
भाषा मान्छे मात्रै होइन, कुनै पनि जीवजन्तुको लागि समेत एकअर्कासँग सञ्चार गर्ने एउटा महत्वपूर्ण माध्यम हो। यसमा दुईमत छैन; हुनुहुँदैन। हामी बाँचेको समयमा कुनै बेला सायद, सान गरेरै पनि सञ्चार आदानप्रदान हुन्थ्यो होला! तर, अहिले एउटा भाषा जानेर मात्र पनि हुँदैन ।
कुनै बेला थियो, यही समाजमा घरबाहिर काम गर्न खोज्दा, गैर-सरकारी क्षेत्रहरूमा हाम्रो मातृभाषा भन्दा अंग्रेजी जान्नेलाई बढी महत्व दिइन्थ्यो। कतिपय समय त ती अंग्रेजीबाजहरूले, हामी नेपालीमा बोल्ने/लेख्नेहरूले मिहिनेत गरेर लेखेको सामग्रीहरू समेत आफैंले लेखेको जस्तो गरेर, विना क्रेडिट चलाउन धक या लाज पटक्कै मान्दैनथे। बरु उल्टै, नेपाली बोल्ने, लेख्नेहरूलाई अंग्रेजी नजान्नु ठूलै कसुर हो जस्तो बनाइदिन्थे।
विश्वव्यापीकरणको यो समयमा, मातृभाषा र अंग्रेजी मात्रै जानेर पनि नपुग्ने भइसक्यो। यहाँ त्यस्तै अनुभव लेख्न गइरहेछु।
केही वर्ष अगाडि, केही समयको लागि मेरो बसाइ अमेरिका थियो। अमेरिकामा पनि टेक्सस; जहाँ मेक्सिकनहरूको जनसंख्या धेरै थियो। मेक्सिकन र हामी साउथ एशियनहरूको अनुहारको बनोटमा धेरै मेल खान्छ। त्यसको परिणाम, हामी जस्ताले धेरै भोग्नुपर्छ। कारण, मेक्सिकनहरूको मनोविज्ञान कस्तो देखिने भने, मेक्सिकोबाट आएर अमेरिकन भइसकेको जस्तो व्यवहार गर्ने, आफ्नो भाषा नबोल्ने भनेर उनीहरू रिसाउने।
“आब्ला स्प्यानोल ?” (तिमी स्प्यानिश बोल्छ्यौ?) उनीहरू सोद्धथे।
“नो, आब्लो नो स्प्यानोल !” (अहँ, म स्प्यानिश बोल्दिनँ !) मेरो जवाफ हुन्थ्यो। “पोर्के?” (किन?) शरीरको भाषा र अनुहारको भावभंगिमाले बताउँथ्यो, प्रश्नकर्ता मेरो जवाफ पाएर खुशी छैन। दिनको नभए पनि हप्ताको धेरै पटक सवाल–जवाफ गरिने प्रश्न र उत्तर यस्तै हुन्थ्यो।
भाषाको कारणले वाक्क भएर स्प्यानिश सिक्छु भनेर ‘स्प्यानिश फर डमी’ भन्ने किताब पनि किनेर ल्याएँ; तर कहाँ सजिलो हुन्थ्यो र ! किताब किन्ने पैसा मात्रै खेर गयो। त्यतिबेला नेपालमा हुँदा अंग्रेजी भटभटाउन नसकेर ठाउँ कुठाउँमा बाईकट भइन्थ्यो! अंग्रेजको देशमा गएर स्प्यानिश बोल्न नसकेकोमा दिमाग तताउनुपर्थ्यो। त्यहाँ बस्ने मेक्सिकनहरू बीसौं वर्ष बसे पनि अंग्रेजी बोल्न नजान्ने; तर पनि मजाले काम गरेर बस्न सक्ने।
धेरै पटक त “आब्लो स्प्यानोल?” लाई हँस्यौलीमा उडाउँथें, अनि कहिलेकाहीं अति भएपछि प्रतिकार गर्दै खनिन्थें, “म स्प्यानिश बोल्दिनँ, किन बोल्ने यहाँ स्प्यानिश? यो मेक्सिको हो र?” तर आफूलाई थाहा छ, “यो मेक्सीको हो र?” भन्ने प्रश्न अहिलेको समयमा “पोलिटिकल्ली करेक्ट” होइन। किनकि, स्प्यानिश भाषा युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, सेन्ट्रल अमेरिका र अफ्रिकाका केही देशहरु समेत गरी थूप्रै राष्ट्रमा बोलिन्छन्। त्यसैले पनि होला, स्प्यानिश बोल्ने मानिसहरु अमेरिका भित्रेपछि पनि यहाँ पनि सबैले स्प्यानिश जानेकै हुन्छन् भन्ने भ्रममा पर्छन् कि ?
