+
+

पाकिस्तानमा नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य, इमरानको पार्टी आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते ९:४२

२८ माघ, काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ ।

यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले भने सबैभन्दा धेरै सिट जितेको छ ।

पाकिस्तानका मिडियाहरुका अनुसार पीटीआईले ९२ सिट जितेको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नवाज शरीफको पार्टी (पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ७३ र बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट जितेको छ ।

पाकिस्तानको नेशनल एसेम्बलीमा कूल ३३६ सिट छन् । २६५ सिटका लागि बिहीबार निर्वाचन भएको थियो । ७० सिट आरक्षण तोकिएको छ । एक सिटको चुनाव स्थगित गरिएको थियो । स्थगित भएको स्थानमा आगामी १५ फेब्रुअरीमा मतदान हुनेछ ।

सरकार बनाउन १३४ सिट जित्नुपर्नेमा कसैले पनि एकल बहुमत पुर्‍याउन नसकेपछि मिलिजुली सरकार बनाउने तयारी सुरु भइसकेको छ । यसअघि तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफले गठबन्धन सरकार बनाउन आह्वान गरिसकेका छन् ।

शरीफको पार्टी पीएमएल-एन र भुट्टोको पार्टी पीपीपीका नेताहरुबीच शनिबार इस्लामावादमा बैठक समेत भएको थियो । नवाज शरीफका भाइ एवम् पूर्वप्रधानमन्त्री शहबाज शरीफले बिलावल भुट्टो र उनका बुवासँग छलफल गरेका थिए ।

यसअघि पीपीपी नेता एवम् पूर्वविदेशमन्त्री बिलावल भुट्टोले जिओ न्यूजसँग कुरा गर्दै आफूहरुको साथविना पाकिस्तानमा सरकार बन्न सम्भव नभएको बताएका थिए ।

शरीफले शरीफले मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) लगायत साना दललाई समेटेर सरकार गठनको प्रयास जारी राखेका छन् । यीमध्ये एमक्यूएमले १७ सिट जितेको छ । सो पार्टीका नेताहरु शरीफलाई भेट्न इस्लामावाद गएको पाकिस्तानका मिडियाहरुले उल्लेख गरेका छन् । यसबाहेक आईपीपी, जेयूआई र केही स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाउने गृहकार्य पनि शरीफले गरेका छन् । शनिबारसम्म तीन जना स्वतन्त्र सांसदले शरीफको पार्टीमा सामेल भएको घोषणा गरिसकेका छन् ।

इमरान खानको पार्टी आन्दोलनमा

धेरैको अनुमान पाकिस्तानको आम निर्वाचनमा इमरान खानको पार्टी हार्छ र नवाज शरीफको पार्टीले बहुमत ल्याउँछ भन्ने थियो । किनभने इमरान खान सहितका वरिष्ठ नेताहरुलाई सैनिक समर्थित सरकारले भ्रष्टाचार आरोपमा १४ वर्षका लागि जेलमा राखेको छ । उनको पार्टी पीटीआईलाई चुनाव लड्नसमेत प्रतिबन्ध लगाइएको छ । तर स्वतन्त्र उम्मेदवारी दिएका इमरान खानका नेता कार्यकर्ताहरुले नै सबैभन्दा धेरै सिट जितेर निर्वाचन सर्वेक्षण फेल बनाइदिएका छन् ।

दोस्रो स्थानमा रहेको नवाज शरीफको पार्टी पीएमएल-एनले मिलिजुली सरकार बनाउने तयारी जारी राखेको बेला इमरान खान नेतृत्वको पीटीआई भने आन्दोलनमा होमिएको छ । आफूहरुले बहुमत सिट जिते पनि मतगणनामा धाँधली गरेर हराइएको भन्दै पीटीआई आन्दोलनमा होमिएको हो ।

पीटीआई कार्यकर्ताहरुले लाहोर, फैसलाबाद, रावलपिण्डी, मुल्तान, बहाववलपुर, डेरा गाजी खान र गुजरावालामा विरोध प्रदर्शन सुरु गरिसकेका छन् । उनीहरुले आइतबार दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

पीटीआईले जनादेश लुट्नेहरुविरुद्ध पूरै दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शन गर्ने एक्समा लेखेको छ ।

मतदान सम्पन्न भएको चार दिन भइसक्दा पनि सबै क्षेत्रको मत परिणाम आइसकेको छैन । २६५ सिटमध्ये २५७ सिटको मात्र नतिजा सार्वजनिक भएको छ । अब परिणाम आउन बाँकी बलुचिस्तान क्षेत्रका सिटको हो ।

धाँधली गर्दै मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरिएको भन्दै इमरान खान नेतृत्वको पीटीआईका कार्यकर्ताहरुले मतगणना स्थल बाहिर विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?