मासिकश्राव अर्थात् महिनावारीको बखत महिलाका लागि केही विकल्प छन् । जस्तो, सेनिटरी प्याड, महिनावरी पेन्टी र महिनावरी कप ।
यी सबै उपलब्ध नहुने ग्रामीण भेगमा पुरानो कपडा पनि प्रयोग गरेको पाइन्छ । नरम सुतीको सफा कपडालाई प्याड बनाउन सकिन्छ । यद्यपि धेरै रक्तश्राव हुँदा यस्तो कपडा, प्याडबाट रगत छिचोलिन सक्छ ।
पछिल्लो समय प्रचलनमा आएको महिनावारी कप अर्थात् मेन्स्ट्रुरल कपमा भने रगत छिचोलिने भय छैन । त्यसो त यो एक पटक खरिद गरेपछि पटक-पटक प्रयोग गर्न सकिने भएकाले किफायती पनि छ । महिनैपिच्छे प्याड किन्नुपर्ने झन्झट हुँदैन । न त कपडाको प्याड जस्तै संक्रमणको डर नै हुन्छ ।
महिनावरी कप सस्तो, दिगो र सुरक्षित छ । यद्यपि अपेक्षाकृत यसको प्रयोग त्यति धेरै भएको पाइँदैन । किन होला त ?
-महिनावारी कपबारे धेरैलाई थाहा छैन । महिनावारीको बेला सेनिटरी प्याड वा कपडा प्रयोग गरिरहेकामध्ये कतिपयले यस कपबारे जानकारी पाएका छैनन् ।
-महिनावरी कप कसरी प्रयोग गर्ने, प्रष्ट रुपमा धेरैलाई थाहा छैन । कतिले महिनावारी सुरु हुनुअघि नै यसको परीक्षण गर्छन्, जबकि त्यसबेला पाठेघरको मुख कडा हुन्छ । कपलाई सजिलै लगाउन सकिंदैन ।
-महिनावरी कपबारे धेरैजसो विश्वस्त छैनन् । यो कप प्रयोग गर्दा असहज पो हुने हो कि, रगत चुहिने पो हो कि, भित्र नै अड्किने पो हो कि ? यस्तो आशंका छ ।
-कति महिलाले महिनावारी कप खरिद गरेर पनि लगाउन सकिरहेका छैनन् । खासगरी सुरुको बेला कप लगाउँदा असहज र झन्झटिलो महसुस हुनसक्छ । किनभने यसमा उनीहरु पहिलेदेखि अभ्यस्त छैनन् ।
-सही ढंगले प्रयोग नगर्दा कतिले यसबाट पूर्णलाभ लिन सकेका छैनन् । अनुपयुक्त आकारको कप बलपूर्वक लगाउँदा यौनाङ्ग दुख्ने, चिलाउने भएकाले पनि कतिपयले यस्तो कप लगाएका छैनन् ।
-यौनाङ्ग खुकुलो हुने भयले पनि कति महिलाले कप प्रयोग गर्दैनन् । यौनाङ्गमा कप छिराउँदा त्यसले यौनाङ्गको आकारलाई असर गर्ने डर धेरैमा छ, खासगरी किशोरीहरुमा ।
के यो वास्तवमै असहज छ ?
कुनै पनि कुरामा एकैपटक अभ्यस्त र विश्वस्त हुन सकिंदैन । महिनावारी कप प्रयोगमा आएको धेरै भएको छैन । भर्खरै मात्र यसबारे महिलामा बहस हुँदैछ र आंशिक रुपमा बजारमा उपलब्ध भएका छन् ।
कपडाको प्याड प्रयोग गरिरहेकाहरुलाई सेनिटरी प्याड प्रयोग गर्न जति सहज हुन्छ, त्यति सहज नलाग्न सक्छ महिनावारी कप । प्याड यौनाङ्ग बाहिर लगाइन्छ । कप भने भित्र छिराउनुपर्ने हुन्छ । यसरी छिराउँदा कतिपयलाई असहज लागेको हो ।
यसमा बानी पर्न समय लाग्छ । जब एक-दुई पटक बानी पर्छ, तब उनीहरुलाई यो सहज लाग्न थाल्छ । महिनावारी कपले यौनाङ्गमा त्यस्तो नराम्रो असर गर्दैन । एक त यसले पटक-पटक प्याड किन्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ भने अर्कोतिर खर्च पनि कटौती गर्छ । एक पटक किनेपछि लामो समयसम्म प्रयोग गर्न सकिन्छ । यसमा रगत भरिएपछि निकालेर खाली गर्न सकिन्छ । त्यसपछि सफा पानीले धोएर पुन: प्रयोग गर्न सकिन्छ ।
शौचालय जाँदा, नुहाउँदा यसलाई निकाल्नुपर्ने बाध्यता हुँदैन । महिनावारी सकिएपछि भने कपलाई सुरक्षित र उचित ढंगले राख्नुपर्छ । कप सफा गरेर उमालेको पानीमा पाँच मिनेट राख्नुपर्छ । त्यसपछि यसलाई सुक्खा बनाएर जतनसाथ राख्नुपर्छ ।
महिनावारी कप एकनास हुँदैन । यसको गुणस्तर र आकारमा पनि फरक हुन्छ । यो सानो, मध्यम र ठूलो आकारमा पाइन्छ । आफूलाई कुन सहज हुन्छ, त्यही अनुसार छनोट गर्न सकिन्छ ।
सुरुवातमा नरम रिम र सानो आकारको कप प्रयोग गर्न सकिन्छ । अविवाहितले सानो अकारको प्रयोग गर्नु उपयुक्त हुन्छ भने विवाहित वा ३० वर्षभन्दा माथिकाले मझौला वा ठूलो कप प्रयोग गर्न उपयुक्त हुन्छ ।
कसरी प्रयोग गर्ने ?
महिनावारी कप प्रयोग गर्ने विधि ठ्याक्कै ट्याम्पोन जस्तै हो । पेल्भिक मांसपेशीलाई खुकुलो छाड्ने, कपको माथिल्लो भागलाई सी आकारमा पट्याएर बिस्तारै योनीभित्र पठाउनुपर्छ । भित्र पसेपछि त्यो खुल्छ । विधिपूर्वक महिनावारी कपभित्र पठाएमा बाहिरबाट देखिंदैन र रगत पनि चुहिंदैन ।
सामान्यतया महिनावारी कप आठदेखि १२ घण्टाको अन्तरमा निकाल्न भनिएको छ । तर रगत बग्ने मात्रा हेरेर कुन बेला निकाल्ने र लगाउने भन्ने आफैंले टुंगो गर्न सकिन्छ ।
निकाल्नका लागि सबैभन्दा पहिला कपको तलको भागमा दुईवटा औंलाले च्यापेर बिस्तारै तल तान्नुपर्छ । तान्नेबेला जबरजस्ती गर्नुहुँदैन । यस्तो कप सकेसम्म घरमा नै निकाल्नु उपयुक्त हुन्छ । किनभने निकालेपछि राम्ररी धुने, पखाल्ने गर्नुपर्छ ।
प्रतिक्रिया 4