
‘फुकुडोल्माले आखिर किन मलाई यो मफलर उपहार दिई?’ मन–मस्तिष्कभरि यही एउटै कुरा ओल्टाई–पल्टाई खेलिरहेको थियो। के ऊ मलाई मन पराउँछे? मुख्य प्रश्न यही थियो। जवाफ थिएन।
चक्रपथतिर दौडिरहेको बस बेस्सरी भीडभाड थियो। सबैभन्दा अन्तिम लाइनको सबैभन्दा अन्तिम दायाँ सिटमा म बसेको थिएँ। गलामा बेरेको थिएँ फुकुडोल्माले दिएको उही मफलर। गला न्यानो भएको थियो कि मन ? थाहा थिएन। सायद दुवै।
बसभित्रको कोलाहलले पटक्कै छोएको थिएन मलाई। बस कहाँ आइपुगेको छ राम्ररी याद पनि थिएन। म एक्लै एक्लै मुस्कुराइरहेको थिएँ।
भर्खरै कक्षा ११ को जाडो बिदा सुरु भएको थियो। फुर्सद थियो। त्यसैले गोंगबुमा बस्नुहुने एकजना गाउँले दाजुलाई भेट्न गइरहेको थिएँ। अन्तिम कक्षाको दिन फुकुडोल्माले उसको कलेज ब्यागबाट नीलो रंगको मफलर निकाली र मेरो हातमा थमाउँदै भनेकी थिई– ‘यो तिमीलाई गिफ्ट है ! अब केही दिन हाम्रो भेट हुँदैन। यसले तिमीलाई मेरो याद दिलाउनेछ।’
हेरें। उसको गलामा पनि त्यही रंगको मफलर थियो। के गरुँ के गरुँ हुँदै हातमा लिएँ। के त्यो एक गलबन्दीले हामीलाई अब साथी मात्र रहन नदिने भएको हो ? प्रश्न मनभरी थियो।
गलत कुरामा केटाहरूसँग समेत झगडा गर्न तम्सिहाल्ने, पाखुरा सुर्किहाल्ने छुच्ची फुकुडोल्मासँग म जस्तो लजालु अन्तरमुखी केटोको जोडी जम्ला र? प्रश्न प्रशस्त थिए।
आफ्नै सोचको गहिराइमा ‘खयाली पुलाऊ’ पाक्दै थियो एक जना आमाको स्वरले ब्युँतिएँ ‘ओम हस्पिटल झर्ने छ है भाइ।’ गाडी भीडभाड भएको कारणले आमाले चर्कोगरी बोलेको हुनुपर्छ। झ्यालबाट हेरें, चाबहिल आइपुगेको रहेछ। ती आमालाई पनि हेरें ५५–५६ को हुनुपर्छ। लख काटें।
छिनभरमै गाडी चाबहिलबाट हिंड्यो र ओम हस्पिटल पुग्यो तर रोकिएन। आमा ‘ए भाइ ! झर्नेछ, झर्नेछ, यहाँ झर्नेछ’ भन्दै चिच्याइन्। गाडी निकै पर पुगेर मात्रै झ्याप्पै रोकियो। चालकले ब्रेक बेस्सरी दबाएकोले बस मज्जाले हुत्तिन पुग्यो। अनियन्त्रित भयो। त्यसो हुँदा झर्न भनेर अगाडि सरेकी आमा ढोका छेउको डन्डीसँग नराम्ररी ठोक्किन पुगेछिन्। उनको ओठ काटियो। तरर्र रगत बग्यो। ओठ सुन्नियो।
रुमालले ओठबाट बगिरहेको रगत थाम्दै आमा बाझ्न लागिन्, ‘ए भाइ! के गरी बस रोकेको ? याँ मेरो ओठ काटियो। यो पनि हो बस रोक्ने तरिका?’
त्यो ठाउँ बस रोक्न मिल्ने ठाउँ थिएन। ट्राफिकले देखेमा जरिवाना हुन सक्थ्यो। त्यसैले चालक भने जसरी पनि स्थिति रफादफा गरेर छिट्छिटो त्यहाँबाट उम्कन चाहन्थ्यो।
त्यो मुस्तन्डे चालकले उल्टै आमालाई दोष लगायो र थर्काउने मनसायले पछाडि फर्केर भन्यो, ‘ओ बजै! अलि बलियो गरी समाउनुपर्छ नि त! छिटो झर्नुस्। ढिला भो ह्याँ।’ सहचालकले पनि तलबाट थर्कायो ‘ओ आन्टी! खुरुक्क झरिहाल्नु त!’
सायद आमालाई सहिनसक्नु भो, भनिन्— ‘ओम हस्पिटल झर्ने छ है भन्दाभन्दै रोक्न बिर्सिने अनि यो रोक्नै नमिल्ने ठाउँमा हतारहतार रोक्ने ? म त झर्दिनँ। यो मेरो ओठको उपचार हुनुपर्यो कि याँ पहिले ट्राफिक बोलाऊ खुरुक्क’ आमा दृढ देखिइन्।
सहचालक झनै रिसाउँदै भन्यो, ‘ल्याङ ल्याङ नगरी खुरुक्क झर्नु त आन्टी!’
