
२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुको गन्तव्यकै टुंगो नभएको बताएका छन् ।
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले कुनै दलको नाम त लिएनन्, तर नयाँ दलहरुको आलोचना गरे ।
‘उनीहरुको कुनै गन्तव्य छैन, पोलिटिकल कलर छैन, पोलिटिकल सेप छैन’ ओलीले भने, ‘अमिलो फल्छ कि गुलियो फल्छ केही थाहा छैन । खुर्सानीका बोट जस्ता हुन्, पिरो फल्छ कि ? सुन्तालाका बोट जस्ता हुन्, गुलियो फल्छन् कि ? हर्रोबर्रो जस्ता हुन् कि ? टुंगो छैन ।’
उनीहरुले गन्तव्य पनि पहिल्याउन नसकेको ओलीले बताए । समाजवाद कि पुँजीवादमा जाने भन्ने टुंगो नभएको भन्दै उनले भने, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन । यो हालतमा छन् ।’
ओलीले नयाँ दलहरु पनि पुरानो भइसकेको बताए । ‘मैले नयाँका नेतालाई अस्ति नै भनेँ, ए बाबु तिमीहरु त पोहोर नै खोेलेको होइन पार्टी ? अब त पुरानो भइसक्यो’ उनले भने, ‘एक पटक सांसद भइसकेपछि तिमीहरु पुराना भइसक्यौं ।’
यस्ता दलहरुमा समस्या देखिन बाँकी नै रहेको बताए । कोही नभएको बेला को उम्मेदवार हुने भनेर टिकट दिएको र गठबन्धनका कारण जनतामा वितृष्ण रहेका बेला जितेको भन्दै ओलीले भने, ‘अर्को पल्ट त भइरहेको सांसदले छोड्न मान्दैन, अर्को नयाँ हुनुपर्यो भन्छ । बल्ल समस्या सुरु हुन्छ ।’
‘कोही एक पटक सांसद भएपछि राजनीतिबाट सन्यास लिनेवाला छौं र ? अहिले पो नयाँ भन्छौं, अर्को पल्ट त अनुभवी चाहिन्छ भनिहाल्छौं नि !’ ओलीले भने ।
स्वतन्त्र उठेर जितेकाहरुमा पनि अरुको आलोचना गर्नुबाहेक कुनै नीति नभएको उनले बताए ।
प्रतिक्रिया 4