+
+
ब्लग :

ग्रीन हाइड्रोजनको विश्व अनुभव र नेपाल

नेत्र कार्की नेत्र कार्की
२०८० फागुन ३ गते १३:५१

गएको माघ ३ गते नेपाल सरकारले ‘ग्रीन हाइड्रोजन नीति २०८०’ पास गर्‍यो । ग्रीन हाइड्रोजन नीति आएसँगै हाइड्रोजन ऊर्जाप्रतिको चासो ह्वात्तै बढेको छ । बहसहरूले तीव्रता पाएका छन् । नेपालका लागि हाइड्रोजन ऊर्जा नयाँ क्षेत्र भएका कारण यसप्रतिको जिज्ञासा र चासोलाई स्वाभाविक मान्नुपर्दछ । नीतिगत हिसाबमा पहिलो पाइला हो नेपालका लागि, ग्रीन हाइड्रोजन नीति २०८० ।

भर्खरै हामी हिंड्न सुरु गरेका छौं, ग्रीन हाइड्रोजन ऊर्जामा । हुनत विश्व पनि धेरै अघि भने लम्किसकेको छैन, हाइड्रोजनमा । हाइड्रोजन ऊर्जालाई अबको भविष्यको अत्यन्तै महत्वपूर्ण ऊर्जाको रूपमा भने विश्वले स्वीकारिसकेको छ । अब विस्तारै हाइड्रोजन ऊर्जाले अन्य ऊर्जाको स्रोतलाई माथ गर्दै जान सक्ने परिस्थिति बनेको छ ।

हाइड्रोजन ऊर्जामा पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा नै उच्चतम प्रविधिको विकासले रफ्तार लिएको छ । जलवायु परिवर्तनको विश्वव्यापी सन्निकट महासंकटका कारण न्यून कार्बनरहित अर्थतन्त्रतर्फ लम्किनै पर्ने बाध्यताका अघि ग्रीन हाइड्रोजनको महत्व अझ बढेको छ ।

इलेक्ट्रोलाइसिस पद्धति मार्फत पानी खण्डीकरण गरेर हाइड्रोजन ऊर्जा उत्पादन गरिन्छ । नवीकरणीय ऊर्जाका स्रोतहरू जलविद्युत्, सौर्य र वायु लगायतबाट उत्पादित हाइड्रोजनलाई ग्रीनको रूपमा नामकरण गरिएको छ ।

ग्रीन हाइड्रोजनमा विश्व अनुभव र प्रयोग

दुबईमा हालै सम्पन्न कोप–२८ मा ग्रीन हाइड्रोजन अर्गनाइजेसनका अध्यक्ष तथा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री माल्कोलम टर्नबुलसँग गहन साक्षात्कारको अवसर जुटेको थियो ।

नेत्र कार्की

चाइनिज पेभिलियनमा टर्नबुलले ‘अबको विश्व ग्रीन हाइड्रोजनको विश्व’ भन्ने सार सहितको गहकिलो मन्तव्य दिएका थिए । ग्रीन हाइड्रोजन नै अबको विश्वको अति महत्वपूर्ण ऊर्जा भएको कारण ग्रीन हाइड्रोजनतर्फ जानुको विकल्प नभएको टर्नबुलको निष्कर्ष थियो ।

यसपटकको कोपमा हाइड्रोजन ऊर्जाले जबरजस्त बहसहरूमा ठाउँ पाउनुले पनि संकेत गर्दछ, ग्रीन हाइड्रोजन ऊर्जामा विश्व अब धकेलियो । डिसेम्बर १३ र १४ मा ओमानले आयोजना गरेको ग्रीन हाइड्रोजन समिटमा पनि सहभागी हुने अवसर प्राप्त भयो ।

विश्वभरबाट ग्रीन हाइड्रोजनमा काम गरेका विज्ञ, लगानीकर्ता तथा सरोकारवालाहरूसँगको छलफलले थुप्रै ज्ञान र अनुभव बटुलियो । ग्रीन हाइड्रोजन ऊर्जाको उत्पादन र प्रविधिको अझ उच्चतम विकासमा विश्व तीव्र रूपमा लागिरहेको निचोडमा म यतिखेर पुगेको छु ।

