+
+

कञ्चनपुरबाट दिल्ली जाँदै गरेको बसलाई वनबासामा अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १७:५०

२४ माघ, धनगढी । महेन्द्रनगरदेखि दिल्लीका लागि छुटेको महाकाली यातायातको सुपप्र ०२००१ ख ११०० नम्बरको बसलाई बुधबार भारतीय प्रहरीले वनबासामा रोकेको छ ।

प्रहरीले कागजपत्र नभएको भन्दै बसलाई जरिवाना तिराएको र त्यसपछि पनि जान नदिएको पन्तले बताए । उक्त बसमा सवार ३९ जना नेपाली यात्रुलाई भने भारतीय बसमा चढाएर गन्तव्यतर्फ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार सीमावर्ती क्षेत्रमा चल्ने ५८ ट्याक्सीलाई नियम विपरीत चलाइएको भन्दै नियन्त्रणमा लिएको थियो । ती मध्ये १० वटा ट्याक्सीसँग कागजपत्र नभेटिएको भन्दै आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाइएको थियो ।

महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले प्रहरीले कागजपत्र नभएका गाडीलाई सम्बन्धित स्थानमै जरिवाना तिराउनुपर्ने भएपनि कञ्चनपुर प्रहरीले सबै ट्याक्सी नियन्त्रणमा लिएका कारण भारतमा नेपाली बस रोकिएको बताए ।

अहिले भारतीय प्रहरीसँग कुरा गर्न बनबासातर्फ गइरहेको पन्तले बताए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने मंगलबार कञ्चनपुरमा भारतीय ट्याक्सी र बुधबार भारतमा नेपाली बस प्रहरीले नियन्त्रणमा लिएको कुरा संयोग मात्र भएको बताएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले महेन्द्रनगर–दिल्ली चल्ने उक्त बससँग आवश्यक कागजपत्र नभएका कारण भारतीय प्रहरीले नियन्त्रणमा लिएको बताए ।

‘हाम्रो ट्राफिक प्रहरीले जस्तै चेकजाँच गर्ने क्रममा त्यहाँको ट्राफिक प्रहरीले केही कागजपत्र नपुगेका कारण बस नियन्त्रणमा लिएको बुझिएको छ’, प्रजिअ अधिकारीले भने, ‘ट्याक्सी व्यवसायीको अवरोधका कारण रोकिएको भन्ने कुरा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?