
२९ माघ, अष्ट्रेलिया । परराष्ट्रमन्त्री एनपी साउदले सरकार सधैं प्रवासी नेपालीहरूको साथमा रहेको बताएका छन् । सोमबार अष्ट्रेलियाको राजधानी क्यानबेरामा जनसम्पर्क समिति क्यानबेराले आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले विदेशमा सिकेको सीप र ज्ञानलाई आफ्नो जन्मभूमिमा लगाउन आग्रह गरे ।
उनले गैरआवासीय नेपालीलाई नेपालसँग जोड्नका लागि नीति नियममा सुधार गर्न सरकार तयार रहेको बताए । ‘विदेशमा रहेका नेपालीहरूलाई पासपोर्ट र गैरआवासीय नेपाली नागरिकता दिन सरकारले कुनै कन्जुसी गरेको छैन,’ उनले भने, ‘कुनै समय प्राविधिक वा प्रशासनिक झन्झट आयो भने हामी त्यसलाई बिस्तारै हल गर्नेछौं ।’
उनले अष्ट्रेलियामा रहेका नेपालीहरुले दूतावासबाट छिटो छरितो सेवा नपाएको गुनासो आउने गरेको आफूले थाहा पाएको भन्दै समस्या समाधानमा पहल गर्ने आश्वासन पनि उनले दिए ।
कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफूले १८ महिनाको कार्यकालमा धेरै नयाँ काम गरेको जानकारी दिंदै नेपालीहरूको सल्लाह र सुझाव अनुसार नै अघि बढ्ने बताए ।
प्रतिक्रिया 4