यो तीव्र बहस र छटपटीले चाँडै नै ग्रीन हाइड्रोजन ऊर्जाको विकासले फड्को मार्ने कुरामा अब दुईमत रहेन । कोप–२८ मा ग्रीन हाइड्रोजनसँग सम्बन्धित केही महत्वपूर्ण सेसन तथा ग्रीन हाइड्रोजन समिट ओमानलाई नजिकबाट अध्ययन र अवलोकन गर्ने नवीकरणीय ऊर्जाको अझ भरपर्दो स्रोत, ग्रीन हाइड्रोजनतर्फ विश्व मोडियो अब ।

हाइड्रोजन प्रविधि विकास त आजभन्दा २२५ वर्षअघि नै युरोपबाट सुरु भइसकेको हो तर हाइड्रोजन प्रविधिलाई स्वच्छ ऊर्जाको भरपर्दो दिगो स्रोतको पहिचान र नवीनता दिने अनुसन्धानहरूले भने पछिल्ला केही दशकहरूमा मात्र तीव्रता लिएको हो ।

विशेषतः युरोप र अमेरिकामा अहिले साना दूरीका हाइड्रोजन कारहरू सडकमा बग्रेल्ती दौडिन सुरु गरिसकेका छन् । जर्मनीमा हाइड्रोजन रेल पनि दौडिरहेको छ । हाइड्रोजनको प्रयोगले तीव्रता पाइरहेको छ । सवारी साधनहरूमा हाइड्रोजन ऊर्जाको प्रयोगलाई अझ व्यापकता दिने अभियान नै चलेको छ यतिखेर विश्वमा । हाइड्रोजन ऊर्जा उत्पादन आफैंमा जोखिमपूर्ण भएका कारण उन्नत प्रविधिहरूको विकास र हस्तान्तरणमा तीव्र खोजी अनुसन्धानमा छन् वैज्ञानिकहरू ।

हाइड्रोजन ऊर्जाको उत्पादनसँगै यसको ढुवानी तथा भण्डारणलाई अझ सुरक्षित बनाउनेतर्फ राष्ट्रहरू लागिपरेका छन् । वातावरणीय तथा दिगोपनका हिसाबले यातायातका साधनका लागि ग्रीन हाइड्रोजन ऊर्जा वरदान साबित हुने देखिन्छ । हालका अध्ययन तथा प्रयोगहरूले यातायातका साधनहरूमा हाइड्रोजन ऊर्जाको प्रयोग पेट्रोलियम वा विद्युतीय भन्दा निकै किफायती हुने देखिएको छ ।

१ केजी ग्रीन हाइड्रोजन ऊर्जा उत्पादन लागत १ डलरदेखि अधिकतम ५ डलर देखिन्छ । १ केजी ग्रीन हाइड्रोजन ऊर्जा उत्पादनमा ५० युनिट विद्युत् र ९ केजी डियोनाइज्ड पानी आवश्यक पर्दछ । नेपाल जस्तो आफैंमा शुद्ध पानीको भण्डार भएको ठाउँमा प्रति केजी ग्रीन हाइड्रोजन लागत २ डलरभन्दा नपर्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

समुद्री पानीको प्रयोग गरी सोलार विद्युत् मार्फत हाइड्रोजन उत्पादन गर्दा प्रति केजी उत्पादन लागत ५ डलर नकटेको ताजा विश्व अनुभव छ । अधिकतम उत्पादन लागत ५ डलर नै कायम राखेर विश्लेषण गर्दा पनि हाइड्रोजन– यातायात साधन, पेट्रोलियम वा विद्युतीय भन्दा सस्तो पर्ने देखियो । युरोप, अमेरिका र कोरिया लगायत देशहरूले हाल ठूलाठूला ट्रक तथा लरीहरूमा हाइड्रोजन ऊर्जाको प्रयोगको सफल परीक्षण गरिसकेका छन् ।

