+
+

संगीतकर्मी र प्राविधिकको पारिश्रमिक तय गर्न कार्यविधि ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १२:४२

काठमाडौं । संगीतकर्मी तथा प्राविधिकको उचित पारिश्रमिक तय गर्न नयाँ कार्यविधि ल्याइने भएको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले यस्तो जानकारी दिएकी हुन् ।

प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र तथा श्रमिक संगठन (फावन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पारिश्रमिक समस्या समाधान गर्न कार्यविधि ल्याउन लागिएको जनाइयो । उक्त अवसरमा नेपाली संगीत र फिल्म क्षेत्रका श्रमिक कलाकार र प्राविधिकले पारिश्रमिक नपाउने गरेको गुनासो गरेका थिए ।

फवनका सल्लाहकार शान्तिप्रियले अहिले पनि गीतकारलाई सित्तैमा गीत लेखाउने परिपाटी रहेको बताए । गीतकारको महत्वपूर्ण भूमिका हुने भएपनि मेहनतअनुसारको पारिश्रमिक पाउन मुस्किल रहेको उनले बताए ।

फावनका उपाध्यक्ष तथा निर्देशक ऋषिराज आचार्यले कलाकारहरुको पारिश्रमिकदेखि अन्य कुरालाई समायोजना गर्न संगीत नाट्य एकेडेमीले नयाँ ऐन नै ल्याउनुपर्ने सुझाव दिए । चाँडै आउन लागेको फिल्म ऐनमा पनि यी कुरा उल्लेख हुने उनको भनाइ छ ।

संगीतकार दीपक शर्माले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संगीतकर्मीको समस्यालाई नजिकबाट बुझ्नुपर्ने बताए । मौलिक गीत-संगीतलाई प्रोत्साहित गर्न प्रतिष्ठान स्थानीय तहसम्म जानुपर्ने, नत्र रैथाने गीत–संगीत, बाजा लोप हुने उनले बताए ।

गायिका झुमा लिम्बूले केन्द्रमा कलाकारको पहुँच भएपनि स्थानीय क्षेत्रमा रैथाने कलाकारको पारिश्रमिक न्यून रहेको धारणा राखिन् । राष्ट्रिय कलाकारको बोलवाला भएकै कारण रैथाने कलाकारले स्थानीय क्षेत्रमा हुने कार्यक्रममा पनि कला प्रस्तुतिको लागि स्थान र पारिश्रमिक नपाउने गरेको उनले बताइन् ।

संगीतकार बसन्त सापकोटाले नयाँ र भाइरललाई स्टेजदेखि मिडियासम्मले स्थान दिंदा राम्रा र व्यावसायिक कलाकार मारमा परेको गुनासो गरे । निर्देशक ऋषि लामिछानेले कलाकारको असमान पारिश्रमिकका कारण फिल्ममा आर्थिक विकृति मौलाएको बताए ।

उठेका समस्याको जवाफ दिने क्रममा प्रतिष्ठानकी कुलपति निशा शर्माले चाँडै प्रतिष्ठानले कलाकारको योगदानको आधारमा वर्गीकरण गर्ने बताइन् । सोही वर्गीकरणको आधारमा गीत रेकर्डिङदेखि स्टेजमा गीत प्रस्तुतिसम्मको न्यूनतम पारिश्रमिक आफूहरुले तय गर्ने उनले जनाइन् ।

प्रतिष्ठानका उपकुलपति शम्भु राईले कलाकारका पारिश्रमिकबारे आफूहरु निकै चिन्तित रहेको जनाए । प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटाले कानुनकै अभावका कारण श्रमिक कलाकारको श्रममा समानता नभएको बताए । कानुन ल्याउन आफूहरुले पहल गरेको उनले बताए ।

संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले श्रमिक कलाकारहरुको समस्यालाई आफूहरुले नजिकबाट बुझेको र रोयल्टीसम्बन्धी अन्तराष्ट्रिय कानुन चाँडै लागू गरेर उनीहरुको सिर्जनाको अधिकारलाई सुरक्षित गर्ने बताए ।

अन्तरक्रियामा प्रस्तुत गुनासालाई प्रतिवेदन बनाएर प्रतिष्ठानलाई बुझाउने फावनका सल्लाहकार डब्बु क्षेत्रीले बताए । यी समस्यालाई केही महिनापछि आफूहरुले आईएलओको अन्तराष्ट्रिय सम्मेलनमा पनि पेश गर्ने उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?