स्प्यानिश नजानेकै कारणले कहिलेकाहीं रमाइला घटनाहरु पनि घटेका छन् भने कहिले अनावश्यक रूपमै अर्काको रिस खप्नु परेको घटनाहरू पनि थिए। यसैमध्ये रमाइलो घटनाको वर्णन गर्न मन लाग्यो। एक दिन ब्लकबष्टरमा डिभिडी लिने लाइनमा खडा थिएँ, लाइन धेरै लामो थियो। काउन्टरमा पुगेपछि, त्यहाँ काम गर्ने व्यक्तिले बड–बड–बड गर्दै झन्डै दुई मिनेटसम्म सासै नफेरी के के भन्यो; मैले केही प्रतिक्रिया नजनाई उसको मुखमा ट्वाल्ल परेर हेरिरहें।
उसको कुरा सिद्धिएपछि मैले अंग्रेजीमा भट्याएँ, “म स्प्यानिश बुझ्दिनँ !” मेरो जवाफ सुनेर, मेरो पछाडि लाइनमा खडा भएकाहरु गलल्ल हाँस्न थाले ! त्यो देखेर त्यो स्प्यानिश भट्याउने कामदारको गाला लाजले पाकेको आलुबखडा जस्तो भयो। अनि उसले मलाई “सरी” भन्यो; म “केही छैन” भन्दै बाटो लागें। जन्मले नै दिएको कालो कपाल, गहुँगोरो वर्ण अनि मेक्सिकनहरुको जस्तो शारीरिक बनोट (उनीहरुकै बयानमा) यसैले गर्दा नै, कसैलाई “हेलो” भन्यो भने “ओला!” भन्ने जवाफ पाइन्थ्यो; “थ्यान्क यु” भन्यो भने “दिनारा !” भनेर जान्थे।
यो भाषाको दबाब नेपालमा पनि कन्भेन्ट पढ्नेहरुसँग काम गर्दा उत्तिकै हुन्थ्यो। आफू परियो, सात कक्षासम्मको पढाइ बाबुले नै घरमा पढाएर एकैपटक आठ कक्षामा स्कुल भर्ना भएर जम्माजम्मी तीन वर्ष मात्रै स्कुल पढेको मान्छे ! तर भिड्नुपर्ने अंग्रेजी स्कुलमा पढेका र विदेशबाट पढेर आएकाहरुसँग !
अनि कामको प्रकृति पनि त्यस्तै थियो, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुले पनि हामी जस्ता कनिकुथी अंग्रेजी बोल्नेहरुलाई उतिबेला मान्छे नै नगन्ने ! उनीहरुलाई त खरर्र अंग्रेजी बोल्ने मान्छे चाहिने ! कसरी मिलोस् र कुरा ? अहिले फेरि उल्टो भएको छ, कहिलेकाहीं त लाग्थ्यो; “आब्ला नो स्प्यानोल !” भन्ने ठूलो प्लेट छातीमा झुन्ड्याएर हिंड्ने हो कि भनेर! कहिलेकाहीं भने, स्प्यानिश बोल्न जानेको भए परेको बेला अरुलाई मद्दत गर्न सकिन्थ्यो भन्ने पनि लाग्थ्यो।
जस्तो कि, आफूले हप्ताको एकदिन स्वयंसेवा गर्न जाने अस्पताल जहाँको झन्डै नब्बे प्रतिशत व्यक्तिहरू नै अंग्रेजी मात्रै बोल्थे; त्यहाँ एक दिन एउटा बिरामीको कोठामा एउटा मान्छे आफूलाई कुरेर बसेको देखें, किन रहेछ भनेर बुझ्न जाँदा उसको प्रश्न आयो, “क्यान यु इन्टरप्रेट फर हिम?” (उसको लागि भाषा उल्था गर्ने काम गरिदिन सक्छौ ?) मैले सोधें, “कुन भाषा ?” उसको जवाफ थियो, “उ अंग्रेजीको एउटै शब्द पनि जान्दैन, त्यसैले स्प्यानिशबाट अंग्रेजीमा उल्था गर्नु पर्यो!”