यी परीक्षणहरूले के देखायो त भन्दा पेट्रोलियम वा विद्युतीय ट्रक वा लरी जस्ता ठूला मालवाहक यातायातका साधनमा हाइड्रोजन ऊर्जा प्रयोग गर्दा अझ बढी भार वहन गर्ने क्षमतासँगै किफायती र सस्तो पर्ने देखिएको छ । पेट्रोलियम गाडीहरूलाई विद्युतीय गाडीहरूले भटाभट विस्थापित गरिरहेको पछिल्लो परिवेशमा अब यसको ठाउँ हाइड्रोजन गाडीहरूले लिनसक्ने देखिएको छ ।

जीवाश्म इन्धनहरूको उत्पादन र प्रयोगमा व्यापक कटौती गर्दै नेट जिरो इमिशनको विश्वव्यापी लक्ष्यमा पुग्न ग्रीन हाइड्रोजन ऊर्जा अबको विश्वको भरपर्दो सहारा बन्ने दिशामा अग्रसर छ ।

अबको केही वर्षहरूमै ठूला–ठूला व्यावसायिक ग्रीन हाइड्रोजन प्लान्टमा विश्वव्यापी लगानी बढ्ने निश्चित छ । विश्वव्यापी रूपमा कार्बन उत्सर्जनको एउटा प्रमुख वाहक जीवाश्म इन्धनको उत्पादन तथा प्रयोगलाई न्यूनीकरण गरी जलवायु परिवर्तनको असरबाट पृथ्वी र पर्यावरण जोगाउने अबको अस्त्र हो ग्रीन हाइड्रोजन ।

युरोप र अमेरिका मात्र नभई हाम्रै छिमेकी राष्ट्रहरू चीन र भारत पनि ग्रीन हाइड्रोजनको उत्पादन तथा प्रयोगमा अघि लम्किसकेका छन् । चीनले द्रूत गतिको हाइड्रोजन रेलको सफल परीक्षण पश्चात् अब चाँडै व्यावसायिक यात्रा तय गर्ने देखिन्छ । चीनका थुप्रै कम्पनीहरू अहिले ग्रीन हाइड्रोजन उत्पादन तथा थप अध्ययन अनुसन्धानहरूमा तीव्र गतिमा लागिपरेका छन् ।

विश्व कार्बन उत्सर्जनमा लगभग २० प्रतिशतको हिस्सा ओगटेका चीन र भारतले जीवाश्म इन्धनको उत्पादन तथा प्रयोगमा व्यापक कटौती गर्नैपर्ने विश्वव्यापी दबाबमा छन् यतिखेर । यातायात तथा औद्योगिक प्रयोगमा आइरहेको पेट्रोलियम र कोइलाको विस्थापनमा ग्रीन हाइड्रोजनलाई उपयोगमा ल्याउने राष्ट्रिय संकल्पका साथ यी दुवै देश योजनाबद्ध विकासमा छन् । ग्रीन हाइड्रोजन यातायातका साधनमा मात्रै नभई औद्योगिक प्रयोगमा समेत आइसकेको छ ।

ग्रीन हाइड्रोजनलाई औद्योगिक प्रयोगमा ल्याउने काममा जर्मनी सबैभन्दा अघि छ, यतिखेर । सिमेन्ट र स्टिल उद्योगहरूमा ग्रीन हाइड्रोजन ऊर्जाको प्रयोग निकै बढेको देखिन्छ । अन्य औद्योगिक प्रयोजनमा हाइड्रोजन ऊर्जाको प्रयोगलाई अझ बढाउने प्रयासस्वरूप तीव्र अनुसन्धानमा खोजकर्ता र वैज्ञानिकहरू लागिपरेका छन् । ग्रीन हाइड्रोजन ऊर्जा केन्द्रित थप नवीन प्रविधिको विकास, परीक्षण तथा अनुसन्धानमा महत्वपूर्ण उपलब्धिहरू हात परेका छन् ।

तीव्र औद्योगीकरणले उत्सर्जन भइरहेको कार्बनका कारण विश्वव्यापी जलवायु जोखिमलाई घटाउने अचूक समाधान बन्न सक्दछ ग्रीन हाइड्रोजन । यातायात तथा औद्योगिक प्रयोजनमा ग्रीन हाइड्रोजनको प्रयोगमा खाडी राष्ट्रहरूको पहलकदमीले पनि नयाँ आशा जगाएको छ, यतिखेर । ग्रीन हाइड्रोजन प्लान्टको निर्माण, भण्डारण तथा वितरणमा ठूलो लगानी लगाइरहेका छन् खाडी राष्ट्रहरू । ६ वटा पेट्रोलियम उत्पादक अरब राष्ट्रहरूको संगठन द जिसीसीको प्राथमिक साझा एजेन्डा नै ग्रीन हाइड्रोजन बन्न थालेको छ ।

