+
+

ललिता निवास जग्गा प्रकरणको सुनुवाइ सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १९:१५

१ फागुन, काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा अनियमिता प्रकरणको मुद्दामा सुनुवाइ सकेको छ । २ माघमा सुरु भएको सुनुवाइ मंगलबार सकिएको र सम्भवतः बुधबार फैसला आउनेछ ।

‘करिव एक महिनाअघि सुरु भएको सुनुवाइ आज सकिएको हो, हरेक दिन सुनुवाइ सकेपछि इजलासमा मिसिल अध्ययनको काम पनि भइरहेको छ’, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले भने, ‘सम्भवतः बुधबार संक्षिप्त आदेशसहित मुद्दाको फैसला आउनेछ ।’

विशेष अदालतले २ माघदेखि शुक्रबार र शनिबारबाहेक हरेक दिन ललिता निवास जग्गा अनियमितता प्रकरणको मुद्दामा निरन्तर सुनुवाइ गर्दै आइरहेको छ । त्यसक्रममा सरकारी वकिल, आरोपितका कानुन व्यवसायीको बहस र फेरि सरकारी वकिलहरुको जवाफी बहस भएको थियो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ, २०७६ मा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले भ्रष्टाचारको आरोपमा ११० जना विरुद्ध र तह–तहमा जग्गा किनेका ६५ जनालाई भने जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।

अख्तियारले पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, छविलाल पन्त, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात लगायत विरुद्ध मुद्दा दायर गरेको थियो । प्रतिवादी बनाइएका जिल्ला न्यायाधीश विनोदकुमार गौतम विरुद्धको अभियोग भने सर्वोच्च अदालतको आदेशमा खारेज भइसकेको छ ।

ललिता निवास जग्गा प्रकरयणमा किर्ते गरेको आरोपमा अर्को मुद्दा पनि चलाइएको छ, जुन जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?