
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सतीदेवी’ सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८० मा सर्वश्रेष्ठ फिल्म घोषित भएको छ । लक्ष्मण सुवेदी निर्देशित फिल्मले सामाजिक विभेदविरुद्ध महिला संघर्षको कथा पेश गर्छ ।
थिएट्रिकल प्रदर्शन तयारीमा रहेको फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् । फिल्मले ट्रफीसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । यही फिल्मबाट लक्ष्मण सुवेदीले दिवंगत अभिनेता शिव रेग्मीप्रति समर्पित सर्वोत्कृष्ट निर्देशकको अवार्ड पनि जिते ।
निर्देशक सुवेदीलाई रेग्मीकी धर्मपत्नी ज्ञानु र छोरा डाक्टर अभिषेकले अवार्ड प्रदान गरे । सचिन घिमिरे र गौरव केसी निर्देशित ‘म अलप हुन चाहन्छु’ले सर्वश्रेष्ठ वृत्तचित्रको अवार्ड प्राप्त गर्यो । यसले उपाधिसँगै २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
लघु फिल्मको विधातर्फ प्रदीप पोखरेल निर्देशित ‘हिउँचितुवा’ उत्कृष्ट बन्यो । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । ‘नांगो गाउँ’बाट बनिशा शाहले जिते ।
फिल्म ‘विच्छेद’बाट संकल भुजेलले सर्वश्रेष्ठ छायांकारको उपाधि जिते । सर्वश्रेष्ठ फिल्म लेखनको उपाधि सत्यराज चौलागार्इं र मुकुन भुसालले प्राप्त गरे । ‘जुरी प्रोत्साहन अवार्ड’ रोशनकुमार श्रेष्ठ निर्देशित गीति चलचित्र ‘भाग्य’ले प्राप्त गर्यो ।
महोत्सवमा दक्षिण एसियाली मुलुकका ४० फिल्मले सहभागिता जनाएको आयोजक क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए । विजयी हुनेलाई बागमती प्रदेशसभा सदस्य गीता गुरूङले सम्मान र नगद पुरस्कार प्रदान गरिन् ।
जुरी समिति संयोजकमा वृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल थिए । पत्रकार माधवप्रसाद तिवारी, फिल्म सम्पादक तथा निर्देशक रक्षासिंह राणा पनि जुरी सदस्य थिए ।
प्रतिक्रिया 4