ओमान आक्रामक रूपमा ग्रीन हाइड्रोजन उत्पादनमा लागि नै सक्यो साउदी अरब तथा युएईको प्राथमिकतामा यतिखेर नवीकरणीय ऊर्जा विशेषतः सौर्य विद्युत् मार्फत समुद्रको पानीको प्रयोगबाट ग्रीन हाइड्रोजन उत्पादनमा देखिन्छ । त्यसोतः पेट्रोलियम ऊर्जा मार्फत हाइड्रोजनको उत्पादन र प्रयोग विश्वमा परम्परागत रूपमा चलेकै हो तर नवीकरणीय ऊर्जा (जलविद्युत् सौर्य वायु) मार्फत ग्रीन हाइड्रोजनको प्रयोग उत्पादन र प्रयोगलाई विश्वको पर्यावरणसँगै पृथ्वीको भविष्य पनि जोडेर हेर्न थालिएको छ ।

नवीकरणीय ऊर्जाको प्रयोग मार्फत पानीको विखण्डन गर्दा उत्पादन हुने ग्रीन हाइड्रोजनलाई रासायनिक प्रतिक्रियाद्वारा नाइट्रोजनको सम्मिश्रण हुँदा एमोनिया बन्दछ । उक्त एमोनिया वायुमण्डल वा अन्य स्रोतहरूबाट प्राप्त कार्बनडाइअक्साइडलाई रासायनिक प्रतिक्रिया मार्फत कार्बनडाइ अर्थात् युरिया मल बनाउन सकिन्छ । सन् १९२७ मा नर्वेबाट विकास भएको यो प्रविधिको विस्तारले आज कृषि क्षेत्रका लागि रासायनिक मलको उपलब्धता एक प्रकारको क्रान्ति नै मान्नुपर्दछ ।

ग्रीन हाइड्रोजनलाई रासायनिक मल बनाउने ऊर्जाको कच्चा पदार्थको रूपमा उत्पादन र निर्यातले कृषिप्रधान देशहरूको अर्थतन्त्रमा ठूलो फेरबदल ल्याइदिएको छ । भूपरिवेष्टित देश हुन् वा समुद्रले घेरिएका वा छोएका देश हुन् खोला नदी वा समुद्रको पानीको पहुँचका हिसाबमा संसारका प्रायः देशहरूले ग्रीन हाइड्रोजन उत्पादन गर्न सक्दछन् ।

सम्भाव्य बहस र प्रयासमा नेपाल

सरकारले ग्रीन हाइड्रोजन नीति २०८० ल्याउनुपूर्व नेपालमा केही सम्भाव्य अध्ययनहरू भएका छन् । नीतिगत तथा अन्य प्रयासहरूका हिसाबमा ग्रीन हाइड्रोजन ऊर्जाको क्षेत्रमा नेपाल एकदम प्रारम्भिक अवस्थामा छ । २०६५ सालमा वेस्टर्न मिचिगन युनिभर्सिटीसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयले हाइड्रोजनमा सम्भाव्यताको अध्ययन गरेको थियो । त्यसको एक दशकपछि २०७७ सालमा एडीबीले नेपालको जलविद्युत्बाट हाइड्रोजन उत्पादनको सम्भाव्य अध्ययन गरेको थियो । पछिल्ला वर्षहरूमा भने नेपालमा पनि ग्रीन हाइड्रोजनको अध्ययन तथा अनुसन्धानहरू बढ्न थालेका छन् । ।

२०७७ सालमा काठमाडौं विश्वविद्यालयमा ग्रीन हाइड्रोजन ल्याब स्थापना भएको छ । केयूका प्राध्यापक विराजसिंह थापाको नेतृत्वमा रहेको ग्रीन हाइड्रोजन ल्याब र टिमले अनवरत रूपमा पछिल्लो समयमा काम गरिरहेको देख्न सकिन्छ ।

