
१ फागुन, काठमाडौं । गएको १२ वर्षमा नेपालीको जीवनस्तरमा उल्लेखनीय सुधार आएको नेपाल जीवनस्तर सर्वेक्षण २०८० ले देखाएको छ । नेपाली जनताको स्वामित्वमा भएको सम्पत्ति, उनीहरुले खाने खाना तथा पाउने गरेको सेवा सुविधाका दृष्टिबाट हेर्दा जीवनस्तर बढेको देखिएको हो ।
१२ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति खर्च ६६ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षणले देखाएको छ । सबैभन्दा गरिब जनताको प्रतिव्यक्ति खर्च औसतभन्दा पनि बढी ६८ प्रतिशतले बढेको कार्यालयले जनाएको छ ।
आफ्नै कार, मोटरसाइकललगायत सम्पत्ति हुने घर परिवारको संख्या पनि यस अवधिमा उल्लेख्य रुपमा बढेको छ । २०६८ सालमा ० दशमलव ८ प्रतिशत परिवारसँग आफ्नै कार थियो । अहिले त्यो दुई गुणाभन्दा धेरैले बढेर १ दशमलव ८२ प्रतिशत पुगेको छ ।
त्यस्तै १२ वर्षअघि ९ दशमलव १८ प्रतिशतसँग मोटरसाइकल रहेकोमा त्यो पनि अढाइ गुणाले बढेर २५ दशमलव २५ प्रतिशत पुगेको छ । कम्युटर, पंखा तथा टेलिफोन-मोबाइल हुने परिवारको संख्या पनि उल्लेखनीय रुपमा बढेको देखिन्छ ।
मुलुकको ९४ प्रतिशत घरमा बिजुलीको पहुँच पुगेको छ, जुन १२ वर्ष पहिले जम्मा ७० प्रतिशत मात्रै थियो ।
नेपाली घरपरिवारले पोसिलो खानामा गर्ने खर्चको हिस्सा बढ्दै गएको छ । खासगरी फलफूल, तरकारी तथा मासुमा उनीहरुले गर्ने खर्च बढेको देखिन्छ भने अन्नमा गर्ने खर्चको हिस्सा भने कम भएको छ ।
प्रतिक्रिया 4