+

नेपाली महिला खेलाडीलाई भाग्य बदल्न प्रदर्शनमा परिवर्तन आवश्यक

२०८० माघ  २६ गते २०:४९ २०८० माघ २६ गते २०:४९
नेपाली महिला खेलाडीलाई भाग्य बदल्न प्रदर्शनमा परिवर्तन आवश्यक

२६ माघ, काठमाडौं । नेपाली महिला क्रिकेटमा सधैं एउटै गुनासो सुनिन्छ, ‘हामीलाई केहि छैन र भएन ।’

हुन पनि हो । पुरुष टोलीको तुलनामा महिला खेलाडी हरेक कुरामा विभेदमा छन् । त्यो खेल होस् वा तलब, भत्ता वा उच्चस्तरीय प्रशिक्षक ।

परिवर्तन सम्भव छ । र त्यो आफैंबाट सुरुवात गर्नुपर्छ । पुरुष खेलाडीले जस्तै सेवा सुविधा र म्याच पाउन पहिला आफूले अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च प्रदर्शन गर्न आवश्यक छ । त्यसपछि कसैले रोक्न र छेक्न सक्ने छैनन् ।

उच्च प्रदर्शन गर्ने अवसर नेपाली महिला क्रिकेटरलाई आएको छ । शनिबारदेखि मलेसियामा सुरु हुने एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपाल पनि सहभागी छ । नेपालको समूह डी मा हङकङ, भुटान र माल्दिभ्स छन् ।

प्रतियोगितामा भने नेपालसहित १६ देशको सहभागीता छ । समूह ए मा थाईल्यान्ड, म्यानमार, कुवेत र सिंगापुर छन् । समूह बी मा युएई, चीन, ओमान र जापान छन् । समूह सी मा इन्डोनएसिया, मलेसिया, बहराइन र कतार छन् ।

हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप ।

पछिल्लो समय महिला टोलीको प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो छैन । विश्वकप छनोट र एसिया कप छनोट दुबैमा कमजोर प्रदर्शन गरेर बाहिँदै आएको छ । प्रदर्शन यतिसम्म खस्किएको छ कि नेपाल तान्जिनिया, मलेसिया र हङकङ जस्ता देशसँग सजिलै हार्ने गरेको छ ।

सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन थाले पनि हालसम्म उपाधि जितेको छैन । नतिजा नआउँदा आईसीसी र एसीसीले दिने अनुदान महिला टोलीको कम छ । प्रायोजक त झन महिला टोली भनेपछि लगानी गर्न नै चाहँदैनन् । त्यसैले महिला क्रिकेटरले राम्रो सेवा सुविधा नपाउनुमा क्यान र सकारको मात्रै होइन, खेलाडीको कमजोर प्रदर्शन पनि त्यतिनै जिम्मेवार छ ।

टी–२० क्रिकेटमा कुनै पनि भर हुँदैन । एक बल र छक्काले खेल मोडिन सक्छ । मैदानभित्र छिरेपछि टोलीको स्तर होइन प्रदर्शन तुलना गरिन्छ । चाहे शून्य मैदान भएको टोली होस् वा सयौं । लाखौं कमाउने होस् वा हजार । क्रिकेटमा सुविधा राम्रो पाउने होइन मैदानमा उत्कृष्ट खेल्न सक्नेले जित्ने हो । अनि सानो सानो अवसरले विस्तारै परिवर्तन गराउँछ ।

नेपाली खेलाडीको क्षमतामा कुनै कमी छैन । तर आफ्नो भूमिका र जिम्मेवारीबाट भने खेलमा चुक्दै आएका छन् । यदि नेपाल फाइनलमा पुग्न सक्छ भने आगामी दिनमा एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश जस्ता देशसँग मात्रै खेल्ने अवसर पाउने छैन । एसिया कपअघि तयारी खेलहरु पनि खेल्न पाउनेछ । अझ एसिया कपमा राम्रो गर्न सके निरन्तर टेस्ट टोलीहरुसँग सिरिज खेल्ने अवसरका ढोकाहरु खुल्नेछन् ।

पछिल्लो समय महिला फ्रेञ्चाइज लिगहरु पनि हुँदै आएका छन् । त्यहाँ राम्रो गर्न सके विदेशी फ्रेञ्चाइज लिगहरु राम्रो आर्थिक रुपमा टोलीमा सम्झौता गर्न सक्छन् । खेल, तलब र भत्ता सबै बढ्नेछन् । क्यानले पनि अन्तर्राष्ट्रिय प्रशिक्षक ल्याउन सक्छ ।

