२६ माघ, काठमाडौं । ओपनर डेविड वार्नरको उत्कृष्ट ब्याटिङमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टी-२० आई खेलमा वेस्टइन्डिजलाई ११ रनले हराएको छ । योसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
जितको लागि २१४ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै २०२ रन बनायो । वेस्टइन्डिजका ओपनर ब्रेन्डन किंगले ३७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए । त्यस्तै जोनसन चाल्र्सले २५ बलमा ६ चौका र १ छक्कासहित ४२ रन बनाए ।
पहिलो विकेटका लागि जोनसन र ब्रेन्डनले ८.३ ओभरमा ८९ रनको गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछिका ब्याटर चल्न सकेनन् । जेसन होल्डर १५ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे ।
निकोलस पुरन १८, रोभम्यान पावेल १४, शाई होप १६ र आन्द्रे रसेल १ रनमा आउट भए । अष्ट्रेलियाका एडम जाम्पाले ३, मार्कस स्टोइनिसले २, जेसन बेहरनडोफ, ग्लेन म्याक्सवेल र सन एबोटले १–१ विकेट लिए ।
त्यसअघि होबार्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । ओपनर डेविड वार्नरले ३६ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ७० रन बनाए ।
वार्नर यो खेलसँगै टि२० आई, टेस्ट र ओडिआई तीनै शैलीमा १०० खेल खेल्ने पहिलो अष्ट्रेलियन खेलाडी पनि बनेका छन् । जोश इंग्लिस ३९, मिचेल मार्श १६, ग्लेन म्याक्सवेल १० र टिम डेविडले ३७ रन बनाए । वेस्टइन्डिजका आन्द्रे रसेलले ३ र अल्जारी जोशेफले २ विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो खेल मंगलबार हुनेछ ।
प्रतिक्रिया 4