२५ माघ, काठमाडौं । नेपालका लागि पहिलो पटक बन्द प्रशिक्षणमा पर्दै क्यानडासँगको पहिलो एक दिवसीय क्रिकेटमा नेपालका लागि डेब्यू गरेका क्रिकेटर रिजन ढकाल निकै भाग्यशाली भए । उनले डेब्यु खेलमै विकेट पनि लिए ।
क्यानडासँगको पहिलो खेलमा पहिलो विकेटको बे्रक थ्रु दिलाएका रिजनले राष्ट्रिय टिमबाट डेब्यू गर्दा प्रेसर भन्दा बढी उत्सुकता रहेको बताए ।
२२५ को सामान्य लक्ष्य जोगाउने प्रेसर रहेको नेपालका लागि उनले क्यानडाका ओपनर नवनित दलिवाललाई ६ रनमा विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।
करिअरकै पहिलो अन्तर्राष्ट्रिय विकेट लिएका रिजन भन्छन्, ‘दिउँसोको कन्डिसन फास्ट बलरलाई फेभर हुँदैन । बल हल्का स्विङ हुँदै थियो । ब्याटरलाई फ्रन्ट फुटमा ल्याएर खेलाउने योजना थियो त्यहि सफल भयो ।’
क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेपछि उनले पत्रकारसित भने, ‘राष्ट्रिय टिममा डेब्यू गर्ने सबैको सपना हुन्छ । मेरो लागि यो प्रेसर भन्दा पनि बढी उत्सुकता थियो ।’
उनी टिममा पर्ने वित्तिकै डेब्यू गर्न पाउँदा खुसी छन् । ‘सबै खेलाडीको इच्छा हुन्छ । टिममा पर्ने बित्तिकै डेब्यु पनि गरें,’ उनले भने ।
प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट राम्रो बलिङ गरेका बायाँ हाते बलर रिजन त्यही प्रदर्शनका आधारमा टिममा परेका थिए ।
आफूले पहिलो पटक ठूलो समर्थकको अगाडि खेलेको भए पनि यसलाई सामान्य नै मानेर खेलेको उनले बताए । ‘मेरो दिमागले यो खेललाई सामान्य खेल मानिरहेको थियो । मेरो दिमागमा जे आइरहेको थिएँ त्यहि गर्ने योजना थियो । धेरै समर्थकहरुको अगाडि खेलेकै थिइनँ ।’
प्रतिक्रिया 4