+

क्यानडाविरुद्ध रोहितको कप्तानी प्रदर्शन

२०८० माघ  २५ गते २०:४३ २०८० माघ २५ गते २०:४३
क्यानडाविरुद्ध रोहितको कप्तानी प्रदर्शन

२५ माघ, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लियो । बिहानको समयमा ब्याटिङ गर्न निकै कठिन मानिन्छ । तर आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि कप्तान रोहित पौडेल यो जोखिम लिन पछि परेनन् ।

पहिलो रोजाइका करण केसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी क्यानडाविरुद्ध सिरिजमा नेपालको टोलीमा छैनन् । युवा खेलाडीलाई नेपालले मौका दिएको छ । उनीहरुको क्षमता हेर्ने यो राम्रो अवसर हो । क्यानडासँग ३ खेलको एक दिवसीय शृंखला खेल्न लागेको नेपाललाई यो खेल हार्दा पनि खासै घाटा हुँदैन ।

ओपनर कुशल भुर्तेल ६२ र आरिफ शेखको ३८ रनको सहयोगमा नेपाल ५० ओभरमा २२४ रनमा अल आउट भयो । पाएको सुरुवातलाई कुनै पनि नेपाली ब्याटरले ठूलो इनिङमा लैजान सकेनन् । ओपनर आसिफ शेख ८, भीम सार्की १७, कुशल मल्ल २०, पवन सरार्फ १५ र रोहित पौडेल ८ रनमा आउट भए । खेलपछि आरिफ शेखले ४०–४५ रन कम बनाएको बताएका थिए ।

क्यानडाका ओपनर आरोन जोनसन १५ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । सोमपाल कामीको जोडदार अपिलमा हाइट देखिए पनि अम्पायर विनय झाले आउट दिएका थिए । अम्पायरको निर्णयमा क्यानडाको टिम भने सन्तुष्ट थिएन ।

नेपालले पहिलो ओभर नै स्पिनर ललितलाई लगाएको थियो । दोस्रो ओभरमा फाइन लेगमा ड्राइभ हान्नेक्रममा बायाँ हातको औंलामा ललितको चोट लागेको थियो । उपचारपछि ललित पुन मैदान फर्किएका थिए ।

क्यानडा ६ ओभरमा ३५–२ को अवस्थामा थियो । तर तेस्रो विकेटका लागि परगत सिंह र निकोलस किर्टोनले ७९ रनको साझेदारी गरेपछि क्यानडा १९.३ ओभरमा ११४–२ को मजबुत अवस्थामा थियो । क्यानडाले नेपालको स्पिन बलिङ मज्जाले खेलेको थियो । प्रधानमन्त्री कपमा सर्वाधिक ३० विकेट लिएका सूर्य तामाङलाई क्यानडाका ब्याटरले कुनै पनि समय हाबी हुन दिएनन् ।

क्यानडा र नेपालबीचको खेल भएको पिच त्रिविको ब्याटिङमा सबैभन्दा कठिन मानिन्छ । अत्याधिक टर्न र बल फसेर आउने गर्दा ब्याटरहरु संघर्ष गर्दछन् । प्रधानमन्त्री कपमा त्यही पिच थियो जहाँ १३३ रनको लक्ष्य आर्मीविरुद्ध गण्डकीले पूरा गर्न सकेको थिएन् ।

तर क्यानडाका ब्याटरले नेपाली स्पिन सामु धेरै राम्रो ब्याटिङ गरेका थिए ।

रोहितको २० औं ओभरको चौथो बल अघि बढेर ठूलो सट खेल्न खोजेका परगत ५० रनमा लङअफमा ललितबाट क्याच आउट भए । तर चौथो विकेटका लागि हर्ष ठाकेरले निकोलससँग ६० रनको साझेदारी गरेपछि धेरैले नेपालको जितको आशा मारेका थिए । मैदानबाट दर्शक फर्किन सुरु गरेका थिए ।

एक समय क्यानडा ३२.५ ओभरमा १७४–३ को अवस्थामा थियो । कुशल मल्लले हर्षलाई ३२ रनमा बोल्ड गर्दैै झिनो आशा जगाए । त्यसपछि रोहितले आफ्नो उत्कृष्ट कप्तानी र बलिङमा नेपाललाई खेलमा फर्काउन सफल भए ।

ड्रिङ्क्स ब्रेक हुँदा क्यानडा ३५ ओभरमा १८५–४ मजबुत अवस्थामा थियो । निकोलस किर्तोन ६२ र श्रेयस मोभा ० क्रिजमा थिए । क्यानडालाई जितको लागि ९० बलमा ४० रन (प्रतिओभर २.६६०) आवश्यक हुँदा हातमा ६ विकेट थियो । दर्शकहरु स्टेडियम छाडेर हिँड्ने क्रम बढ्दै थिए ।

