
१ फागुन, काठमाडौ । २८ भदौ २०७८ मा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा ‘नमस्ते पे’ नामक अनलाइन भुक्तानी प्रणाली सुरु हुँदा धेरैले सोचेका थिए यसले निजी क्षेत्रका प्रतिस्पर्धीलाई धेरै पछि पार्नेछ ।
नेपाली बजारमा ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे लगायतका डिजिटल वालेटहरु परिचित भइसकेको अवस्थामा करिब ४ वर्षको तयारीपछि करोडौं रुपैयाँ लगानीमा ‘नमस्ते पे’ सुरु हुँदा मोबाइल बैंकिङमा नयाँ आयाम थपिने अपेक्षा थियो ।
टेलिकमकै सक्रियतामा ठूलो लगानीमा बनाएको एप भएकाले यसको सेवा विशिष्ट हुने दाबी गरिएको थियो । तर, दाबी गरेजस्तो भएन । बरु ‘नमस्ते पे’ धेरै प्रयोगकर्ता नपाएर सञ्चालन खर्च समेत जुटाउन नसक्ने अवस्थामा पुगेको छ ।
यो वालेटले स्थापना हुँदादेखि नै राम्रो संकेत देखाएन । सार्वजनिक भएलगत्तै एप डाउनलोड नहुने, डाउनलोड भएपनि नखुल्ने, भुक्तानी गर्ने अप्सन नै नभेटिने समस्या देखिएका थिए ।
नयाँ प्रणालीमा समस्या देखिनु नौलो थिएन । तर, लामो समयसम्म कम्पनीले देखिएका समस्या समाधान गर्न चासो देखाएन । वालेटमा डिजिटल भुक्तानीका एकपछि अर्को सेवा जोड्न र राखेका सेवा चुस्त र भरपर्दो बनाउन काम नै गरिएन ।
यही कारण सरकारी स्वामित्वको वालेट चलाउन चाहने उपभोक्ताले निजी सेवा प्रदायक वालेटको विकल्पमा नमस्ते पे प्रयोग गर्ने अवस्था नै रहेन । करिब ३० करोड रूपैयाँ लगानी हुँदा पनि कम्पनीले प्रभावकारी सेवा दिन सकेको छैन ।
नमस्ते–पेमा मोबाइल क्युआर कोड पेमेन्ट, रिजार्च, बिजुली, काठमाडौंमा खानेपानीको बिल, टेलिफोन तथा इन्टरनेटको बिल, बैंक तथा वालेट ट्रान्सफर, एयर टिकट बुकिङ, रेमिट्यान्स लगायतका सेवा राखिएका छन् ।
बस टिकेटिङ, बीमाको प्रिमियम भुक्तानी, होटल बुकिङ, सिनेमा हलको सिट बुकिङ र डिम्याट भुक्तानीजस्ता सेवा जोडिएको छैन । अस्पतालको टिकट खरिद र शैक्षिक संस्थाको शुल्क तिर्ने सुविधा पनि छैन ।
सेवा सञ्चालन भएको साढे २ वर्ष हुँदा पनि नमस्ते पे का ग्राहक जम्मा १ लाख भन्दा बढी छन्, जबकि नेपाल टेलिकमको मोवाइल प्रयोगकर्ता नै २ करोड ८ लाख ८७ हजार छन् ।
नेपाल डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणराज पोखरेल नमस्ते पे एप मोबाइलमा राखेका ग्राहकलाई प्रयोग गर्न आकर्षित गर्न केही अफर दिनुपर्ने बताउँछन् । ‘अरु कम्पनीले अफर दिन्छन्, हामीले अफर दिएनौं भने ग्राहकले सेवा प्रयोग गर्दैनन्’, उनले भने, ‘ग्राहकलाई वालेटमा सक्रिय राख्न नै चुनौती छ ।’

टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको सहायक कम्पनी ‘नेपाल डिजिटल पेमेन्ट कम्पनी’ नै खोलेर ‘नमस्ते–पे’ ल्याएको थियो । कम्पनीमा ६२ प्रतिशत टेलिकम र ३८ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकको सेयर पूँजी छ ।
सुरक्षा जोखिम बढ्ने भन्दै अहिलेसम्म अधिकांश बैंक तथा वित्तीय संस्था नमस्ते पे को प्रणालीमा सोझै जोडिएका छैनन् । कम्पनीका अनुसार अहिलेसम्म ७ वटा बैंक तथा वित्तीय संस्था मात्रै जोडिएका छन् ।
२० वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र नेपाल बैंक लिमिटेड र लक्ष्मी बैंक मात्रै प्रणालीसँग जोडिएका छन् । १७ विकास बैैंकमध्ये ज्योति विकास बैंक मात्रै नमस्ते पे र १७ वटा फाइनान्स कम्पनीमध्ये मञ्जु श्री फाइनान्सले मात्रै नमस्ते पेको प्रणालीसँग कनेक्ट गरेको छ ।
यी बाहेकका बैंक तथा वित्तीय संस्थाको खाताबाट नमस्ते पे वालेटमा पैसा ल्याउन (लोड गर्न) समेत झञ्झट छ । सोझै बैंकको पैसा वालेटमा ल्याउन समेत नपाइने भएपछि उपभोक्ताहरु नमस्ते पेमा आकर्षित छैनन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेल वालेटमा बैंकहरु नजोडिएपनि इन्टरनेट बैंकिङमार्फत वालेटमा पैसा लोड गर्न मिल्ने बनाइएको र त्यसको शुल्क कम्पनीले नै तिर्ने गरेको बताउँछन् ।
कम्पनीमा अहिले २६ जना कर्मचारी कार्यरत छन् । सार्वजनिक वित्तीय विवरणअनुसार यो कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा १ करोड ५४ लाख ३९ हजार रुपैयाँ सेवा शुल्कबापत आम्दानी गरेको थियो । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा ७६ लाख १६ हजार रुपैयाँ सेवा शुल्क आम्दानी गरेको छ ।
कम्पनीले बैंक खातामा रहेको २५ करोड ५० लाख रुपैयाँ नगद मौज्दातबाट गत वर्ष २ करोड ९५ लाख र यो वर्षको ६ महिनामा १ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अन्य आय गत वर्ष ४३ हजार र यो वर्षको पहिलो ६ महिनामा ५४ हजार रुपैयाँ भएको देखिन्छ ।
तर, कम्पनीले गत वर्ष कर्मचारी व्यवस्थापनमा १ करोड ९० लाख र चालु आर्थिक वर्षको ६ महिनामा १ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ । यस हिसाबले कम्पनीले सेवा सञ्चालनबाट कर्मचारीको तलब खुवाउन समेत सकेको छैन ।
अझ कम्पनीले गत वर्ष सेवा सञ्चालन बापत २ करोड ३९ लाख खर्च गरेको थियो भने यो वर्ष ६ महिनामै १ कारेड १६ लाख खर्चिसकेको छ ।
कम्पनी स्थापना गर्दा जम्मा गरिएको ४० करोडमध्ये २५ करोड रुपैयाँ बैंकमा रहँदा व्याज आम्दानी भइरहेपनि व्याजको आम्दानीभन्दा ठूलो खर्च कम्पनीले व्यापार प्रवर्द्धन र बजारीकरण शीर्षकमा गरेको छ । कम्पनीले गत वर्ष ३ करोड १२ लाख रुपैयाँ मार्केटिङमा खर्चेको थियो भने यो वर्ष ६ महिनामा ५४ लाख ७८ हजार खर्चिसकेको छ । मार्केटिङमा भएको यति ठूलो खर्चको प्रभावले सेवाग्राहीको संख्या र आय वृद्धिमा खासै योगदान गरेको भने देखिंदैन ।
कम्पनीले गत वर्ष कुल ५ करोड ३२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो भने यो वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा सञ्चालन घाटा २ करोड ३५ लाख छ । कम्पनी अहिलेसम्म १० करोड ७४ लाख ६ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा छ । कम्पनीले वर्षैसाल इक्विटीको बैंक व्याजबाट २ करोडभन्दा बढी र सानो मात्रामा भएपनि वर्षैसाल सेवा शुल्कबाट कमाएका कारण अहिलेसम्म साढे १० करोडभन्दा बढी आय गरिसकेको छ ।