केयूले २०८० कात्तिक १८ गते हाइड्रोजन कार नेपालमा भित्र्याएको छ । उक्त हाइड्रोजन कारको परीक्षणमा केयूको टीम यतिखेर लागिपरिरहेको छ । २०८० भदौ ३१ गते केयूको हाइड्रोजन ल्याबमा हाइड्रोजन चुलो मार्फत चाउचाउ पकाउने परीक्षण सफल भएको छ । केयूको हाइड्रोजन कार र हाइड्रोजन चुलोको परीक्षणले पनि एक प्रकारको आशा र सम्भावनाको उजागर भने भएको छ, नेपालमा । सरकारी तहमा अझ धेरै अनुसन्धानमा लगानी गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

कार्बनको अधिक उत्सर्जन गर्ने यातायातका साधन तथा उद्योगहरूका लागि एकमुष्ट प्रतिस्थापनको उपाय ग्रीन हाइड्रोजन देखिएको छ ।

नीतिगत तहमा भर्खरै नेपालले ग्रीन हाइड्रोजनमा पाइला टेकेको छ । २०७८ सालमा जल तथा ऊर्जा आयोग सचिवालयले ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोग सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पेश गरेको थियो । आव २०७९/८० को नीति, कार्यक्रम तथा बजेटमा हाइड्रोजन ऊर्जाको उपयोग गर्न आवश्यक कार्य प्रारम्भ गर्ने भन्ने विषय बुँदा नं. २५७ मा समावेश गरिएको थियो । आ.व. २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३६ मा ‘ग्रीन हाइड्रोजन र ग्रीन एमोनिया प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्ड मार्फत कार्य अघि बढाइने’ भन्ने थियो ।

आव २०७९÷८० को सरकारी नीति कार्यक्रमको प्रतिबद्धता अनुसार नै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित कार्यदलले २०७९ फागुनमै पेश गरेको ग्रीन हाइड्रोजन नीतिको मस्यौदा २०८० माघ ३ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

नेपालमा ग्रीन हाइड्रोजनको सम्भावनाका ढोकाहरू विस्तारै खुल्दै गएका छन् । जलविद्युत् र जलस्रोतको अपार भण्डार भएको देश हुनुले पनि ग्रीन हाइड्रोजनको उत्पादन, प्रयोग र निर्यातको हब बन्न सक्छ– नेपाल । यसका लागि सरकारले थप गृहकार्य गरी स्पष्ट राष्ट्रिय नीति तथा लक्ष्यहरू किटान गर्नु आवश्यक छ । हालै आएको नीतिमा थप्नुपर्ने थुप्रै कुरा छन् ।

ग्रीन हाइड्रोजन उत्पादन–प्रयोग–निर्यात तथा अन्य थुप्रै मापदण्ड निर्धारणका लागि छुट्टै ऐन, कार्यविधि तथा निर्देशिकाहरू ल्याउनुपर्नेछ । विशेषगरी रासायनिक मल कारखाना स्थापना गरी हाइड्रोजन ऊर्जा र एमोनिया मार्फत अघि बढाउने आशय ग्रीन हाइड्रोजन नीति २०८० मा झल्कन्छ । यो प्रयास र आशयका लागि पनि सरकारलाई धन्यवाद भन्नैपर्छ । आखिर सुरुवात त भयो नि ! रासायनिक मलका लागि नेपालले प्रत्येक वर्ष करिब २१ अर्ब विदेश पठाउनुपर्छ ।

त्यसमाथि समयमा मल नपाएर प्रत्येक वर्ष किसानहरूले हैरानी खेपिरहेका छन् । यो अवस्थामा स्वदेशमै ग्रीन हाइड्रोजनको प्रयोग मार्फत रासायनिक मलको उत्पादनले नेपालको कृषि क्षेत्रले ठूलो राहत पाउनेछ । कृषिमा आधारित अर्थतन्त्र हुनुले स्वदेशमै रासायनिक मलको उत्पादनले निकै ठूलो अर्थ राख्दछ । धेरै मल कारखानाहरू खोलेर स्वदेशमै खपतका साथ भारत, चीन, बंगलादेश लगायत देशहरूलाई निर्यात गर्न सक्ने अवस्थामा पनि हामी पुग्न सक्छौं ।