अर्कोतर्फ अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता हात पार्दा समर्थकमा लोकप्रियता बढ्छ । निजी क्षेत्रबाट महिला क्रिकेट र खेलाडी दुबैमा लगानी भित्रिन सक्छ । महँगा ब्यक्तिगत प्रायोजन पाउन सक्छन् ।

टी–२० विश्वकप अघि नेपालको पुरुष टोली पनि एसीसी र आईसीसीको सिमित प्रतियोगिता खेल्न बाध्य थियो । २०१० को डिभिजन फाइभको उपाधि जितेपछि नेपाली क्रिकेटमा विस्तारै माहोल बढेको थियो । त्यसपछि २०१४ मा टी–२० विश्वकप खेलेपछि नेपाली क्रिकेट खेलाडीको स्तर फेरिएको थियो । २०१८ मा ओडीआई मान्यता पाएपछि खेलाडीले राम्रो सेवा सुविधा र म्याचहरु पाउन थालेका हुन् ।

पछिल्लो समय एकपछि अर्को राम्रो प्रदर्शन गरेपछि पुरुष खेलाडीले बल्ल राम्रो सेवा सुविधा पाउन थालेका हुन् । आरोप र दोष लगाएर उम्किन भन्दापनि पाएको अवसरलाई भरपूर्ण फाइदा उठान आवश्यक देखिन्छ ।

कस्तो छ नेपालको टोली ?

सीता रानामगर, रुविना क्षेत्री र इन्दु बर्मा नेपालका प्रमुख हतियार हुन् । नेपाल फाइनल सम्म पुग्न यी तीन खेलाडीले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक पर्दछ ।

तीव्र गतिकी बलर कविता कुँवर र हिटर डली भ्टट पनि टोलीमा फर्किदा थप मजबुत बनेको छ । युवा अलराउन्डर पूजा महतो, ब्याटर सम्झना खड्का र तीव्र गतिका बलर आश्मिना कर्माचार्य आशालाग्दा खेलाडी हुन् । समग्रमा नेपालको टोली सन्तुलित छ ।

कमजोरी सुधारको अपेक्षा

यसअघिका प्रतियोगितामा १०० रन कटाउन संघर्ष गर्ने गरेको थियो । लगातार टिममा खेलाडी र ब्याटिङक्रम परिवर्तन, डट बल, बाउन्ड्री हान्न नसक्नु, खेलाडीले जिम्मेवारी नलिनु, दबाबमा खेल्न नसक्नु र टोली एक नहुनु जस्ता समस्या कमजोर प्रदर्शनका प्रमुख कारण थिए । तर यस पटक यी कमजोरी सुधार हुदै राम्रो गर्ने आशा गरिएको छ ।

त्यसको मुख्य कारण यस पटकदेखि प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनु हो । ८ टोली सहभागी प्रतियोगिता राउन्ड रोविनमा हुँदा सबै खेलाडीले राम्रो म्याच एक्स्पोजर पाएका छन् । कम्तिमा एउटा खेलाडीले प्रधानमन्त्री कपमा ७ खेल खेल्ने अवसर पाएका थिए ।

फाइनलको दाबेदार को ?

फाइनल पुग्दै एसिया कप खेल्ने दाबेदारमा थाइल्यान्ड र युएई अग्रस्थानमा छन् । त्यसपछि नेपाल र हङकङ पनि देखिन्छन् ।

नेपाल फाइनलमा पुग्न थाइल्यान्ड र युएई मध्य एकलाई पछि पार्नु पर्ने हुन्छ ।

नेपालको खेल तालिका र समय

माघ २७ – (फेब्रुअरी १०) : नेपालविरुद्ध हङकङ, बिहान ७ः१५
माघ २८ – (फेब्रुअरी ११ ) : नेपालविरुद्ध भुटान, बिहान ७ः१५
फागुन १ – (फेब्रुअरी १३) : नेपालविरुद्ध माल्दिभ्स, बिहान ११ः१५

नेपालको टोली 

इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झ्ना खड्का, रोमा थापा, डली भट्ट र अश्मिना कर्माचार्य ।

एसीसी महिला क्रिकेट नेपाल क्रिकेट संघ क्यान
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय