
छोरा
आज बसन्त पञ्चमी
तिम्रा कलिला दुधिला हातमा
मेरो खस्रा फुटेका हातहरुले
कलम थमाएर
‘क’ लेख छोरा भन्दै लेखाएको दिन
त्यसपछि जसरी तिमीले सेता खाली पानाहरुमा
रंगीन चित्रहरु भरेर घरका भित्ताहरुमा सजाउँथ्यौ नि
त्यसरी नै जिन्दगीका सेता पानाहरुमा
ज्ञानका रंगीन चित्रहरु भररे जिन्दगीका भित्ताहरुमा सजाइरहनु
बसन्त पश्चमीको शुभकामना मेरो छोरा
जिन्दगीका सबै खेलहरु जितिंदैन
तिमीले जित्नैपर्छ भन्ने जिद्दी पनि गर्दिनँ
तिमीले सबथोक हारे पनि
इमानमा कहिल्यै नहार्नु बाबु
जिन्दगीमा सब थोक जितेर इमानमा हारेको मान्छे
समाजमा निउरो जस्तै हुन्छ
तिमी बाँस जस्तै ठिङ्ग उभिन सक्ने बन्नु
शिर लुकाउने निउरो जस्तो होइन
बसन्त पञ्चमीको शुभकामना मेरो छोरा
ठूलो हुँदैमा असल भइँदैन नि बाबु
नपत्याए आँधीलाई हेर त
आँधी जति ठूलो आउँछ
त्यति नै विनाशक हुन्छ
तिमी भक्षक होइन रक्षक हुनुछ
महान् बन्ने कोसिस कहिल्यै नगर्नु
साधारण मानव बन्नु
अरुलाई दुख्दा तिमीलाई पनि दुखोस्
तिम्रो दु:खमा दुनियाँका आँखा रसाउन्
बसन्त पञ्चमीको शुभकामना मेरो छोरा ।।
प्रतिक्रिया 4