
काठमाडौं । फिल्म ‘काँडेतार’ले मुनाफाको २५ प्रतिशत रकम सीमा क्षेत्रमा ज्यान गुमाउने शहीदको परिवार र घाइतेको उपचारमा सहयोग गर्ने भएको छ । निर्देशक तथा निर्माता नवल खड्काले रिलिजपछिको निश्चित रकम समाजसेवामा खर्चिने बताए ।
फागुन २५ गते रिलिज हुने तयारीमा रहेको यो फिल्मले नेपालसँगको सीमा क्षेत्रलाई व्यवस्थित गर्नेबारेको कथा पेश गर्छ । भारतले गरेको नेपालको सीमा अतिक्रमणविरुद्धको संघर्ष फिल्मले भन्ने लेखक समेत रहेका खड्काले बताए ।
‘अहिले पनि गोविन्द गौतम, जयसिंह धामी लगायतले न्याय पाउन सकेका छैनन्,’ खड्काले भने, ‘भारतसँग सीमामा भएको झडपमा घाइते हुने र शहीद हुने परिवारलाई हामीले सहयोग गर्नेछौं ।’
फिल्ममा गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर लगायतले पनि अभिनय गरेका छन् । प्रदर्शन मिति नजिकिएसँगै फिल्मको प्रचारप्रसारलाई तीव्र तुल्याउने खड्काले बताए ।
यो फिल्मलाई सामना फिल्म्स प्रालिको ब्यानरमा माकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्काले निर्माण गरेका हुन् । सत्यकला राई कार्यकारी निर्मात्री हुन् । नेपाल रिलिजपछि फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको तयारी भइरहेको छ ।
प्रतिक्रिया 4