
काठमाडौं । खेम सेन्चुरी र एलिना चौहानको स्वरमा रहेको गीत ‘कट्टा हान्दिन्छु’को विवाद प्रतिलिपि अधिकार रजिष्टार कार्यालयसम्म पुगेको छ । ‘कट्टा हान्दिन्छु’ बोलकै आफ्नो गीतबाट उक्त गीत चोरी भएको भन्दै गायक विश्वराम कार्कीले उजुरी दिएका छन् ।
विवाद मिलाउन दुवै पक्षलाई मंगलबार छलफलका लागि बोलाइएको कार्यालयका सूचना अधिकारी सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।
‘हामीलाई निवेदन प्राप्त भएको छ तर दर्ता भइसकेको छैन । दुवै पक्षबीच छलफलको निष्कर्ष के आउँछ, सोहीअनुसार हामी अघि बढ्छौं,’ अधिकारीले भने, ‘मिलापत्र भएन भने निवेदन दर्ता गरेर टेकु प्रहरी परिसर (जिल्ला प्रहरी परिसर, काठमाडौं)मा पठाउँछौं ।’
प्राप्त निवेदनमा कार्कीले पुरानो गीत आफ्नै भएको तर उल्टै आफूलाई चोरीको आरोप लगाएर मानसिक यातना दिइएको उल्लेख छ । आफ्नो गीत हुबहु नक्कल गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझीको युट्युब च्यानलमा गीत रिलिज गरिएको निवेदनमा उल्लेख छ ।
दुवै पक्षबीच मिलापत्र नभए प्रहरी हुँदै अदालतसम्म मुद्दा पुग्न सक्ने अधिकारीले बताए । एलिना र खेमको स्वरमा तीन साताअघि ‘कट्टा हान्दिन्छु’ गीत रिलिज भएको हो । उक्त गीत रिलिजपछि ११ दिनअघि विश्वरामले ‘कट्टा हान्दिन्छु गीत रिलिज गरेका थिए ।
प्रतिलिपि रजिष्टार कार्यालयका अनुसार पछिल्लो समय संगीतको प्रतिलिपि अधिकार हननका उजुरी प्राप्त हुने क्रम बढ्दो छ । अधिकांश मिलापत्रमै टुंगिने र केहीलाई मात्र प्रहरीकहाँ पठाउने गरिएको छ ।
प्रतिक्रिया 4