+
+

बागलुङ नगरपालिकाले बेवारिसे कुकुर राख्न डग होस्टल बनाउँदै

नगरपालिकाको ३५ र गण्डकी प्रदेशको ६५ लाख रुपैयाँ लगानी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १८:४०

२७ माघ, पोखरा । बागलुङ नगरपालिकाले पनि बेवारिसे कुकुर व्यवस्थापन गर्न अनेक उपाय लगायो । घरमा पालिएका कुकुरलाई अनिवार्य दर्ताको नियम ल्याएर नियमन गर्न खोज्यो, बेवारिसे कुकुरको बन्ध्याकरण पनि गर्‍यो ।

तर, सडकमा बेवारिसे कुकुरको संख्या घटेन । बर्सेनि बजार क्षेत्रमा कुकुरको संख्या बढ्दै जान थाल्यो । ‘पछिल्लो २ वर्षको अवधिमा मात्रै १५ सय जनाभन्दा बढी मान्छेलाई कुकुरले टोकिसकेको हामीसँग रिपोर्ट छ’, बागलुङ नगरका मेयर वसन्तकुमार श्रेष्ठ भन्छन्, ‘कुकुरले लखेट्दा सवारी दुर्घटना भएर मान्छेको ज्यानै पनि गएको छ ।’

जति उपाय अपनाउँदा पनि सडकमा कुकुरको संख्या नघट्दा हैरानी खेप्नुपरेपछि नगरपालिकाले अब नयाँ योजना अघि सारेको छ, ‘कुकुर (आवास गृह) होस्टल बनाउने र बेवारिसे कुकुरलाई एकीकृत गरेर व्यवस्थापन गर्ने ।’

चालु आर्थिक वर्षकोे नीति तथा कार्यक्रममै उल्लेख गरेर बेवारिसे कुकुर व्यवस्थापन गर्न कुकुर होस्टल अवधारणा ल्याइएको मेयर श्रेष्ठले बताए ।

‘कुकुरले दुख दियो भनेर मार्ने कुरा पनि भएन । कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर खोज्दै जाँदा होस्टल पनि हुने रहेछ भन्ने थाहा भयो’, उनले भने, ‘कुकुरप्रेमीहरुले निजी तवरबाट होस्टल खोलेको भए पनि पालिकास्तरबाट यो अभ्यास नभएको रहेछ ।’

पालिकाले चालु आर्थिक वर्षभित्रै सुविधासम्पन्न कुकुर होस्टल बनाउने गरी तयारी भइसकेको मेयर श्रेष्ठले जानकारी दिए । बागलुङ नगरपालिका वडा नं. १३, कालाखोलामा कुकुर होस्टल बनाउन एक करोड रुपैयाँ लाग्ने उनको भनाइ छ ।

कुकुर होस्टलका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले ३५ लाख र गण्डकी प्रदेशले ६५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

मेयर श्रेष्ठका अनुसार अहिले पनि बागलुङ मुख्य बजार क्षेत्रमा करिब ५ सय वटा बेवारिसे कुकुर छन् । ‘ती सबै बेवारिसे कुकुरलाई भ्यासेक्टोमी गरिसकेका छौं । तर, संख्या बढ्न छोडेको देखिएन’, उनले भने, ‘घरपालुवाबाट जन्मेका कुकुरका बच्चा पनि सडकमै छोडिरहेका छन् । रोगी, बिरामी कुकुर पनि त्यसै छोड्ने गरेको पाइयो ।’

त्यसरी रोेगी तथा बिरामी कुकुर खुला रुपमा सडकमा छाड्दा बजार अव्यवस्थित देखिने र रोग पनि फैलिने जोखिम बढेकाले डग होस्टल (कुकर आवास गृह) उपयुक्त हुने विश्वास नगरपालिकाको छ । ‘ट्यागिक, भ्यासेक्टोमी लगायत त अल्पकालीन उपाय थिए । दीर्घकालीन रुपमा योजना बनाउँदाचाहिँ होस्टल नै ठीक हुने देखियो’, मेयर श्रेष्ठले भने ।

होस्टलमा राखिएका कुकुरका लागि पहिलो चरणमा व्यवस्थित खोर बनाइने र त्यहाँ ल्याइएका कुकुर नियमित खानपिन, स्याहार, औषधिउपचार गरिने मेयर श्रेष्ठले बताए ।

‘कुकुरलाई माया गर्नेहरु पनि हुनुहुन्छ । उहाँहरुले दान दिने, स्याहार गर्नेमा सहयोग पुर्‍याउनुहुनेछ’, उनले भने, ‘यहाँ ल्याएका कुकुरलाई बेलाबेलामा ट्रिटमेन्ट गर्ने, खेलाउने, डुलाउने योजना छ ।’

व्यस्तताका कारण आफूखुसी होस्टलमा कुकुर राख्न भने निश्चित रकम तिनुपर्नेछ । त्यहाँ भएका कुकुर कसैले लैजान चाहेमा पनि किन्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले कुकुर व्यवस्थापन समिति बनाएर कर्मचारी नै खटाउने मेयर श्रेष्ठले जानकारी दिए ।

बेवारिसे तथा घरपालुवा कुकुर व्यवस्थापन र नियमन गर्न नगरपालिकाले चालु आर्थिक वर्षदेखि कुकुर पाल्न अनिवार्य दर्ताको नियमसमेत ल्याएको छ । जसका लागि कुकुरधनीले २ सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्छ ।

दर्ता भएका कुकुरलाई एक हजार रुपैयाँ बराबरको निशुल्क सेवा दर्ता भएका ती कुकुरको मृत्यु भएमा नगरपालिकाले नै व्यवस्थापन गरिदिने गरेको छ । पालिकाले नगर क्षेत्रभित्र रहेका छाडा कुकुर व्यवस्थापन गर्न ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ नै बनाएको छ ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?