
५ फागुन, पोखरा । चीन र भारतजस्तो विश्वको ठूलो अर्थतन्त्रका बीच विकासोन्मुख देश हो नेपाल र यही भू बनावटमा बसेको नेपाललाई हेरेर काई बर्ड भन्छन्, ‘ओपेनहाइमर नेपाल जस्ता देशका लागि सान्दर्भिक छ ।’
पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा सन् २०२३ को विश्व ब्लकबस्टर फिल्म ओपनहाइमरका सहलेखक ‘काई बर्ड’ वक्ताका रुपमा डाकिएका थिए । ‘बेस्टसेलरदेखि ब्लकबस्टर : द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्डले ओपनहाइमरको कथालाई नेपालसँग जोडेर व्याख्या गरे ।
बर्डले लेखेको जीवनी ‘अमेरिकन प्रोमिथस : द ट्राइम्फ एन्ड ट्र्याजिडी अफ जे रोबर्ट ओपेनहाइमर’ सैद्धान्तिक भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमरको जीवनीमा आधारित पुस्तक हो । यो पुस्तकमाथि आधारित रहेर चलचित्र ओपनआइमर बनेको थियो ।
पत्रकार कुन्द दीक्षितले सहजीकरण गरेको उक्त सत्रमा बर्डको पुस्तकमा आधारित क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’का विभिन्न पक्षमा घुमेको थियो । पुलित्जर पुरस्कार विजेता बर्डले कुराकानीका क्रममा नेपाल जस्ता देशका लागि चलचित्र र पुस्तक दुवैको सान्दर्भिकताबारे प्रकाश पारे ।
‘नेपालमा तपाईका छिमेकी भारत, चीन र पाकिस्तानसँग साँच्चै खतरनाक आणविक हतियार छन्’, बर्ड भन्छन्, ‘अहिले उत्तर कोरिया, पाकिस्तान, भारत, इजरायल, फ्रान्स र इंग्ल्यान्डजस्ता देशहरूसँग खतरनाक हतियार छन् । हामी धेरै खतरनाक समयमा बाँचिरहेका छौं ।’
कुराकानीको क्रममा बर्डले आफू पत्रकारबाट जीवनीकारमा कसरी परिवर्तन भएँ भन्ने कुरा पनि सुनाए । संयोगवश पुस्तक लेख्न पुगेको बताउँदै जीवनी लेखनमा पुगेको उनले सुनाए ।
बर्डका अनुसार इतिहास सम्प्रेषण गर्ने सबैभन्दा शक्तिशाली साधन जीवनी हो । इतिहास देखाउने पुस्तकलाई चलचित्रमा ढालेकोमा बर्डले नोलानप्रति कृतज्ञता देखाए । ‘म क्रिस्टोफर नोलानलाई चलचित्र बनाएर यस्तो महत्त्वपूर्ण मुद्दामा ध्यानाकर्षण गराउनुभएकोमा आभारी छु,’ उनले भने ।
मार्टिन जे सेरबिन मुख्य लेखक रहेको ‘अमेरिकन प्रोमिथस : द ट्राइम्फ एन्ड ट्र्याजिडी अफ जे रोबर्ट ओपेनहाइमर’मा आफू कसरी जोडिन पुगेको भन्नबारे पनि बर्डले खुलाए । ‘सेर्विनले सन् १९८० मा पुस्तक सुरु गरे र २० वर्ष अनुसन्धानमा बिताए । त्यसपछि उहाँ मसँग आउनुभयो र मलाई सामेल हुन भन्नुभयो,’ बर्डले सम्झिए ।
यसबाहेक उनले रोबर्ट ओपेनहाइमरको साहित्यप्रतिको प्रेमको बारेमा कुराकानी गरेका थिए । ‘उनलाई टी.एस.को कविता मन पर्यो । इलियट, जोन डोन । उनले अर्नेस्ट हेमिङ्वेका उपन्यासहरूको प्रशंसा गरे,’ बर्डले भने ।
रोबर्टले गीता पढ्नका लागि संस्कृत भाषाको सिकेको विषयपनि साटे । १९३० को दशकमा उनी हिन्दू धर्मग्रन्थको विषयमा जिज्ञासु भए । श्रीमद्भगवद् गीतालाई मूल लिपिमा अध्ययन गर्नका लागि उनले संस्कृत सिकेको सुनाए ।
प्रतिक्रिया 4