यसले भारतसँगको व्यापार घाटा कम गर्न, थुप्रै रोजगारीका अवसरहरू सिर्जना गर्न र जलविद्युत्को आन्तरिक खपत बढाउन महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । पेट्रोलियम पदार्थ माथिको परनिर्भरता नेपालका लागि एक हिसाबमा गलपासो नै बनेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रकम अर्थात् प्रत्येक वर्ष औसत ४ खर्ब बराबरको पेट्रोलियम पदार्थ नेपालले आयात गर्दछ । नेपालको कुल व्यापार घाटामा यो १३ प्रतिशतको हिस्सा हो ।

पेट्रोलियम गाडी तथा उद्योगहरूका कारण वातावरणमा पारेको प्रभाव अर्को विकराल छ । अत्यधिक कार्बन उत्सर्जनका कारण जलवायुजन्य ठूला विपत्तिहरू आउन सुरु गरिसकेका छन् । यो अर्थमा– यातायात उद्योग तथा चुलोमा प्रयोग भइरहेको खनिज इन्धनको विस्थापन हाम्रा लागि ठूलो चुनौती बनेर बसेको छ । यातायातमा विद्युतीय गाडीको प्रयोग पछिल्लो समय नेपालमा ह्वात्तै बढेको छ ।

विभिन्न अनुसन्धान तथा विश्व अनुभवले पनि यो देखिएको छ कि– विद्युतीय गाडीमा भन्दा धेरै बढी हाइड्रोजन गाडीको भार वहन क्षमता र किफायतीपना तथा सस्तो पनि पर्ने देखिएको छ । ठूला–ठूला मालवाहक गाडी, ट्रक तथा लरीहरूमा ग्रीन हाइड्रोजनको प्रयोग अत्यन्तै वातावरणमैत्री देखिएकै कारण आउँदा केही वर्षभित्रै यसले छलाङ मार्ने देखिन्छ । नेपालको भौगोलिक बनावटका कारण पहाड र हिमाल उक्लन पेट्रोलियम गाडीकै अधिक प्रयोग भइरहेको सन्दर्भमा हाइड्रोजन गाडी वरदान साबित हुने देखिन्छ, यसको विकल्पमा ।

नेपालको यातायातमा अब हाइड्रोजनको प्रयोगलाई नीतिगत सुनिश्चित गर्दै बढोत्तरी र प्रोत्साहनको बाटोमा सरकार तत्काल अघि बढ्नुपर्छ । नेपालमा जलविद्युत् र सौर्य विद्युत् मार्फत ग्रीन हाइड्रोजनको उत्पादनलाई पहिलो चरणमा यातायातका साधन– चुलो र रासायनिक मल उत्पादनमा प्रयोग गर्ने उद्देश्यका साथ युद्धस्तरमा जानुको विकल्प देखिन्न । अहिले नेपालमा थुप्रै जलविद्युत् आयोजनाहरू निर्माण भइरहेका छन् । अबको केही वर्षभित्रै उत्पादित विद्युत्को बजारले आफैंमा जटिलता सामना गर्नुपर्ने प्रष्ट छ ।

अब जलविद्युत् मार्फत हाइड्रोजन ऊर्जाको उत्पादन गरी भण्डारण गर्दै स्वदेशभित्रै खपत बढाउने र निर्यात गर्ने विकल्पमा हामी जान सक्छौं । स्वदेशभित्रै यातायातका साधन, चुलो, रासायनिक मल तथा औद्योगिक प्रयोजनमा हाइड्रोजनको खपत जति बढाउन सकियो, त्यति नै मात्रामा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मार्फत ग्रीन हाइड्रोजन ऊर्जाको खपत स्वदेशमै हुनेभयो ।

जलविद्युत्को खपत हाइड्रोजन ऊर्जा मार्फत स्वदेशमै बढाउने र तेस्रो मुलुकमा निर्यात गर्न सकिएमा प्रसारण लाइनको निर्माण तथा पीपीएको झन्झटबाट नेपालको जलविद्युत् क्षेत्रले उन्मुक्ति पाउने थियो । हाइड्रोजन ऊर्जालाई उत्पादनसँगै भण्डारण गरेर चाहेको समयमा ढुवानी गर्न सकिने हुँदा प्रसारण लाइन जस्ता खर्बांैका पूर्वाधारमा राज्यको लगानी र समय बच्ने देखिन्छ ।