ए बाबा, कति मात्रै ? कहाँ मात्रै बयान दिंदै हिंडु “म स्प्यानिश बोल्दिनँ” भनेर ! त्यसो भन्यो भने पनि सुझाव आउँथ्यो, “धेरै भाषा जानेको राम्रै हो नि! तिमी किन स्प्यानिश सिक्दिनौ?” भनेर ! म जवाफ दिन्थें, मलाई अंग्रेजी बाहेक नेपाली र हिन्दी पनि बोल्न आउँछ, मैले फेरि अर्को भाषा किन सिक्नुपर्ने ?” तर मनमा भने लाग्छ, अर्काको भाषा सिक्न त्यति सजिलो हुनेभए त स्प्यानिश मात्रै किन, संसारका थुप्रै भाषाहरु सिकिसक्थें ! तर के गर्नु “बुढो सुगा” लाई “गोपीकृष्ण कहो!” सिकाउन त्यति सजिलो हुने भएको भए त्यो उखान नै बन्दैनथ्यो होला !
ती सबै केही वर्ष अगाडिको कुरा भयो। अहिले फेरि, अर्को भाषाको मारमा पर्ने गरेकी छु। डेढ महिना अगाडि, स्वयम्भूको ठाडो भर्याङ चढेर मन्दिर पुग्ने बेलामा, त्यहाँको पैसा लिने काउन्टरको मान्छेले, ‘ओ, हेलो !’ भनेर बोलाए। मसँग भएका अरूहरू माथि पुगिसकेका थिए, मैले फर्किएर हेरें। त्यो बोलाउने व्यक्तिले मलाई विदेशी ठानेर पैसा तिर्न बोलाएका रहेछन्।
त्यो त लौ झुक्किए भन्नु। केही समय अगाडि, एउटा निजी अस्पतालमा झनै रमाइलो घटना घटेको थियो। जचाउन गएको, विभिन्न परीक्षणको क्रममा नर्सले मसँग अंग्रेजीमा बोलेको बोल्यै गरिन्। मलाई अचम्म त लाग्यो तर केही नभनी मैले पनि अंग्रेजीमै जवाफ दिइरहें। इसीजी गर्ने बेलामा डक्टरले सोधेको कुरा मैले नेपालीमा भनें। डक्टरले आश्चर्य मान्दै, ‘ल… तपाईं त नेपाली बोल्नुहुँदोरहेछ !’ भने । मैले, किन र ? भनेर सोध्दा उनीहरूले मलाई जोर्डनियन भन्ठानेको रे ! अनुहार हेरेर व्यवहार गर्नेहरूको भीडमा जहिले पनि स्पष्टीकरण दिनुपर्ने कस्तो अनुहार बोकेर जन्मिएछु! कमसेकम मेरो नाम पढेर त त्यसरी नसोच्नुपर्ने !
कुनैबेला ट्याक्सी ड्राइभरले समेत, ‘दिदी त कति राम्रो नेपाली बोल्नुहुँदोरहेछ !’ भनेका छन्। म केही हप्ता अगाडि, बसन्तपुरमा कसैलाई कुरेर बसिरहेकी थिएँ, ‘आर यु अर्जेन्टेनियन ?’ भन्दै पछि लाग्न आइसकेका थिए। यस्ता अनुभव थुप्रै छन् ।
कहिले त भाषा नजानेको कारणले पछाडि परिन्छ/पारिन्छ; तर, भाषा सिक्न त्यति सजिलो पनि त हुँदैन ! आजको पुस्ताले, आफ्नो पेशागत जीवनलाई खँदिलो बनाउने हो भने, अंग्रेजी बाहेक पनि अर्को कुनै भाषा स्प्यानिश, चाइनिज, फ्रेन्चमध्ये एक सिक्न सक्यो भने आफैंलाई सजिलो हुनेछ ।
प्रतिक्रिया 4