अहिले बैंक मौज्दातसहित चल सम्पत्ति करिब २९ करोड २४ को अचल सम्पत्ति भएपनि कम्पनीमाथि १७ करोड ५ लाखको दायित्व छ । खरिद गरिएका विभिन्न प्रणालीहरुको भुक्तानी गर्न बाँकी रहेकाले कम्पनीको दायित्व ठूलो देखिएको कम्पनीका अधिकारीहरु बताउँछन् ।
यसरी कम्पनीले ४० करोडको इक्विटी र आयसहित करिब ५० करोड रुपैयाँ नगद परिचालन भएपनि अहिले करिब १२ अर्ब मात्रै खर्च हुन बाँकी (१७ अर्बको दायित्व घटाउँदा) रहेको देखिन्छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेल नाफामा जान १०–१२ वर्ष लाग्ने बताउँछन् । ‘कम्पनी स्थापनाको यति छोटो सयममै नाफामा जान सक्दैन,’ उनले भने,‘नाफामा लैजान समय लाग्छ, त्यतिबेलासम्म कम्पनीले ग्राहक तान्न अफरमा लगानी गर्नुपर्छ ।’
सूचना प्रविधिविज्ञ आनन्दराज खनाल नमस्ते पेको बिजनेस मोडल मै समस्या रहेको बताउँछन् । २८ वटा भुक्तानी सेवा प्रदायकमध्ये १–२ वटा कम्पनी मात्रै नाफामा चलिरहेको बेला नमस्ते पे ले अरुले भन्दा फरक सेवा दिएर ग्राहक तान्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले परम्परागत ढंगमै नमस्ते पे चलाउन खोज्दा समस्या भएको हो, पुरानो विरासतले मात्रै काम चल्दैन, आधुनिक प्रविधिसहित वैज्ञानिक र व्यवहारिक व्यापारको मोडल पनि चाहिन्छ ।’
अरु वालेट भन्दा पनि कमजोर सेवा दिएर ग्राहक तान्न नसकिने भन्दै खनालले भने, ‘ग्राहकलाई वालेट फेर्न कुनै अप्ठेरो छैन, तर के कारणले मान्छेले अरु वालेट छाडेर नमस्ते पे रोज्ने ?’
असफलताको शृंखला
नेपाल टेलिकमले ४ माघ २०७२ मा १० करोड २० लाख २४ हजार रुपैयाँ खर्चिएर सामाजिक सञ्जाल ‘मिट’ सुरु गरेको थियो । आफ्ना सेवाहरुलाई एउटै सिस्टममा आवद्ध गराउने भन्दै युनिफाइड कम्युनिकेसन सिस्टम (यूसीएस)को अवधारणामासुरु भएको ‘मिट’ अहिले प्रयोगकर्ता भेटिदैनन् ।
टेलिकमले फोरजीकै गतिमा इन्टरनेट चल्ने भन्दै २०६९ कात्तिक २७ गते थालेको ‘वाइम्याक्स’ पनि असफल भएको छ । ३० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग हुने २३०० ब्यान्डको वाइम्याक्स प्रविधि चार वर्षमै असफल भएको थियो । इन्टरनेटका लागि मात्र प्रयोग हुने यो प्रविधिको जडान खर्च महंगो भएकाले सबैको पहुँचमा पुग्न सकेन ।
२०७३ चैतमा असफलताको प्राविधिक विश्लेषण समेत नगरी ‘वाइम्याक्स’ मा लगानी नथप्ने निर्णय लिएको थियो । नेपालमा २३०० ब्याण्डमा वाइम्याक्स असफल भएका बेला भारतमा भने त्यही ब्याण्डमा रिलायन्स जियोले फोरजी सेवामा ठूलो प्रभाव छाडेको थियो । त्यही ब्याण्ड र त्यो भन्दा ठूलो फ्रिक्वेन्सी पाएर पनि टेलिकम वाइम्याक्सलाई ग्राहकसम्म पुर्याउन चुक्यो ।
डिजिटल भुक्तानीमा पनि व्यापार नै महत्वपूर्ण हुने भन्दै विज्ञ खनालले ग्राहकको अपेक्षा अनुसार सम्वेदनशील भएर सेवा दिनुपर्ने खनाल बताउँछन् ।
‘टेलिकमले विगतमा ल्याएका कतिपय प्रविधि र सेवा जस्तैगरी नमस्ते पे पनि निष्प्रभावी हुन दिनु हुँदैन,’ उनी भन्छन्, ‘अहिले प्रतिस्पर्धी बजारमा यसलाई व्यवसयिक ढंगले चलाएर अरुभन्दा अब्बल सेवा प्रदायकका रुपमा स्थापित गर्नुपर्छ ।’
प्रतिक्रिया 4