३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको दोस्रो विकेट गएको छ । दुवै विकेट ललित राजवंशीले लिएका हुन् ।
माइकल भान लिंगेन चौधौं ओभरको पहिलो बलमा लङअनमा अनिल साहबाट क्याच आउट भएका हुन् । उनी आउट हुँदा नामिबियाले ५४ रन बनाएको छ ।
उनले सन् २०२२ डिसेम्बरमा विन्डहोकमा १२१ र २०२३ फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा १३३ रन बनाउँदै नेपालविरुद्ध लगातार दुई शतक हानेका थिए ।
यसअघि ललितले नामिबियाका अर्का ओपनर निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर ललितको बलमा ठूलो सट खेल्ने धुनमा १५ रन बनाएका डाभिन सहजै क्याच भए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले रन बनाए ।
प्रतिक्रिया 4