
काठमाडौं । हरिवंश आचार्य स्टारर प्रतीक्षित नेपाली फिल्म श्रृंखला ‘महाजात्रा’ चैत १० (मार्च २३) मा जापानको राजधानी टोकियोमा रिलिज हुने भएको छ ।
फिल्मको अन्तर्राष्ट्रिय वितरक सचिन आचार्यले यो सोसल-कमेडी ड्रामालाई उक्त मितिमा त्यहाँको नाकानो जेरो हलमा प्रदर्शन गर्न लागेका हुन् । नेपालमा भने यो फिल्म चैत ९ गते रिलिज हुँदैछ ।
यो फिल्मको रिलिजमा उनले आन्भी एण्ड पिरो इन्टरटेनमेन्टसँग सहकार्य गरेका छन् ।
२०७३ सालमा रिलिज भएको ‘जात्रा’को यो तेस्रो श्रृंखला हो । यो श्रृंखलामा हरिवंश पनि जोडिएका छन् । यो फिल्ममा हरिवंशले खलपात्रको भूमिका निर्वाह गरेका छन् । विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झा समेत शीर्ष भूमिकामा छन् ।
जापानमा यो सिरिजका अघिल्ला दुबै फिल्मले राम्रो कमाइ गरेकाले पनि यसपटक पनि इतिहास दोहोरिन सक्ने आशा सचिनले लिएका छन् । जापान पछिल्लो समय नेपाली चलचित्रको प्रमुखमध्येको एक अन्तर्राष्ट्रिय बजार समेत हो ।
सन् २०२३ को जुन महिनासम्म जापानमा नेपालीको संख्या १ लाख ५६ हजार ३३३ रहेको त्यहाँस्थित नेपाली नियोगले जनाएको छ । चलचित्र विकास बोर्डले चाँडै जापानमा ‘चलचित्र प्रतिनिधि’ तोक्ने तयारी पनि गरेको जनाइएको छ ।
प्रतिक्रिया 4