छालामा समस्या आउने मुख्य कारण मौसम परिवर्तन र वातावरण प्रदूषण हुन् । यीमध्ये चिसोले हातखुट्टा रातो हुने, सुन्निने, चिलाउने समस्याले सबैभन्दा बढी सताउने गर्छ । जसलाई चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’ वा ‘पेर्नेओसिस’ भनिन्छ ।
चिलब्लेन्स हातखुट्टाका औंलासँग चिसो, ओसिलो वातावारणको सम्पर्कले हुने छालाको समस्या हो । चिलब्लेन्स भएमा हातखुट्टाका औंलाहरु रातो हुने, चिलाउने, दुख्ने सुन्निने, पानीफोका र पिपका फोकाहरु आउने जस्ता लक्षण देखिन्छन् ।
कारण
चिसो र चिसो हावाको सम्पर्कमा आउनु यसको प्रमुख कारण हो । यो वंशाणुगत पनि हुनसक्छ । चिसोले छालाको सतह नजिकै हुने मसिनो रक्तनलीलाई कडा पार्छ । र, सोही समयमा तातोमा सम्पर्कमा आउँदा रक्तनली खुम्चिन्छ । जसकारण अक्सिजन राम्रोसँग पास हुनसक्दैन । यी कारणले हातखुट्टा सुन्निन सक्छ ।
छाला सुन्निएर वरपरको नसालाई प्रभावित गर्छ । जसले दुखाइलाई बढावा दिन्छ । तर यस्तो खालको प्रतिक्रिया किन हुन्छ, यसको ठोस आधार पत्ता लागिसकेको छैन । तर यो चिसोमा सम्पर्कमा आउने र पुनः तातो हुने असामान्य प्रतिक्रियासँग सम्बन्धित हुनसक्छ ।
को बढी जोखिममा ?
यो समस्या जवान र युवास्थाका महिलालाई बढी देखिन्छ । त्यस्तै चुरोट सेवन गर्ने, दुब्लो मानिस, हिमाल आरोहीहरु, चिसोमा काम गरिराख्नुपर्ने किसान, घरायसी काम गरिराख्नुपर्ने महिला, रगत क्यान्सर र बाथरोगका बिरामीमा पनि देखिन्छ ।
लक्षण
चिलब्लेन्स भएकाहरुमा चिसासँग सम्पर्कमा आएको केही घण्टामा हातखुट्टाका औंला र कानमा चिलाउने, पोल्ने, सुन्निने, छाला रातो रंगकव हुन्छ ।
यस्ता लक्षणहरु २४ घण्टाभन्दा बढी रहने गर्छन् । र, संक्रमण गम्भीर हुँदा पानीफोका र पिपका फोकाहरु आउँछन् । बिस्तारै पानी फोकाहरु फुटेर घाउ हुने र अत्यधिक दुख्ने हुनसक्छ ।
कति बेला अस्पताल जाने ?
-धेरै दुखाइ
-अत्यधिक पीडा हुने वा पिप बग्न थालेमा
-चिलाउने, औंला सुन्निने, घाउ हुने र पोल्ने समस्या एक साताभन्दा बढी भएमा
उपचार
यस्ता समस्या हरेक जाडोयाममा देखिन्छ भने त्यसलाई व्यवस्थापन मात्र गर्न सकिन्छ । छालाको हेरचाह नगरे यसले सताइरहने गर्छ । यस्तोमा चिकित्सकको परामर्शमा नाइट्रोग्लिसरिन र स्टेरोइड नामक मलम लगाउन सकिन्छ ।
संक्रमण अलि जटिल भएमा नीफेडीपिन भन्ने रगत नली फैलाउने औषधि चिकित्सकले दिनसक्छन् । चिसोसँग छालाको सम्पर्क हटाएपछि क्रमिक रुपमा सुधार हुँदै जान्छ । र, धेरैजसोमा एकदेखि तीन हप्तामा आफैं ठीक हुन्छ ।
कसरी बच्ने ?
यसबाट बच्न शरीरको छालालाई सकेसम्म चिसो हावा, पानी र चिसो वातावरणबाट बचाउनुपर्छ । त्यसका लागि पूरा शरीर ढाक्नेगरी लुगा लगाउने, पञ्जा, मोजा लगाउने र बेलाबखतमा मोइस्चराइजर लगाई राख्नुपर्छ । जाडोमा व्यायाम गरिराख्न सकिन्छ । यसले शरीरमा रक्तसञ्चार गराई शरीरको तापक्रम सन्तुलनमा राखी यस्ता समस्या हुन दिंदेन ।
चिसोमा काम गर्नैपर्ने भएमा काम सुरु गर्नुपूर्व तातो पानीमा हात खुट्टा एकछिन डुबाउने अनि मात्र काम गर्न सकिन्छ ।
प्रतिक्रिया 4