नेपाल पनि ग्रीन हाइड्रोजनको विकासका लागि विश्व सँगसँगै दौडनै पर्ने अवस्थामा छ । नेपालको समृद्धिको एउटा भीमकाय गन्तव्य बन्न सक्छ– ग्रीन हाइड्रोजन । समृद्धिको यो दिगो र नयाँ यात्राको तय चुनौतीरहित अवश्य छैन तर असम्भव पनि छैन ।

नेपालको खोला÷नदीहरूबाट बग्ने स्वच्छ पानीको प्रयोग र नवीकरणीय ऊर्जामा आफंैमा सस्तो जलविद्युत्को सम्मिश्रणबाट उत्पादन हुने ग्रीन हाइड्रोजनको लागत प्रति केजी अधिकतम २ डलरसम्म पुग्ने देखिन्छ । यसो हुँदा नेपालमा उत्पादित ग्रीन हाइड्रोजन छिमेकी मुलुकहरू भारत, चीन, बंगलादेश सहित पूरै दक्षिणएशियाको ठूलो बजारसम्म पुर्‍याउन सहज र प्रतिस्पर्धात्मक हिसाबमा सस्तो पर्न आउने देखियो ।

जलविद्युत्बाट उत्पादित विद्युत् तेस्रो देशसम्म पुर्‍याउन प्रसारण लाइन लगायत पूर्वाधार सहितका ठूला जटिलताहरू कायम नै छन् तर ग्रीन हाइड्रोजन सडक मार्फत ढुवानी चाहेको समयमा गर्न सकिने भो । एकछिन सोचौं त– भारत र चीन सहितको विशाल दक्षिणएशियाको ऊर्जा बजारमा नेपालको ग्रीन हाइड्रोजनले दबदबा राख्न सुरु गर्‍यो भने– नेपालको कायापलट हुन कति समय लाग्ला ? नेपालको अपार जलविद्युत् क्षमता र अथाह शुद्ध पानीको भण्डारको प्रयोगबाट आन्तरिक खपतदेखि निर्यात मार्फत समृद्धिको नयाँ युग समयमै पहिल्याउनु चाहिं पर्‍यो ।

त्तटछ र त्तद्धण् मा डिजाइन भइरहेको जलविद्युत् आयोजनाहरूलाई त्तद्दण् मा नै डिजाइन गरी अत्यधिक विद्युत् र बर्खामा समेत खेर जाने पानीको प्रयोगबाट नेपालले विश्वबजार मागको ठूलो हिस्सा ग्रीन हाइड्रोजन उत्पादन गर्न सक्ने सामथ्र्य राख्दछ । अवको विश्व– ग्रीन हाइड्रोजनतर्फ उन्मुख भइसकेकाले यो असम्भव लाग्दैन । नेपाललाई प्रकृतिले नै पानी र जलविद्युतीय उपहार दिएको छ ।

न्यून कार्बन अर्थतन्त्रतर्फ जानैपर्ने दबाब र परिस्थितिमा अबको विश्व उभिएको छ । ग्रीन हाइड्रोजन नै सन् २०५० सम्म कार्बन उत्सर्जन शून्य पार्ने विश्वको प्रतिबद्धताको सबैभन्दा दिगो समाधान भएर अघि आएको छ । कार्बनको अधिक उत्सर्जन गर्ने यातायातका साधन तथा उद्योगहरूका लागि एकमुष्ट प्रतिस्थापनको उपाय ग्रीन हाइड्रोजन देखिएको छ । तसर्थ नेपाल पनि ग्रीन हाइड्रोजनको विकासका लागि विश्व सँगसँगै दौडनै पर्ने अवस्थामा छ । नेपालको समृद्धिको एउटा भीमकाय गन्तव्य बन्न सक्छ– ग्रीन हाइड्रोजन । समृद्धिको यो दिगो र नयाँ यात्राको तय चुनौतीरहित अवश्य छैन तर असम्भव पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?