ड्राइभरले पनि थप्यो, ‘ए भाइ! बजैलाई तानेर झार्।’ स्थिति बिग्रँदै थियो। गल्ती बसवालाको थियो। उनीहरूले सरी आन्टी गल्ती भो भनेको भए कुरा मिल्थ्यो होला सायद।
आमा टसकामस भइनन्। चालक, सहचालक तथानाम गाली गलौजमा उत्रिसकेका थिए। दोष कसले मान्ने भन्ने टकराव देखियो। एकअर्कालाई दोषारोपण चल्दै गयो। चालक, सहचालकको उही एकोहोरो रटान थियो, ‘दह्रो गरी समाउनुपर्छ नि त!’
त्यतिकैमा हातमा एक चर्चित दैनिक पत्रिका समाइरहेको हेर्दा निकै भद्रभलाद्मी देखिने अधबैंसे पुरुष ती आमाप्रति व्यङ्ग्य प्रहार गर्दै बोल्यो, ‘उहिले उहिले एक यस्तो जमाना थियो कि जे गल्ती भए पनि गिरिजाप्रसाद कोइरालालाई नै दोष लगाइन्थ्यो। बुढाबुढीको घरझगडा भो- गिरिजाको दोष। पाडी मर्यो- गिरिजाको दोष। खोलाले गोरु बगायो- गिरिजाको दोष।’
बसभित्रका जम्मै गलल्ल हाँसे। ती पुरुषले अझै उच्किंदै अगाडि थपे, ‘उहाँको ओठ काटिनुमा पनि गिरिजाकै पो दोष हो कि?’
होहल्लाबीच कुनै हुल्लडबाजको आवाज मिसियो, ‘हो हो हो, गिरिजाकै दोष हो। आमा अब ओर्लिनुहोस् है !’
फेरि चारैतिर हाँसोको फोहोरा छुट्यो। कुनातिरबाट पनि उपेक्षा र कटाक्ष मिसिएको प्रतिक्रिया सुनियो, ‘त्यै त! गिरिजालाई दोष !’
आमालाई उल्याइएका हाँसोहरू रोकिएनन्, नमिठो गरी गुन्जिरहे- गिरिजाको दोष ! गिरिजालाई दोष ! आमा हाँसो र उपहासको पात्र बन्न पुगिन्। बसभित्रको पब्लिकको त्यस्तो व्यवहारले आमाको अनुहारमा नीरसता छायो। उनले पब्लिकबाट आफ्नो लागि सहानुभूतिको अपेक्षा राखेकी थिइन् सायद।
मैले प्रष्ट देखें कि उनी पब्लिकको त्यस्तो प्रतिक्रियाले हतप्रभ भएकी थिइन्। थोरै हच्केकी थिइन्। विक्षिप्त थिइन्। तर पनि उनी ओर्लिनन्। बस रोकिएको रोकिएकै भयो। बसभित्रका मान्छेहरू गिरिजालाई दोष भन्दै ठट्टा मजाकमा आनन्द लिइरहेका थिए।
कोही कोही गलल्लै हाँस्थे। कोही मुसुमुसु हाँस्थे। मेरो किशोर मन भने रिसको आगोमा धपधपी बल्न थालेको थियो। सही नसक्नुको आक्रोश अनुभव गर्दै थिएँ।
ती दिनहरूमा हिन्दी भाषामा स्वरांकन गरिएका दक्षिण भारतीय चलचित्रहरू नेपालमा भर्खर भर्खर मात्र झाँगिंदै थिए। ‘एक्सन र लाउड्नेस’ ले भरिपूर्ण ती सामग्रीहरू हेर्दा जोश भरिएको अनुभूति हुन्थ्यो।
केही दिनअघि मात्र मैले नागार्जुन अभिनित ‘मेरी जङ्ग’ हेरेको थिएँ। बसभित्र ती आमालाई भैरहेको दुर्व्यवहार देखेर मैले पनि आफ्नो कल्पनामा ‘मेरी जङ्ग’ को भयंकर एक्सन गरें। एकै हातले बसको झ्यालैबाट थुतेर चालकलाई जमिनमा पछारें। मेरो एक मुक्काले सहचालक उछिट्टिएर ती आमाको पाउमा बजारिन पुग्यो। एकैछिनमा ऐया र आत्था गर्दै दुवैजनाले आमाको खुट्टा ढोगेर माफी मागे।
आमाले गहभरी आँसु पारेर ‘के गरुँ बाबू’ को भाँतीमा मतर्फ हेरिन्। मैले दुवै आँखा झिम्काउँदै आफ्नो शिर हल्लाएर ‘हुन्छ, माफी दिनू’ को इशारा पेश गरें। आफ्ना जीउको धुलो टक्टक्याउँदै दुवैले त्यहाँबाट कुलेलम ठोके। म यतिमा मात्रै रोकिइनँ। बसभित्र पसेर, अगाडि उभिएर दाहिने हातको चोरऔंला हावामा नचाउँदै यात्रुहरूलाई डायलग-भाषण मारें, ‘यसरी अन्याय सहने, आवाज नउठाउने तपाईंहरू देखेर घिन आयो मलाई थु… छि ! अन्याय सहनु पाप हो’ आदि इत्यादि।
