
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र निर्देशक साम्तेन भुटियाले एक छोटो फिल्मका लागि सहकार्य गर्ने भएका छन् । केही दिनमा धादिङमा छायांकन हुने यो फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा पठाउने तयारी छ ।
सामाजिक मुद्दालाई लिएर बनाउन लागिएको यो सर्ट फिल्मका लागि भुटिया केही दिनमा सिक्किमदेखि काठमाडौं आउँदैछन् । ‘प्रियंकासँग काम नगरेको धेरै भएको थियो,’ साम्तेनले अनलाइनखबरसँग भने, ‘यो सर्ट फिल्मले जुराएको छ ।’
साम्तेनले हालै सिक्किममै एक फिचर फिल्मको निर्देशन सकेका छन् । श्यामाश्री र किरण दाहाल लगायतका कलाकार लिएर बनाइएको यो फिल्मलाई चाँडै नेपालमा रिलिज गर्ने तयारी छ । साम्तेनले कान्स फिल्म फेस्टिभलमा पिचिङ भएको अर्को एक फिचर फिल्मलाई पनि अघि बढाउँदैछन् ।
प्रियंकाको कुरा गर्दा निर्देशक सिमोस सुनुवारसँग मिलेर उनले एक फिचर फिल्म निर्माण गर्दैछिन् । यो फिल्मको छायांकन आयुष्मान देशराज जोशीले गर्ने खबर यसअघि आइसकेको छ । प्रियंका र सिमोस हिमालय रोडिजको आगामी सिजनमा पनि व्यस्त हुँदैछन् ।
प्रियंकाले गरिन् मनोरन्जन पार्कको उद्घाटन
काठमाडौंको धुम्बाराहीमा सुरु भएको मनोरञ्जन पार्क ‘उप्स’को उद्घाटन प्रियंकाले गरेकी छन् । आयोजित समारोहमा उनले रिबन काटेर पार्कको शुभारम्भ गरिन् ।
यो पार्कमा आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डोर र आउटडोर खेलको मनोरञ्जन लिन सकिने जनाइएको छ ।
सञ्चालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी श्रीमानसँग पुगेकी थिइन् । कार्यक्रममा बोल्दै प्रियंकाले भनिन्, ‘परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेल एकै ठाउँमा पाएँ । ठूलो स्पेस भएकाले पनि धेरैले खेलको मजा लिन सकिन्छ ।
प्रतिक्रिया 4