
काठमाडौं । भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा एक हलिउड अभिनेताको प्रेम सम्बन्धबारेको खबर अन्तर्राष्ट्रिय मिडियामा छ्याप्छ्याप्ती भयो । ती व्यक्ति अरु कोही नभएर टम क्रुज थिए ।
आफूभन्दा २५ वर्ष कान्छी रुसी मोडलसँगको सम्बन्धलाई लिएर उनी यतिबेला चर्चामा छन् । अभिनेता क्रुजको रिलेसनसिपलाई आधिकारिक भन्दै ठूला मिडियाले खबर सार्वजनिक गरेका छन् ।
६१ वर्षीय ‘मिसन इम्पोसिबल’ स्टारले ३६ वर्षीया एल्सिना खैरोवासँग डेटिङ गरिरहेको डेलीमेलले जनाएको छ । खैरोवाको लण्डन फ्ल्याटमा यी दुईजनालाई सँगै देखिएको समेत उक्त पत्रिकाले जनाएको छ ।
तर २५ वर्षको उमेरको भिन्नताले भने धेरैलाई चकित तुल्याएको छ । उनीहरुले कैयौं रात रोमान्टिक डेट गरेको समेत जनाइएको छ । उनीहरुलाई हालै लण्डनको राफल होटलमा आयोजना गरिएको एयर एम्बुलेन्स च्यारिटी समारोहमा पनि सँगै देखिएको उल्लेख छ । उनीहरु डिनर डेटका लागि हाइड पार्कमा समेत देखिएका थिए ।
अभिनेता क्रुजले यसअघि मिमी रोजर्स (१९८७-१९९०), निकोल किडम्यान (१९९०-२००१) र केटी होमेज (२००६-२०१२)लाई विवाह गरेका थिए । खैरोवाले दिमित्री सेकतोवसँग २०२२ मा डिभोर्स गरेकी थिइन् ।
प्रतिक्रिया 4