
२५ माघ, काठमाडौं । संसदीय दलको नेतामा चयन भएको एक वर्ष कटिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको उपनेता बनाएका छैनन् ।
कांग्रेसको संसदीय दलको विधान अनुसार दलको नेताले उपनेता मनोनीत गर्ने व्यवस्था छ । गत पुस ६ मा देउवा संसदीय दलको नेतामा चयन भएको एक वर्ष पुगेको छ । अघिल्लोपटक भने देउवाले संसदीय दलको नेतामा निर्वाचित भएकै महिना अर्थात् २०७४ फागुनमा उपनेता मनोनीत गरेका थिए ।
अघिल्लो संसदमा देउवाले उपसभापति विजय गच्छदारलाई दलको उपनेतामा मनोनीत गरेका थिए । तत्कालीन समयमा देउवालाई दलको नेता बनाउँदा गच्छदार प्रस्तावक बनेका थिए । यसपटक देउवा प्रस्तावक बनेका रामचन्द्र पौडेल राष्ट्रपति बने ।
संसदीय दल विधानमा दलेको नेताले आफ्नो कार्यमा सहयोग गर्न तथा तोकेको काम गर्नसदस्य मध्येवाट एक उपनेता मनोनयन गर्न व्यवस्था छ । दलका नेताको अनुपस्थितिमा उपनेताले संसदीय दल र कार्यसमिति वैठकको अध्यक्षता गर्ने अधिकार छ ।
नेताको अनुपस्थितिमा संसदीय दल र संसदमा तत्काल गर्नुपर्ने कार्यको लागि उपनेताले संसदीय दलका अन्य पदाधिकारीसँग समन्वय गरी आवश्यक निर्णय गर्न सक्छन् ।
संसदीय दलको नेता माथिक अविश्वास प्रस्ताव दर्ता भएमा त्यसमा छलफल र निर्णय हुने बैठकको अध्यक्षता उपनेताले गर्ने व्यवस्था छ ।
कांग्रेसले संसदीय कार्यसमिति पनि हालसम्म गठन गरेको छैन । संसदीय दलको कार्यसमितिमा २३ जना हुने व्यवस्था छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पहिले कार्यसमितिको निर्वाचन हुने त्यसलगत्तै दलको उपनेता मनोनीत हुनेछन् । ‘पहिले संसदीय दलको कार्यसमितिको निर्वाचन हुन्छ । महासमिति बैठक पछि दलको उपनेता सभापतिले मनोनित गर्नुहुन्छ,’ विश्वकर्माले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4