तर त्यो ड्रिङ्क्स ब्रेकपछि मोमेन्ट्स नेपालको पक्षमा मोडिन पुग्यो । रोहितको ३८ औं ओभरको तेस्रो बलमा विकेटकिपर श्रेयस मोभ्भा खराब सट खेल्दै १ रनमा क्याच आउट भए । क्यानडाका दुबै खेलाडी साद विन जफर र निकोलस देब्रे हाते ब्याटर थिए । रोहितले कप्तानीमा चलाखी गर्दै दुबै एन्डबाट अफस्पिनर लगाए । चोभार एन्डबाट आफू र टियुबाट पवन सर्राफलाई लगातार बलिङ गराए ।

दुबै एन्डबाट अफस्पिनर लगाएपछि क्यानडाका ब्याटर खुल्न सकेनन् । पवन सर्राफको ४१ औं ओभरको चौथो बलमा निकोलस ६८ रनमा बोल्ड भए । अफ स्टम्पको बल केहि टर्न भएपछि बोल्ड हुन पुगे । त्यो विकेट जितको टर्निङ प्वाइन्ट थियो ।

निकोलस आउट हुँदा क्यानडा ४०.४ ओभरमा १९५–६ को अवस्थामा थियो ।

त्यसपछि आउने क्यानडाका सबै बलर थिए । क्यानडाले २०१४ पछि ओडीआई मान्यता पाएको हो । त्यसैले यो स्तरमा खेल्ने अनुभव उनीहरुसँगै छैन । अर्कोतर्फ नेपालको जस्तो दर्शकमा पनि खेलेका छैनन् ।

खेलपछि क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले आफ्ना खेलाडीले नेपाली समर्थकमाथ दबाव लिएर खेलेको बताए । ‘केही खेलाडीले यो प्रकारको ठूलो मात्राको समर्थकले गर्दा प्रेसर अनुभव गरे,’ उनले भने, ‘हामीसँग राम्रा खेलाडी थिए तर हामीले यो प्रकारको वातावरणमा खेलेका थिएनौं । हामीले धेरै लामो समयदेखि ५० ओभरको खेल खेलेका पनि थिएनौं ।’

दबावमा रहेका उदय भगवानलाई रोहितले ६ रनमा बोल्ड आउट गरे । अफसाइडको बल उत्कृष्ट टर्न हुँदा उदयले कुनै चाल पाउन नसकी बोल्ड भएका थिए । लगत्तै अर्को ओभरको दोस्रो बलमा ललितले साद बिन जफरलाई आउट गरे । अफ स्टम्पको बलमा जोडदार अपिलमा अम्पायरले औंला उठाइदिए ।

त्यसपछि त्रिवि मैदानमा शान्त दर्शकको आवाज गुञ्जिएको थियो । स्टेडियम बाहिर पुगेका केही दर्शक पनि विकेट विकेट भन्दै खेलाडीलाई हौसला प्रदान गर्न फर्किएका थिए । ४७ औं ओभरको पाँचौं बलमा हेलिगर पनि २ रनमा ललितकै बलमा एलबीडब्लू धरापमा परे ।

तर अर्को ओभरको पहिलो बलमा शाहिद अहमाडले रोहितलाई चौका हानेपछि मात्रै १७ बलमा ९ रन जितको लागि चाहिएको थियो । चौथो बलमा उनले एक रन बटुले ।

पाँचौं बलमा ईश्वरजोत सोही अफ साइडको बल लेग साइमा गाएड गर्दै चौका बनाउन चाहन्थे । तर ब्याटमा कनेक्ट नभएपछि अफ स्टम्म उड्न पुग्यो । अनि नेपालले ७ रनको रोमाञ्चक जित हात पारेको थियो ।

एक समय १७३–३ को बलियो अवस्थाबाट क्यानडा २१६ रनमा अल आउट भएको थियो । त्यसबीचमा ४३ रन जोड्न ७ विकेट गुमाएको थियो । स्पिनरले भरपूर्ण फाइदा उठाए । विशेषगरि कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ र कप्तानी गरे । रोहितले ८.५ ओभरमा ८.५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए । रोहितले ओडीआईमा पहिलो पटक विकेट लिएका हुन् । यो उनको अन्तर्राष्ट्रिय कुनै पनि क्रिकेट करिअरको उच्च प्रदर्शन हो ।

रोहितको प्रशंसा गर्दै क्यानडाका प्रशिक्षक पुबुदुले भने, ‘रोहितको बलिङ निकै राम्रो थियो । उनले सही समयमा सही बलिङ गर्दा हामीले उनीविरुद्ध निकै रक्षात्मक क्रिकेट खेल्यौं । यो जितको क्रेडिट नेपालका बलर र विशेषतः रोहितलाई जान्छ ।’

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

नेपाल भर्सेस क्यानडा पुबुदु दसानायके रोहितकुमार पौडेल
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय