विष्टले भने ।

दीपक विष्ट राष्ट्रिय खेलकुद परिषद
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय