
काठमाडौं । ‘पहाडमा यात्रा गर्दा टिस्टा एक मात्र निरन्तरको साथी हो,’ नयाँ गीतबारे गायक विपुल क्षेत्रीको भनाइ हो यो । उनले यसैसाता ‘सलल’ गीत रिलिज गरे । उनले यो गीत ‘टिस्टा’ नदीप्रति समर्पित रहेको बताएका छन् । यो नदीलाई सिक्किम र दार्जिलिङको जीवनरेखा समेत मानिन्छ ।
लण्डनको एक कलेजबाट पाश्चात्य गिटारमा स्नातक गरेका क्षेत्री अहिले नयाँ दिल्लीको बसन्त भ्याली स्कुलमा कला विभागका प्रमुख समेत हुन् । फेब्रुअरी १९ मा विपुलले पोखरामा आयोजना हुन लागेको नेपाल साहित्य महोत्सवमा प्रस्तुति दिंदैछन् ।
सम्भवतः नेपाली संगीतमा उनी ग्रामी अवार्डका एक मात्र मतदाता हुन् । उनका अघिल्ला एल्बमहरु ‘स्केच अफ दार्जिलिङ’, ‘माया’ र ‘समय’सहितको उनको डिस्कोग्राफीमा धेरै एकल गीत रेकर्ड छन् । नयाँ गीत ‘सलल’बारे ‘आसाम ट्रिब्युन’सँग गरेको कुराकानीको सम्पादित अंश :
‘सलल’ शब्दको अर्थ के हो र यसले गीतको विषयवस्तुको सारलाई कसरी समेट्छ ?
नेपाली एक सुन्दर र अभिव्यक्त भाषा हो । सललले नेपाली भाषा बग्ने खोलाको आवाजलाई प्रतिनिधित्व गर्छ । त्यसैले यो शब्दले गीतको विषयवस्तुको सन्दर्भमा काम गर्छजस्तो लाग्यो ।
‘सलल’ गीत कम्पोज गर्नुअघिको प्रेरणा कसरी लिनुभयो ? उत्कट इच्छा र नोस्टाल्जियाजस्ता भावनालाई कसरी मिश्रण गर्नुभयो ?
हरेक पटक म कालिम्पोङमा घर जाँदा मैले जस्तै विभिन्न परिस्थितिले घरबाट टाढिन बाध्य मानिसलाई भेटें । सबैको पर्दा पछाडिको कथा यस्तै छ जस्तो लाग्यो । यसरी मैले टाढा हुनुको भावनालाई समेट्न सक्छु कि भन्ने लाग्यो । म सधैं घरमै फर्किन चाहन्छु तर त्यसो गर्न असमर्थ छु । यसरी गीतमा आकांक्षा, तृष्णा र नोस्टाल्जियाको भाव प्रकट भयो ।
‘सलल’मा टिस्टा नदीले कसरी रुपकको रुपमा कार्य गर्छ ?
मैले पहाड भ्रमण गर्दा धेरै चीज परिवर्तन भएको देखिन्थ्यो, कहिले राम्रोको लागि वा कहिले नराम्रोको लागि । तर त्यहाँ जाँदा वा फर्किंदा टिस्टा नदीले मात्र बाटोमा साथ दिइरहेको देखिन्छ । त्यसैले मैले सोचे कि यो गीतको लागि उपयुक्त रूपक हो ।
सिक्किम र उत्तर बंगालमा हिमताल विस्फोटको प्रकोपबाट प्रभावितलाई सन्देश वा श्रद्धाञ्जली दिन तपाईंले कसरी नयाँ गीतलाई प्रयोग गर्नुभएको छ ?
हाम्रो क्षेत्रमा हिमताल विस्फोटको प्रकोप ५० भन्दा बढी वर्षमा सबैभन्दा विनाशकारीमध्ये एक थियो, जसमा धेरै मानिसले आफ्नो घर, व्यवसाय र आफ्ना प्रियजन गुमाए । हामीले व्यक्तिगत रूपमा चिनेका मानिस पनि यसबाट प्रभावित थिए । त्यसैले उनीहरूको दृढताप्रति श्रद्धाञ्जली अर्पण गर्ने र उनीहरूको दुःख साझा गर्ने यो हाम्रो सानो तरिका थियो ।
के तपाई ‘सलल’ सिर्जनाको यात्राको बारेमा अन्तर्दृष्टि प्रदान गर्न सक्नुहुन्छ जसका लागि तपाईंले सही शब्दहरु पर्खनुपर्यो र एक वर्ष लामो रचना प्रक्रियामा समावेश हुनुभयो ?
गीत लेखन कहिलेकाहीं सजिलो र कहिलेकाहीं अत्यन्तै गाह्रो हुनसक्छ । मैले एक घण्टाभन्दा कम समयमै गीत लेख्न सक्छु तर विषयवस्तुको भावनालाई अभिव्यक्त गरेन भने त्यसको कुनै अर्थ छैन । मसँग यो गीतको लागि एक वर्षअघिदेखि मेलोडी थियो तर गीतले मलाई कहाँ लैजान्छ भन्ने निश्चित थिएन । त्यसैले जबर्जस्ती नआउला भनेर पर्खिएँ । तर एउटा रूपकको रूपमा नदीसँगको अन्तर्निहित विषयवस्तु सुरुदेखि नै थियो । मलाई शब्दहरू ठाउँमा खस्नका लागि सही समय र ठाउँ चाहिन्छ ।
प्रतिक्रिया 4