+
+

जाँचबुझ आयोगको निष्कर्ष : बालकुमारी घटनामा मन्त्री ज्वाला पनि दोषी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते २०:१०

४ फागुन, काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको छ । मन्त्रीसँगै पीएसओ र फिल्ड कमाण्डर डीएसपी पनि दोषी देखिएको आयोगको निष्कर्ष छ ।

भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । त्यसक्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

घटनाबारे जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्षतामा आयोग बनेको थियो । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्वयन गरिने बताएका छन् ।

आयोग स्रोतका अनुसार मन्त्री ज्वालाले गलत बाटो प्रयोग गरेको, भीडभाड छ भन्ने जानकारी हुँदै हुँदै गएको र सुरक्षा संवेदनशीलता ख्याल नगरेको पाइएको छ ।

घटना भएको दिन बालकुमारीकै एक पार्टी प्यालेसमा एकीकृत समाजवादीको बैठक चलिरहेको थियो । बिहानैबाट प्रदर्शन भइरहेको भए पनि मन्त्री ज्वाला बैठकस्थलबाट निस्किएका थिए । झण्डावाल गाडी देखेपछि प्रदर्शनकारीले रोके । गाडीबाट ओलिएका मन्त्रीलाई प्रदर्शनकारीले दुर्व्यवहार समेत गरेका थिए । त्यसपछि उनी हिँडेर फेरि पार्टीको बैठकस्थलमा पुगेका थिए ।

त्यहीक्रममा मन्त्रीको गाडीमा तोडफोड भएको र आगलागी भएको सूचना पुगेको थियो । त्यही सूचनाका आधारमा फिल्ड कमाण्डर डीएसपी उमेश लम्साललाई मन्त्री पनि हुनसक्छन्, त्यहाँ पुग्नू भनेर निर्देशन भएको थियो । त्यसक्रममा उनले गोली चलाए । अरु फायर हावामा गरेको भए पनि एउटा भूईँतिर थियो ।

त्यही गोली लागेर अछामका शाहको मृत्यु भएको जाँचबुझ समितिको निष्कर्ष छ । अर्का मृतक दैलेखका रावतलाई भने प्रहरीले हानेको अश्रुग्यासको सेल जमिनमा लागेर बाउन्स भई छातिमा लाग्न पुगेको प्रतिवेदनमा उल्लेख छ । डीएसपी लम्सालले परिस्थितिको सही विश्लेषण गर्न नसकेको, त्यही कारण अश्रुग्यास पहिला नै सकिएको निष्कर्ष आयोगको छ । स्रोतका अनुसार डीएसपी लम्साललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

मन्त्री ज्वालाका निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । भीआईपीको सुरक्षामा खटिएका उनले लार्पवाही गरेको र माथिल्लो निकायबाट अनुमति नलिई गएको समितिको निष्कर्ष छ । स्रोतले भन्यो, ‘मन्त्रीको हकमा नैतिक विषय हो, अरु दुई जनाको हकमा विभागीय कारबाही गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ ।’

डीएसपी लम्साल र मन्त्रीका पीएसओ अधिकारीलाई घटना भएकै दिन निलम्बन गरिएको थियो भने ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख शिद्धिविक्रम शाहको सरुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?