कल्पना कल्पनामै सीमित रह्यो। मेरो कल्पनाको पटाक्षेप हुँदा आमा ओर्लन तयार हुँदै थिइन्। उनको आत्मविश्वास सायद पूर्णरूपमा स्खलित भएको हुँदो हो। उनलाई आफू असहाय भएको अनुभूत भएको हुँदो हो। मैले देखें ती आमाका आँखामा त्रास मिश्रित एकदमै स-साना आँसुका कणहरू। बडो भारी हृदय लिएर एक पत्ता पैसा सहचालकको हातमा थमाइदिइन् र ओर्लिइन्। त्यो पैसा कति थियो थाहा छैन तर भाडाभन्दा बेसी थियो त्यसैले सहचालकले ‘यी तपाईंको फिर्ता’ भन्दै बोलाइरह्यो। उनी नसुने झैं गरी फटाफट अगाडि बढिन्, पछाडि फर्केर हेरिनन्।
उनको मन जो दुखेको थियो। ‘फिर्ता नलिए नलियोस्। बसमा चढ्।’ चालक चिच्यायो। सहचालक बसभित्र पस्यो र भर्खरै केही नभए झैं सब ठीकठाक, एक शान्ति छायो वातावरणमा। बस महाराजगन्जतर्फ हुँइकियो।
त्यो सार्वजनिक दुर्व्यवहार सम्झेर आज पनि मन अमिलो भएर आउँछ। आखिर त्यो ‘पब्लिक बुलिङ’ मा त्यत्रा मान्छेहरू चालक र सहचालकको साथ किन दिइरहेका थिए ? सम्झेर पनि उत्तर भेट्दिनँ।
के कुनै लफडा होला र गन्तव्यमा पुग्न ढिला होला भनेर सबै स्वार्थी बनेका थिए? अथवा के मुस्तन्डे चालक या चुल्ठेमुन्द्रे सहचालकसँग सबै भयभीत थिए? अथवा के साँच्चिकै उनीहरूको चेतनास्तर नै त्यत्ति नै थियो त ?
अथवा के मानवीय स्वभाव नै पीडकपक्ष बलियो देखिएको स्थितिमा पीडितको उछित्तो काढ्दै उसैको विपक्षमा उभिने खालको हुन्छ? बाफ रे! यदि त्यसो हो भने यो खतराको सङ्केत हो। समस्त मानवता नै संकटमा परेको लक्षण हो।
बोल्न आवश्यक छ। आवाज उठाउन जरुरी छ। कहिलेकाहीं केटा साथीहरू भेला भएर कुनै रेस्टुरेन्टमा खाँदै गर्दा आफ्नै कुनै एक साथीले महिला वेटरलाई असहज हुने गरी व्यवहार गर्न सक्छ, अथवा कुनै भद्दा मजाक या दुईअर्थी शब्दको प्रयोग गर्दै जिस्काउन सक्छ। त्यो बेला साथी रिसाउला भनेर चुप बस्नुहुँदैन। यो गलत हो भनेर उसलाई रोक्नुपर्छ।
यस्तो परिस्थिति जीवनमा पटक–पटक आइपर्न सक्छ कि जहाँ हामी जानिंदो नजानिंदो तवरले आफैं हिंसा गरिरहेका हुन सक्छौं, कहिले चुपचाप बसिदिएर त कहिले साथीभाइ या आफन्त या सहकर्मीलाई त्यसो गर्न नरोकेर।
कहिलेकाहीं ती आमाको सम्झना आउँछ। मन अमिलो भएर आउँछ। त्यो बेला केही बोल्न नसकेकोमा आत्मग्लानिले भरिन्छ र मनमनै माफी माग्ने गर्छु।
उहाँको राम्रो हालचालको कामना गर्ने गर्छु। आफू सानै थिएँ, आँट पलाइसकेको थिएन भनेर चित्त बुझाउँछु। अनि सँगसँगै फुकुडोल्माको पनि सम्झना आउँछ। सोच्छु त्यस्ती छुच्ची र जुझारु फुकुडोल्मा त्यो दिन बसभित्र भएकी भए के झगडा गर्थी होली ? खै ! उसलाई नभेटेकै १७ वर्ष भएछ। सम्झेर आज त्यसै त्यसै मुस्कुराउँछु। उसै उसै द्रवीभूत हुन्छु।
प्रतिक्रिया 4