
२४ माघ, पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई सम्मान गरेको छ ।
‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित सम्मान अर्पण गरेको हो ।
प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३औं स्मृति दिवसको सन्दर्भ पारेर बुधबार आयोजना गरेको कार्यक्रममा स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष रहेका राजन कार्कीलाई अर्पण गर्यो । यो पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ नगद छ ।
उनीहरुलाई संस्कृतिविद् डा.जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानका प्रमुख संरक्षक सर्मीला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले नगदको साथमा फूलमाला, दोसल्ला र सम्मानपत्र सहित पुरस्कार तथा सम्मान अर्पण गरेका हुन् ।
नेपाली लोक गीत तथा संगीतमा चर्चित गीतहरु ‘सोह्र वर्षे उमेरैमा’, ‘आहा कलिलो तामालाई’, ‘राम्दी पुल’ जस्ता गीतका सर्जक लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको स्मृतिमा कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना भएको हो ।
स्मृति प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि सक्रियरुपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ । स्रष्टा कल्याण शेरचनको देहावसान पश्चात हिमाली सांस्कृतिक परिवारले २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौराह (चुट्का) गीत प्रतियोगिताको आयोजना गरेको थियो ।
उक्त प्रतियोगिताबाट संकलित रकमले अक्षयकोष स्थापना गरी २०६९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराई प्रतिष्ठानको स्थापना भएको हो ।
प्रतिष्ठान समाज कल्याण परिषदमा पनि दर्ता भएको छ । प्रतिष्ठानले हरेक वर्ष साउन १२ गते शेरचनको जन्म जयन्ती र माघ २४ गते स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
प्रतिष्ठानले स्रष्टा कल्याण शेरचनले अंगालेका विधाहरु लोक संस्कृति, शिक्षा र खेलकुद क्षेत्रमा योगदान पुयाउनु हुने व्यक्तित्वहरुलाई सम्मान अर्पण गर्ने गरेको हो ।
यस क्रममा वरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक स्व.डम्बरसिंह गुरुङ, शिक्षाविद् बलवीर सिंह नेगी, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, शिक्षाविद् रुप बहादुर गुरुङ र वरिष्ठ खेलाडी एवम् प्रशिक्षक खड्गबहादुर रानाभाट, शिक्षाविद् स्व.योगेन्द्र बहादुर बस्नेत, वरिष्ठ लोक गायक नारायण रायमाझी, वरिष्ठ कलाकार बाबा राणालाई सम्मान तथा अभिनन्दन गरिसकेको छ ।
प्रतिक्रिया 4